सरकारी विद्यालय राजनीतिक थलो बन्दै

नेपालगन्ज, ५ मंसिर । बाँकेका सामुदायिक विद्यालय राजनीतिक थलो बनेपछि विद्यार्थीको पढाइ प्रभावित भएको छ । समुदायमा हस्तान्तरण गरिएका विद्यालय व्यवस्थापन गर्न गठन हुने व्यवस्थापन समिति निर्माणका लागि राजनीतिक दलहरू स्थानीय निकायका चुनावजस्तै दलगत रूपमै प्रतिस्पर्धा गर्न थालेपछि पढाइ प्रभावित हुन थालेको हो ।

विद्यालय व्यवस्थापन समितिलाई अधिकार धेरै भएको र लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसकेका बेला सामुदायिक विद्यालय राजनीति गर्ने थलो बनेको हो । राजनीतिक दलहरूले स्थानीय निकायको निर्वाचनजस्तै पूर्वतयारी, प्रचार–प्रसार, आर्थिक खर्च, कार्यकर्ता परिचालन र जितपछि भोज आयोजना गरेर विजयी र्‍यालीसमेत गर्दा पढाइको गुणस्तर भने खस्किँदै गएको छ । कोहलपुरको त्रिभुवन उमावि विद्यालय व्यवस्थापनको निर्वाचन पनि राजनीतिक दलको स्थानीय चुनावभन्दा कम भएन । ठूलो रकम खर्चेर पार्टीका प्रतिनिधि, भ्रातृसंगठन, समर्थक तथा शुभेच्छुकसाथ उम्मेदवार विद्यालयको निर्वाचनमा खटिएका थिए । अध्यक्ष पदका उम्मेदवार अमरबहादुर शाही र प्रदेशी थारूलाई जिताउन कोही मतदान केन्द्रमा मत दिन सिकाउँदै थिए त कोही फोन सम्पर्क गर्दै छिटो मतदान गर्न आउन आग्रह गर्दै थिए ।
निर्वाचनस्थल विद्यालयका पुगेका नेपाली कांग्रेस कोहलपुर–४ का वडा कमिटी सदस्य केशव कँडेलले आफ्नै पार्टीका शाहीलाई जिताउन समर्थकलाई फोन सम्पर्क गर्दै छिटो आउन आग्रह गरेका थिए । आफ्ना समर्थक शाहीलाई जिताउन तीन दिन प्रचार–प्रसारसँगै घर–घरमा गएर मतदान गर्ने तरिका सिकाइएको कँडेलले बताए ।
पहिला विद्यालय व्यवस्थापन समिति छनोट सर्वसम्मत हुने गरे पनि पछिल्लो समय निर्वाचन नै हुने गरेको छ । कँडेलले मात्र होइन, एमाले कोहलपुर–१ का वडा कमिटी सदस्य गोरखबहादुर रावत पनि आफ्ना समर्थक थारूलाई अध्यक्षमा जिताउन पाँच दिनसम्म प्रचारमा जुटे । स्थानीय निकायको चुनावजस्तै मतदान चिह्नमा भोट गर्न, घरदैलो र प्रचार–प्रसार गर्न आफूसँगै विद्यार्थी, अभिभावक, पार्टी प्रतिनिधिहरूलाई सिकाउने र सम्झाइ–बुझाई गरेको रावतले बताए ।
शाहीले स्थानीय राजनीतिक दलको निर्वाचनजस्तै प्रजातन्त्रप्रति आस्थावान विद्यार्थी, भ्रातृसंगठन, शिक्षक, महिला तथा समर्थकहरूबाट प्रचार–प्रसार गरी आफूलाई जिताउन लागेको बताए ।
उम्मेदवारहरूले चुनावका लागि हजाराँै रकम खर्च गर्ने गरेका छन् भने राजनीतिक दलहरूको बैठकले उम्मेदवार चयन गर्न थालेको छ ।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका राजनीतिशास्त्रका उपप्राध्यापक चक्रपाणि लम्सालले विद्यालय व्यवस्थापन समितिमा अधिकार बढी भएकाले राजनीतिक रूपमै प्रतिस्पर्धा हुने गरेको बताए । उनले शिक्षक नियुक्तिमा पनि विद्यालय व्यवस्थापन समितिको भूमिका हुने भएकाले प्रतिस्पर्धा बढेको बताए । विद्यालयमा राजनीतिक गतिविधि बढ्दा विद्यालयको पढाइमा भने लगातार गुणस्तर घट्दै गएको उनले बताए ।

प्रतिक्रिया