चकलेट बढी खाने नोबेल विजेता

लन्डन, ५ मंसिर । भर्खरै भएको एक अध्ययनले चकलेट बढी खाने व्यक्तिले नोबेल पुरस्कार जित्ने सम्भावना बढी राख्ने निष्कर्ष निकालेको छ । कोलम्बिया विश्वविद्यायलका फ्रान्त्स मेसेरलीले गरेको यस अध्ययनमा चकलेट स्वास्थ्यका लागि लाभदायक हुने निचोड छ ।
‘यस्ता आँकडा फेला परेका छन्, जसमा चकलेट खाँदा मस्तिष्क सक्रियता बढेको र धेरै वर्ष बाँचेको साझा धारणा छ,’ मेसेरलीले भने । उनले विभिन्न देशका नोबेल पुरस्कार विजेताको संख्या उनीहरू आबद्ध देशको राष्ट्रिय बुद्धिमता सूचकांक मानेर त्यसलाई राष्ट्रियस्तरमा खपत हुने चकलेटको मात्रासँग तुलना गरिएको छ, जसमा चकलेट बढी खाने व्यक्ति नोबेल पुरस्कार विजेता भएको निष्कर्ष छ । ‘जब तपाईं प्रतिव्यक्ति चकलेट खपत र नोबेल पुरस्कार विजेताबीच तुलना गर्नुहुन्छ त्यसपछि यी दुइबीच निकै नजिकको सम्बन्ध पाउनुहुन्छ,’ मेसेरलीले भनेका छन् ।
‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित यस अध्ययन प्रतिवेदनमा धेरै कुरा मानिसलाई कन्भिन्स गराउन सक्नेछन् । स्विजरल्यान्ड विश्वमा प्रतिव्यक्ति सबैभन्दा बढी चकलेट खपत हुने देशको सूचीमा शीर्षस्थानमा पर्छ र यो देश प्रतिव्यक्ति सबैभन्दा बढी नोबेल पुरस्कार विजेताको सूचीमा पनि पर्छ । यद्यपि स्विडेन भने अपवाद हुन्छ, यदि यस अध्ययनको निष्कर्षलाई मान्यो भने । यहाँ नोबेल पुरस्कार जित्नेको संख्या धेरै छ तर तुलनात्मक रूपमा चकलेटको खपत भने न्यून छ । यद्यपि यसो हुनुमा पनि यी अन्वेषकको आफ्नै तर्क छ । स्विडेनमा नोबेल पुरस्कार विजेता धेरै हुनुमा यहाँका मानिस निकै संवेदनशील हुनु र मस्तिष्कलाई सक्रिय बनाउन आवश्यक पदार्थ सेवन गर्नु एक कारण हुनसक्ने तर्क गर्छन् उनी ।
सन् २०१० मा अर्थशास्त्रतर्फ नोबेल पुरस्कार विजेता क्रिस्टोफर पिसाराइड्स भन्छन्, ‘म बाल्यकालदेखि नै चकलेट खाने गर्थें । नढाटीकन भन्ने हो भने म दैनिक चकलेट खान्छु, यसो गर्दा म खुसी महसुस गर्छु ।’ अर्का नोबेल पुरस्कार विजेता राल्फ जिंगरनागेल पिसाराइड्ससँग सहमत छैनन् । सन् १९९६ मा चिकित्सा क्षेत्रतर्फ नोबेल पुरस्कार विजेता जिंगरनागेल भन्छन्, ‘म धेरै चकलेट खान्नँ । मैले एक वर्षमा आधा केजीभन्दा बढी चकलेट खान्नँ होला ।’ (एजेन्सी)

प्रतिक्रिया