प्याकेजमा सहमति खोज्न राष्ट्रपतिको सुझाव

काठमाडौं, ३ मंसिर । राष्ट्रपति डा.रामवरण यादवले बजेट र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको छलफलमा राष्ट्रपति डा.यादवले शीर्ष नेताहरुलाई मुलुकको निकास प्याकेजमा खोज्न सुझाव दिए । उनले नयाँ निर्वाचन, पूर्ण बजेट, सहमतीय सरकारलगायतका विषयमा सहमति कायम गर्न पुनः आग्रह गरेका हुन् ।
छलफल बजेट र समग्र राजनीतिक संकटको निकासमा केन्द्रित रहेको मधेसी मोर्चाका नेता विजय गच्छेदारले जानकारी दिए । दलहरुको सहमतिमा मात्रै पूर्ण बजेट आउने भन्दै उनले सरकारले अब एक तृतियांश बजेट ल्याउने बताए ।
सञ्चारकर्मीसँग कुरागर्दै एमाले अध्यक्ष झलनाथ खनालले राजनीतिक संकट समाधानका लागि निर्वाचन र निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए । उनले सोही विषयमा डा.यादवसँग परामर्श भएको पनि बताए ।
‘राष्ट्रिय सहमतिको सरकारले नै बजेट ल्याउनुपर्छ,’ उनले भने, ‘निर्वाचनलगायत कामलाई प्याकेजमा सहमति गरेर अगाडि बढ्नु पर्छ ।’
छलफलमा राष्ट्रपति डा.यादवले दलहरूकै सहमतिबाट समाधान खोज्न आग्रह गरेको खनालले उल्लेख गरे । राष्ट्रपति डा.यादवसँगको परामर्शका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष खनाल र मधेसी मोर्चाका नेता गच्छेदार शीतल निवास पुगेका थिए ।

प्रतिक्रिया