सास र सजायको संघर्ष

नयाँदिल्ली, ५ मंसिर । सोनाली मुखर्जी १७ वर्षकी थिइन्, जब उनको अनुहारमा कसैले तेजाब फ्याक्यो । यसले उनको अनुहार प्राय: जल्यो र सँगै उनले आँखाको ज्योति पनि गुमाइन् । अहिले २७ उमेर पुगेकी सोनालीलाई १० वर्षअघि चिन्ने मान्छेले अहिले उनी नै हुन् भनेर ठम्याउन सक्तैनन् ।

मध्यरातमा मस्त निद्रामा रहेका बेला उनको अनुहारमा कसैले तेजाब छर्किएको थियो । उनी मृत्युको मुखबाट त बचिन् तर यसबीच उनी जुन शारीरिक, मानसिक र सामाजिक कस्टबाट गुज्रिन् । त्यो जोकोहीलाई कल्पना गर्नसमेत गाह्रो हुन्छ ।
कुनै समय इच्छा मृत्यु (सेल्फ डेथ)का लागि गुहार गरेकी उनी यतिबेला भने जीवनको आशामा संघर्ष गरिरहेकी छिन् ।
‘मेरो उपचारका लागि बुबाले घरखेत र भएभरको गहना सिध्याउनुभयो । यति भईकन पनि मेरो उपचार भएन । मेरो अनुहार ७० प्रतिशत जलेको थियो र उपचार गर्न निकै धेरै पैसा आवश्यक थियो । पछि दिल्ली आएर तीन चार वर्ष उपचार गरियो । मैले २२ पटक सल्यक्रिया गरिसकेकी छु,’ उनले विगत सम्झिन् । यसक्रममा उनले कानुनी लडाइँ पनि लडिन्, जसमा बाँकी सम्पत्ती पनि सिद्धियो । तर, तीन–चार वर्षको उक्त लडाइँपछि अभियुक्तले नौ वर्षको जेल सजाय पायो जसले उनलाई आंशिक सान्त्वना दियो । तर, उनी पुन: निरास भइन् तब उनले सर्वोच्च अदालतले अभियुक्तलाई जमानतमा रिहाइ गर्न आदेश दियो ।
अभियुक्त खुलेआम हिँडेपछि र आफ्ना परिवार सदस्य सकडमा बास बस्नुपर्ने भएपछि सोनालीले हिम्मत कसिन्, सास र सजायका लागि । ‘मलाई यो स्थितिमा पुर्‍याउने मान्छेले सजाए पाएन भने मेरा परिवार सदस्यको सडकको वास भयो । यस कारण अब यसरी बसेर हुन्न भन्ने सोचेँ । त्यसपछि सहयोगी हातको खोजीमा हिँडे । उनीहरू अगाडि पनि आए । यतिबेला दोस्रोपटक संघर्ष गरिरहेकी छु,’ सोनाली भन्छिन् ।
उनले आफ्नो उपचार र कानुनी लडाइँलाई सँगै अगाडि बढाएकी छिन्, ‘कानुनी लडाइँ रोक्ने त कुरा नै नगर्नुस् । अन्तिम सास छउन्जेल यसका लागि लड्छु । आवाज मैले उठाउनु पर्छ किनभने चोट मलाई परेको छ । मैले अभियुक्तको जमानत रद्द गर्न अपिल गरेकी छु । मलाई विश्वास छ, एक न एक दिन मैले न्याय पाउँछु ।’ उनमा एकपछि अर्को आत्मविश्वास बढ्दै गएको छ । ‘मैले कैयौँ यस्ता घटना देखेकी छु, जसमा पीडित बाहिर आउन चाहँदैन । हामी किन लाज मान्ने ? जसले यस्तो गर्‍यो, लाज त उसलाई लाग्नुपर्छ । समाजले आवाज उठाउनुपर्छ । सुरुमा लड्दा म एक्लै थिएँ तर अहिले मलाई साथ दिने धेरै छन्,’ सोनाली भन्छिन् । उनले अबको डेढ वर्षमा नौवटा सर्जरी गर्नुपर्नेछ जसमा ३० लाख भारतीय रुपियाँ खर्च हुनेछ । दोस्रोपटक जीवनको लडाइँमा रहेकी सोनालीले सोमबार पछिल्लोपटक सर्जरी गरेकी छिन् ।
त्यो दिन…
सन् २००३ को कुरा हो, झारखण्डमा सामान्य परिवारकी सदस्यका रूपमा थिइन् सोनाली जहाँ उनका बुबा सेक्युरिटी गार्डको काम गर्थे । सोनाली पढाइका साथै एक निजी कम्पनीमा काम गर्थिन् । यस क्रममा एक केटाले उनलाई दिनहँु पिछा गर्न थाल्यो । केही दिनसम्म त उनले त्यस केटालाई वास्ता गरिनन् तर एकदिन भने झपारिन् । तर, एक रात उक्त केटा सोनालीसामु यस्तो रूपमा देखापर्‍यो, जसका कारण उनको जीवन यस्तो भएको छ । सोनालीलाई त्यस रातको हरेक कहानी याद छ । ‘सन् २००३ को २२ अक्टोबरको रात हो । म, मेरो बुबा र बहिनी छतमा सुतेका थियौँ । रातिको अढाई बजेको थियो, त्यो केटो मसँग बदला लिन आयो । उसले मेरो अनुहारमा तेजाब छक्र्यो जुन मेरो आँखामा पनि पर्‍यो । यतिबेला मलाई यस्तो भयो कि मलाई आगोको भुंग्रामा हालिएको छ,’ सोनाली सम्झन्छिन् ।

प्रतिक्रिया