जनताको हातबाट थप्पड खाने नेपाली नेताहरूको सूचीमा थपिएका छन्, देशको सबैभन्दा शक्तिशाली मानिने पार्टीका शक्तिशाली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । आफ्नै पार्टीले आयोजना गरेको चियापान कार्यक्रमका एक आगन्तुकको हातबाट उनले थप्पड भेटे । त्यो थप्पड सामान्य आवेशमा हानिएको थियो, वा नियोजितरूपमा भन्ने खुलिसकेको छैन । जुनरूपमा भए पनि यसले नेपाली नेताहरूप्रति जनताको उर्लदो वितृष्णा र आक्रोशलाई प्रतिविम्बित गर्दछ । साथै, यसले अराजक बन्दै गइरहेको नेपाली समाजको नकारात्मक चित्र पनि देखाएको छ जसलाई प्रोत्साहित गर्न कदापि मिल्दैन । तर, एनेकपा माओवादी र प्रचण्डले यसलाई ‘देशी विदेशी षडयन्त्र’ भनेर खारेज गर्ने काम मात्र गरे र कुनै पाठ सिक्न चाहेनन् भने त्यो उनका लागि प्रत्यूत्पादक हुनेछ ।
एमाले अध्यक्ष झलनाथ खनाललाई सुनसरीका एमाले कार्यकर्ता देवीप्रसाद रेग्मीले सार्वजनिक कार्यक्रममा थप्पड हानेर नेतामाथी आक्रमणको सिलसिला प्रारम्भ गरेका थिए । कांग्रेस सभापति सुशील कोइरालालाई पनि पार्टीकै कार्यकर्ता प्रवेश बस्नेतले कुर्सीको फ्रेमले प्रहार गरे । पछिल्लो पटक आक्रमणको निशाना बने दाहाल । घटनाको प्रकृति जेजस्तो भए पनि सार एउटै हो, नेताहरूप्रति जनताको आशा र धैर्य टुटिसकेको छ । हो, जनताको धैर्यको बाध टुटिसकेको छ । देशको राजनीतिप्रति जनताको वितृष्णा अब बिस्तारै क्रोधमा बदलिँदै छ । उनीहरूमा विद्रोही मानसिकता उब्जेको छ । पदम गौतमले उठाएको हात त्यही क्रोधको प्रतिक हो, विद्रोह हो । यसलाई प्रतिगामीको चलखेल वा देशी विदेशी षडयन्त्रको जामा लगाइदिएर एनेकपा माओवादीले आपैँmलाई सान्त्वना दिन त सक्छ, तर सत्य बदल्न सक्दैन । यसअघी झलनाथ खनालले थप्पड खाँदा त्यसलाई जनताको आक्रोशको रूपमा व्याख्या गर्ने तिनै प्रचण्ड हुन् । त्यही प्रकृतीको थप्पड आफूले खाँदा चाहिँ कसरी देशी विदेशी षडयन्त्र भयो ?
प्रचण्डमाथीको थप्पड अहिले जनमानसमा बहसको सबैभन्दा जल्दोबल्दो विषय बनिरहेको छ । अधिकांसले थप्पड प्रकरणप्रति दु:ख होइन खुसी व्यक्त गरेको पाइन्छ । प्रचण्डको पार्टी एनेकपा माओवादीबाहेक अरू कसैले औपचारिकरूपमा यस घटनाको निन्दासमेत गरेको छैन । सामाजिक सञ्जालहरूमा थप्पड हान्नेले वाहवाही पाएका छन् । त्यसो भनेर यो थप्पड प्रकरण सही थियो भन्न चाहिँ मिल्दैन । नेताहरूले देश बिगारेको सत्य हो, तर थप्पडले समाधान दिँदैन । कसैमाथी कुनै पनि निहुमा भौतिक आक्रमण गर्नु आपैँmमा गैरकानुनी पनि हो । सभ्य समाजलाई यसले सोभा दिँदैन । केवल अराजकतालाई बढावा दिन्छ । हिजो झलनाथले एमालेबाहेक अरूले खुचिङ भनेका थिए । कोइरालामाथी आक्रमण हुँदा कांग्रेसबाहेक अरूले खुचिङ भने । आज प्रचण्डमाथी प्रहार हुँदा एमाओवादीबाहेक अरूले खुच्चिङ भनिरहेको अवस्था छ । यो आपैँmमा एउटा विरोधाभास हो राजनीतिको ।
नेताहरू सच्चिनै पर्छ, यसको विकल्प छैन । नेताहरूलाई सच्याउने जनताले नै हो, यसमा पनि दुई मत छैन । जनताले नेतालाई दण्डित गर्न सक्छन् तर यसरी होइन । चुनावमा भोट हालेर जनताले नेतालाई साइजमा ल्याउने हुन् । नेतालाई दिने दण्ड भनेको चुनावमा भोट नदिनु हो । पुरस्कार भनेको भोट दिनु हो । पदम गौतमहरूको शैलीले क्षणिक तुष्टी मात्रै दिन्छ, समाधान दिँदैन । समाधान केवल जनमतले दिन्छ । आउँदो चुनाव नै खराब नेताहरूलाई दण्डित गर्ने उपयुक्त अवसर हो ।
प्रतिक्रिया