‘राष्ट्रपतिले ८ महिना आयु विस्तार गरिदिए’

काठमाडौं, ६ मंसिर । नेकपा–माओवादीले दुई तिहाई अंश बराबरको खर्च गर्न सक्ने गरी अध्यादेश अनुमोदन गरेर राष्ट्रपतिले असंवैधानिक सरकारको आयुलाई अरु ८ महिना विस्तार गरिदिएको आरोप लगाएको छ ।
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाले आज संयुक्त विज्ञप्ति जारी गरेर राष्ट्रपतिले बजेट अध्यादेश हठातमा स्वीकृत गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
वर्तमान सरकारले जेठ–१४ गते मध्यरात संविधानसभाको विघटन र मंसिर ७ गते निर्वाचनको घोषणा गरेर अन्तरिम संविधान, २०६३ को गम्भीर उल्लंघन गरी असंवैधानिक बनिसकेको नेकपा–माओवादीले आरोप लगाएको छ ।
उसले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले ल्याएका कुनै पनि अध्यादेश राजनीतिक र संवैधानिक हैसियत नरहेको यथार्थता सर्वविदीतै रहेको दाबी गरेको छ ।
‘यस्तो अवस्थामा राजनीतिक दलहरुको सहमतिबिना संविधानको संरक्षक र पालकको जिम्मेवारी रहेको राष्ट्रपतिबाट असंवैधानिक सरकारको अध्यादेशलाई स्वीकार गर्नु गम्भीर गल्ति भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिले नेपालको अन्तरिम संविधान २०६३ धारा ९६(क)को पनि गम्भीर उल्लंघन भएको छ ।’
नेकपा–माओवादीले राष्ट्रपतिबाट कामचलाउ सरकार भनी दिएको वैधानिक हैसियत पनि मंसिर–७ गते समाप्त हुँनलागेको पनि जनाएको छ ।
‘संवैधानिक हैसियत नरहेको सरकारले फेरि बैशाखमा चुनाव गर्ने भनेर मन्त्रिपरिषद्बाट गरेको निर्णय र निर्वाचनको राजनैतिक तथा संवैधानिक औचित्य छैन ।’ उसले सरकारको सो निर्णयबाट निरंकुश चरित्र उजागर हुन पुगेको जनाएको छ ।
नेकपा–माओवादीले आफूहरुसँग राजनीतिक परामर्श नगरेकोमा राष्ट्रपतिसँग असन्तुष्टि जनाएको छ । ‘एक सिटे दलहरुलाई काखी च्याप्दै कथित चार ठूला दलको नाममा पटक पटक बैठकको आयोजना गरिनुले राष्ट्रपतिको भूमिकामा गम्भीर आशंका बढेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘असफलसिद्ध भइसकेका चार दलका नेताहरुबाट गरिने जनभावना विपरीतका कुनै पनि निर्णयहरु अस्वीकार्य छन् ।’
सरकारले अध्यादेश मार्फत बजेट ल्याए पछि नेकपा–माओवादीले आज कडा विरोध जनाएको हो ।

प्रतिक्रिया