बजेट र निर्वाचनको अर्थ छैनः विपक्षी दल

काठमाडौं, ६ मंसिर । कांग्रेस, एमालेसहितका विपक्षी दलले कामचलाउ सरकारले ल्याएको एकपक्षीय बजेट र चुनावको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् ।
एमाले पार्टी मुख्यालय बल्खुमा आज बसेको १८ विपक्षी दलको बैठकले सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई स्वीकार नगर्ने निर्णय गरेको हो । उनीहरुले निर्वाचन र बजेटका बारेमा सरकारलाई आन्दोलनबाटै घुँडा टेकाउने निष्कर्षमा पुगेका छन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले सरकारले सत्ता लम्बाउनका लागि बजेट र निर्वाचन गर्ने निर्णय गरेको आरोप लगाए ।
कांग्रेस नेता रामशरण महतले पनि सरकारले ल्याएको बजेटको कुनै अर्थ नरहेको बताए ।
बैठकले एमाओवादी मुलुकलाई निकास दिनु भन्दा पनि मुठभेडको राजनीति तर्फ अग्रसर रहेको भन्दै यथास्थिामा वार्ता संभव नरहेको जनाएको छ । अब वार्ताका लागि बार्तामा मात्रै नबस्ने विपक्षीहरुको भनाई छ ।
राष्ट्रपति डा.रामवरण यादवले आर्थिक बर्ष २०६९÷७० को बाँकी ८ महिनाका लागि ३ खर्ब ५१ अर्ब ९३ करोड रुपियाँको बजेट अध्यादेश जारी गरे पछि विपक्षी दलहरु सरकारसँग रुष्ट भएका हुन् ।

प्रतिक्रिया