डब्लिन : भ्रूणहत्या आयरल्यान्डको कानुनमा दण्डनीय मानिन्छ । भारतीयमूलकी एक महिलाको गर्भपात गराउने कुनै चाहना थिएन तर स्वास्थ्यले उनले गर्भपतन गराउनै पर्ने थियो । आयरल्यान्डका चिकित्सकले गर्भपतन गराउन मानेनन् र अन्तत: सविता हलप्पनवार नाम गरेकी ती महिलाले ज्यानै गुमाउनुपर्यो । यो विषयले आयरल्यान्डमा यतिबेला ठूलो रूप लिएको छ । कानुनमा गर्भपतनसम्बन्धी व्यवस्था संशोधन गर्न दबाब दिँदै देशका ठूला सहरमा र्याली निकालिएको छ ।
३१ वर्षीय सविताको गत २८ अक्टोबरमा निधन भएको थियो । सविताका आफन्तले बिरामीले गर्भपतन गर्न आग्रह गर्दा पनि चिकित्सकले नमानेकाले उनको मृत्यु भएको दाबी गरेका छन् । मृत्यु हुनुअघि सविताको गर्भ बसेको १७ हप्ता मात्र भएको थियो ।
राजधानी डब्लिनमा हजारौँको संख्यामा निस्केको र्यालीले गर्भपतनसम्बन्धीको कानुनी व्यवस्था संशोधन गर्न माग गर्दै संसद्अगाडि पुगेर मौन धारण गर्नुका साथै मैनबत्ती प्रज्वलन गरेको थियो । डब्लिनबाहेक आयरल्यान्डका अन्य सहरमा पनि प्रर्दशन भएको थियो । आयरल्यान्ड प्रहरीले घटनाको विषयमा भइरहेको छानबिनमा आफूले सहयोग गरिरहेको जनाएको छ ।
सविताको मृत्युको कारण सेप्टिसिमिया भएको जनाइएको छ । ढाड दुख्ने समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो र पछि उनलाई चिकित्सकले मिसकैरज भएको बताएका थिए । सविताका पति प्रवीणका अनुसार सविताले बच्चा नबाँच्ने जानकारी पाएपछि चिकित्सकलाई बारम्बार गर्भपतनका लागि अनुरोध गरेकी थिइन् । ‘चिकित्सकले गर्भपतन गर्न अस्वीकार गरे किनभने भ्रूण जिउँदै थियो ।
यही घटनाका सम्बन्धमा भारतीय सरकारले सविता मृत्यु प्रकरणलाई नजिकबाट नियालिरहेको बताउँदै घटनाको निष्पक्ष छानबिन गर्न आइरिस सरकारसँग माग गरिरहेको छ । भारतीय अधिकारीहरूले छानबिनको नतिजा प्रतीक्षा गरिरहेको जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया