कैलाली, ३ मंसिर । कांग्रेस नेता शेरबहादुर देउवाले सार्वजनिक स्थलमा शीर्ष नेताहरु माथि हातपात गर्ने कार्यलाई उच्छृङखलताको संज्ञा दिएका छन् ।
उनले भने, ‘नेताहरु माथि हातपात गर्नेहरु नेपाली जनता नभएर उच्छृङखल व्यक्ति हुन् ।’ धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेता माथि हातपात गर्ने काम षड्यन्त्र वा जनताको आक्रोस नरहेको दाबी पनि गरे ।
उनले भने, ‘केवल त्यस्तो कार्यमा उच्छृङखल व्यक्ति हाबी भएर एक पछि अर्को नेतालाई हातपात गर्ने काम भइरहेको छ ।’
नेता देउवाले आफू संविधानसभाको पुनःस्थापनाको पक्षमा रहेको भए पनि पार्टीले चुनावमा जाने निर्णय गरिसकेकोले पुनःस्थापनाको प्रसंग औचित्यहिन भएको बताए ।
वर्तमान काम चलाउ सरकारलाई बजेट ल्याउन नदिने बताएका देउवाले सरकारलाई आन्दोलनबाट हटाएरै छोड्ने दाबी गरे । उनले एकदुई महिना ढिला बजेट ल्याउँदैमा देशमा खासै असर नपर्ने उल्लेख गरे ।
शनिबार धनगढी विमानस्थलमा शान्तिसुरक्षाको कारण जनाई पत्रकारलाई आफ्नो कार्यक्रममा प्रवेशमा रोक लगाएकोप्रति नेता देउवाले असन्तुष्टि जनाउँदै माफी समेत मागे ।
प्रतिक्रिया