हप्ताको एक दिन खाल जमाइन्छ

मलाई सानैदेखि तास खेल्न मन पर्छ । स्कुल पढ्न जाँदा साथीहरूको लहलहैमा लागेर एघार वर्षको उमेरमा पहिलोचोटि तास समातेको थिएँ । पहिलोचोटि सिकेको खेल जुटपत्ती हो । खेल्न आएपछि त अझ बढी खेल्न मन लाग्ने । स्कुलबाट यताउति लागेर कति खेलियो खेलियो † विस्तारै कलब्रेक, फराँस, पालिकटलगायत खेल पनि सिकियो ।
सानैदेखि पैसा राखेरै खेलिन्थ्यो । बुबाको बगली पनि निकै मारियो । तास खेलेर पढाइ र समय बर्बाद पार्‍यो भनेर बुबाले नकुटेको दिनै हुँदैनथ्यो । दिमाग लगाउनुपर्ने भएकाले मलाई कलब्रेक सबैभन्दा धेरै मन पर्छ । यसमा जुवाको माध्यमबाट दिमागको पनि खेल हुन्छ ।
तास नखेलेको दिनै हुँदैनथ्यो । कहिलेकाहीँ त बिहानदेखि राति अबेरसम्मै । अहिले पनि कलब्रेक खेल्छु । पहिलेजस्तो फुर्सद त हुँदैन तैपनि मिलाएर हप्ताको एक दिन त खाल जमाइन्छ नै ।
दसैँतिहारमा फुर्सद हुने भएकाले लगातार सात–आठ दिनसम्म पनि खेलिन्छ । गाउँका साथीहरूसँग नै खेल्न मन पर्छ । म्यारिज चाहिँ मलाई बकवास लाग्छ, किनकिन मनै पर्दैन । जतिसुकै खेले पनि जुवातासलाई मैले पेसाचाहिँ बनाएको छैन । त्यस्तो मान्छे मन पर्दैन पनि । कामलाई बाधा नपर्ने गरी फुर्सदमा समय पासका लागि तासजुवा खेल्नुपर्छ भन्ने मान्यता राख्नेमध्येको हुँ म ।
तास मात्र होइन, जुवा पनि बच्चैदेखि खेल्दै आएको छु । कौडामा छक्का दाउ मन पर्छ । चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकर पनि छक्का बढी हानेर लोकप्रिय भएकाले होला, मलाई पनि छक्का राम्रो लाग्छ । जुवातास पनि फापेको/नफापेको भन्ने हुन्छ । मलाई चाहिँ फापेकै जस्तो लाग्छ । किनभने मैले जुवातासमा हारेको वा जितेको कहिल्यै छैन । जहिल्यै ब्यालेन्स । तासमा दस–पन्ध्र हजार हारेँ भने कौडाबाट त्यसको पूर्ति भइहाल्छ । कौडा हानेर एकै वर्ष मैले ७० हजार मारेको छु ।
जुवातासमा मैले बढी खर्च गर्ने भनेको तीस–चालीस हजार मात्र हो । यस वर्षको दसैँतिहारलाई पनि चालीस हजार छुट्याएको थिएँ । यसपालि पनि बराबरी अवस्थामै छु । कुनै दिन तल परे अर्को दिनको खेलले पूर्ति भएको छ ।
सानो छँदा बुबाले फी तिर्न दिएको पैसा पनि तासमा हारेँ । त्यसपछि घरका महिला सदस्यसँग अलिअलि पैसा मागेर बल्लबल्ल जुटाउँथेँ अनि फिस तिर्थें । अब नतिरेको थाहा पाए त बुबाले मारिहाल्नुहुन्थ्यो नि †
जुवातास मलाई उति नराम्रो लाग्दैन । हप्तामा एक दिन खेल्दा मुड फ्रेस पनि हुन्छ । अहिले कामका कारण हप्तामा नभ्याए पनि महिना दिनमा त खेलेकै हुन्छु ।

प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया