काठमाडौं, ३ मंसिर । एमाओवादीले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हानिएको घटना क्षणिक आवेगमा नभएको दाबी गरेको छ ।
कोटेश्वरको पेरिसडाँडास्थित पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा एमाओवादी प्रवक्ता अग्नि सापकोटाले पार्टी अध्यक्ष दाहालमाथि नियोजित र षड्यन्त्रमूलक ढंगले आक्रमण प्रयास भएको बताए । ‘घटना क्षणिक आवेग, आक्रोश र अराजकता मात्रै हो भन्ने कुरा स्वीकार गर्न सकिँदैन,’ प्रवक्ता सापकोटाले भने, ‘यसभित्र राजनीतिक पार्टी र तिनका नेताहरूको तेजोबध गर्ने, दलहरू तथा तिनका नेताको साख गिराउने गम्भीर षड्यन्त्र पनि लुकेको छ ।’
एमाओवादीले शुक्रबार भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा बाग्लुङका युवक पदम कुँवरले अध्यक्ष दाहाललाई थप्पड हानेका थिए । कुँवर प्रहरी नियन्त्रणमा छन् । दाहाललाई थप्पड हानेपछि एमाओवादी कार्यकर्ताबाट कुटिएका कुँवरको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
घटनालगत्तै बसेको एमाओवादीका पदाधिकारीको आकस्मिक बैठकले दाहाल आक्रमणलाई शान्ति, संविधान र परिवर्तनविरोधी शक्तिले गरेको षड्यन्त्र भएको निष्कर्ष निकालेको थियो ।
यसैबीच, एमाओवादीको मगरात राज्य समिति इन्चार्ज लोकेन्द्र विष्टले पनि विज्ञप्तिमार्फत उक्त घटना षड्यन्त्रमूलक भएको बताएका छन् । पार्टीले आधिकारिक रूपमा छानबिन समिति गठन नगरे पनि आन्तरिक रूपमा पार्टी संयन्त्र, मगरात राज्य समिति, बाग्लुङ जिल्ला समितिले छानबिन गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
‘चोरले खुट्टा तानेजस्तो भयो’
एमाओवादी प्रवक्ता सापकोटाले दाहाललाई थप्पड हानिएको घटनाको छानबिन भइरहेकाले कसैलाई पनि आरोप नलगाइएको उल्लेख गर्दै नेकपा–माओवादीले खण्डन गर्नुले शंका उब्जाएको बताए । ‘चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा तानेजस्तो भयो,’ प्रवक्ता सापकोटाले भने । प्रारम्भिक अनुसन्धानबाट कुँवर नेकपा–माओवादीको युवा दस्ता ‘राष्ट्रिय युवा जनस्वयंसेवक’का बाग्लुङ जिल्ला समिति सदस्य भएको खुलेको दाबी एमाओवादीले गरेको छ । एमाओवादीबाट फुटेर बनेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले दाहाल आक्रमणमा संलग्न कँुवर आफूहरूको कार्यकर्ता नभएको दाबी गरेको थियो ।
कार्यक्रमको स्वरूप परिवर्तन गरिने
एमाओवादीले नेताहरूले कार्यकर्ता र शुभेच्छुकसँग हात मिलाउने, खादा ओढाउने, माला लगाउनेजस्ता स्वरूपका कार्यक्रममा परिवर्तन गरिने जनाएको छ । प्रवक्ता सापकोटाले पत्रकार सम्मेलनमा भने, ‘यो घटनाले हात मिलाउने, खादा ओढाउने, माला लगाउनेजस्ता कार्यक्रमको स्वरूपमा परिवर्तन गर्नुपर्ने शिक्षासमेत दिएको छ ।’
प्रहरी अधिकृतहरूले पनि उच्चपदस्थ व्यक्तिको सुरक्षा कार्यविधिमा परिवर्तन गर्नुपर्ने बताउँदै आएका थिए । उच्चपदस्थ व्यक्तिहरूसँग सर्वसाधारणले सहज पहँुच पाउँदा सुरक्षा दिन नसकिएको भन्दै कार्यविधिमा परिवर्तनका लागि गृह मन्त्रालयले तयारीसमेत गरेको छ ।
प्रतिक्रिया