काठमाडौं, ३ मंसिर । चालु आर्थिक वर्षको दुई महिनामा नेपालको व्यापार घाटा साढे ७६ अर्ब नाघेको छ । नेपालले पहिलो दुई महिनामा १३ अर्ब ९७ करोड रुपियाँको सामान निर्यात गरेको थियो भने ९० अर्ब ६५ करोड रुपियाँको सामान आयात गरेको थियो । अघिल्लो आर्थिक वर्षको दुई महिनाका तुलनामा चालु आर्थिक वर्षको भदौ मसान्तसम्म व्यापार घाटा साढे ३३ प्रतिशतले बढेर ७६ अर्ब ६८ करोड रुपियाँ पुगेको हो । अघिल्लो वर्ष व्यापार घाटा १३ दशमलव ७ प्रतिशतले मात्र बढेको थियो ।
कुल वस्तु व्यापार घाटामध्ये भारतसँगको घाटा समीक्षा अवधिमा ३८ दशमलव ७ प्रतिशतको उच्च दरले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा भारतसँगको यस्तो घाटा १ दशमलव १ प्रतिशतले घटेको थियो । त्यस्तै, अघिल्लो वर्षको सोही अवधिको ५० दशमलव ३ प्रतिशतले बढेको अन्य मुलुकसँगको व्यापार घाटा समीक्षा अवधिमा २५ दशमलव २ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०६९/७० को दुई महिनामा कुल वस्तु निर्यात ११ दशमलव ९ प्रतिशतले वृद्धि भई १३ अर्ब ९७ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७ दशमलव ८ प्रतिशतले वृद्धि भई १२ अर्ब ४८ करोड रुपियाँ रहेको थियो । मासिक रूपमा हेर्दा चालू आवको भदौ महिनामा कुल वस्तु निर्यात साउन महिनाका तुलनामा ६ प्रतिशतले र्हास आएको छ ।
कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात अघिल्लो वर्षको १८ दशमलव ५ प्रतिशत वृद्धिको विपरीत समीक्षा अवधिमा शून्य दशमलव ४ प्रतिशतले घटेको छ । धागो, जस्तापाता, कत्था, एमएसपाइप, तयारी पोसाकलगायत निर्यात घटेको कारण भारततर्फको निर्यात समीक्षा अवधिमा ह्रास आएको हो । त्यस्तै, अन्य मुलुकतर्फको निर्यात अघिल्लो वर्षको सोही अवधिको १६ दशमलव ६ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा ३४ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको १९ दशमलव ७ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ९ दशमलव ७ प्रतिशले वृद्धि भई अमेरिकी डलर ६ करोड ७१ लाख पुगेको छ । भारततर्फ प्रमुख रुपमा जिआई पाइप, जुटको बोरा, पोलिस्टर धागो, लत्ताकपडा र तारको निर्यात बढेको छ भने अन्य मुलुकतर्फ विशेषगरी दाल, छाला र तयारी छालाका वस्तुको निर्यातमा वृद्धि भएको छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात २९ दशमलव ७ प्रतिशतले बढेर ९० अर्ब ६५ करोड रुपियाँ पुगेको
छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १४ दशमलव ५ प्रतिशतले वृद्धि भई ६९ अर्ब ९२ करोड रुपियाँ रहेको थियो । भारत तथा अन्य मुलुक दुवैतर्फको आयातको उच्च वृद्धिदरका कारण कुल वस्तु आयातको वृद्धिदर अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बढ्न गएको हो । मासिक रूपमा हेर्दा भदौ महिनामा कुल वस्तु आयात साउन महिनाको तुलनामा ७ दशमलव १ प्रतिशतले ह्रास आएको छ ।
कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको २ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ३१ दशमलव ५ प्रतिशतको उच्च दरले बढेको छ । त्यसैगरी, अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको ४३ दशमलव ३ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा २६ दशमलव ७ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु आयात अघिल्लो वर्षको सोही अवधिको सोही अवधिको ४७ दशमलव २ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ३ दशमलव ७ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ३७ करोड ७१ लाख पुगेको छ । भारतबाट मुख्यतया: पेट्रोलियम पदार्थ, एमएस बिलेट, रासायनिक मल, सिमेन्ट र धान/चामललगायत आयात बढेको कारण त्यस तर्फको आयात उच्च दरले बढेको हो । अन्य मुलुकबाट विशेषगरी पाइप तथा पाइप फिटिङ, दूरसञ्चारका उपकरण, तयारी पोसाक, सुन र खाने तेललगायत आयात बढेको कारण त्यसतर्फको आयात बढेको हो ।
आयातको वृद्धिदर उच्च रहेको कारण निर्यात–आयात अनुपात समीक्षा अवधिमा १५ दशमलव ४ प्रतिशतमा
झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १७ दशमलव ९ प्रतिशत रहेको थियो । विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको २४.९ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ३८.१ प्रतिशतको उच्च दरले वृद्धि भई ६५ अर्ब ३८ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आय अघिल्लो वर्षको सोही अवधिमा २८.१ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा १३.२ प्रतिशतले वृद्धि भई ७३ करोड ६४ लाख डलर पुगेको छ । मासिक रूपमा हेर्दा, विप्रेषण आप्रवाह चालू आवको साउन महिनाको तुलनामा भदौ महिनामा ९३.४ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, समीक्षा अवधिमा वित्तीय खाताअन्तर्गत ९३ करोडको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
प्रतिक्रिया