एमाओवादीलाई घोडाबाट खसाल्छौः खनाल

भक्तपुर, २ मंसिर । एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादी सर्वसत्तावादको घोडामा सवार भएकाले उसको घमण्ड तोड्न विपक्षी दलहरुले आन्दोलन गर्न लागेको बताएका छन् ।
‘एमाओवादी सर्वसत्तावादको घोडामा सवार भई घमण्ड गरिरहेको छ,’ उनले भने, ‘एमाओवादीलाई घमण्डको घोडाबाट खसाल्न आन्दोलन गरेका हौं ।’
भक्तपुरको खरिपाटीमा आज आयोजना गरिएको एमालेको दुईदिने संगठनात्मक कार्यशाला गोष्ठीमा खनालले आन्दोलनले वर्तमान सरकारलाई घुँडा टेकाएर सहमतीय सरकार गठन गर्ने दाबी गरे । देशको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताएका खनालले एमाओवादी सहमतिका लागि तयार नभएका कारण समस्या आएको उल्लेख गरे ।
उनले अबको आन्दोलनबाट एमाओवादीलाई सत्ताबाट हटाएर सबै दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने पनि दोहराए ।
‘अबको निर्वाचन राष्ट्रको इतिहासमा निर्णायक प्रकारको हुन्छ,’ उनले भने, ‘निर्वाचनले संविधान निर्माण गर्ने छ ।’ उनले निर्वाचनको विकल्प नरहेको समेत बताए ।

प्रतिक्रिया