काठमाडौं, ४ मंसिर । गत आर्थिक वर्षमा सहकारी विभागले गरेको एक सय १६ सहकारी अनुगमनमध्ये केही सहकारीलाई पुन: अनुगमन गर्ने भएको छ । अनुगमनमा नियमविपरीत भेटिएका ती संस्थाले सुधार गरे/नगरेको र संस्थाको अवस्था बुझ्नका लागि छड्के अनुगमन सुरु गरिएको विभाग स्रोतले बतायो ।
अनुगमनपछि पनि अधिकांश संस्थामा पुरानै तरिकाले कारोबार गर्ने प्रवृत्ति बढेकाले छड्के जाँचका रूपमा अनुगमन गरिन लागिएको हो । पहिलेकै जस्तै गल्ती भेटिए ती सहकारीलाई कारबाही गरिने विभागले जनाएको छ । ती सबै सहकारीको अनुगमन गर्न जनशक्ति अभाव रहेकाले हाललाई दुईदर्जन जति सहकारीको पुन: अनुगमन गरिने स्रोतले बतायो ।
सहकारीको संख्यात्मक वृद्धिसँगै विकृति पनि बढेकाले अनुगमनलाई व्यापक रूप दिइने सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले सौर्यलाई बताए । ‘सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुरूप सञ्चालन नहुने सहकारीलाई कारबाही गछौँ ।’ रजिस्ट्रार न्यौपानेले भने, ‘त्यस्ता सहकारीले गर्दा सिंगो सहकारी अभियानमा समेत नकारात्मक सन्देश गएको छ ।’ सहकारीलाई आºनो व्यक्तिगत व्यवसाय बनाएकाले सहकारीमा समस्या र जोखिम बढेको बताउँदै उनले यसलाई रोक्न विभाग क्रियाशील रहेको बताए ।
०६६ माघदेखि नेपाल राष्ट्र बैंकका दुई अधिकारीसहित विभागका कर्मचारीले वार्षिक पाँच करोडभन्दा बढी कारोबार गर्ने केही सीमित सहकारीको मात्र अनुगमन गरेको छ । अनुगमनमा अधिकांश सहकारीले सहकारी ऐन, ०४८ र सहकारी मापदण्ड, ०६८ विपरीत कारोबार सञ्चालन गरेको फेला पारेको थियो । सो क्रममा सञ्चालकले संस्थाको निक्षेप दुरुपयोग गरेको, गैरसदस्यीय कारोबार पर्याप्त धितो र प्रक्रिया नपुर्याइ कर्जा लगानी गरेलगायत दजनाँै गल्ती भेटिएको थियो । तर, कमजोर कानुनका कारण ती सहकारीका सञ्चालकलाई विभागले कुनै कारबाही गर्न सकेको छैन ।
अनुगमनले सहकारीमा व्यापक अनियमितता पाइएपछि सहकारी तथा गरिबी निवारण मन्त्रालयले यसलाई प्रभावकारी बनाउने तयारी गरेको र नियमावली पनि तयार गरिसकेको मन्त्रालयका प्रवक्ता सुर्दशनप्रसाद ढकालले बताए । नियमावली पास भएपछि गल्ती गर्ने सहकारीलाई कारबाही गर्ने कानुनी प्रावधान हुने ढकालको भनाइ छ । हाल कमजोर कानुनका कारण गल्ती गर्ने सहकारीका सञ्चालकलाई कुनै कारवाही गर्न नसकेको उनले बताए । विभागको तथ्यांकअनुसार हाल देशभर २५ हजार तीन सय ७१ सहकारी छन् । सहकारीमा करिब ३७ लाख मानिस आबद्ध छन् । सहकारीमा हाल दुई खर्ब ६३ अर्ब कारोबार रहेको छ ।
प्रतिक्रिया