आगामी अमेरिकी राष्ट्रपति निर्वाचनबारे अड्कल सुरु

वासिंगटन : अमेरिकामा राष्ट्रपति बाराक ओबामाले दोस्रो कार्यकालका लागि पनि निर्वाचन जितेको केही दिन बित्दा–नबित्दै अब आगामी सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रयाटिक पार्टीको तर्फबाट को उम्मेदवार बन्ने भन्ने अनुमान सुरु भइसकेका छन् ।
विदेशमन्त्री हिलारी क्लिन्टनको नाम सम्भावित उम्मेदवारका रूपमा लिइँदै छ भने वर्तमान उपराष्ट्रपति जो बिडेनको सम्भावना पनि दर्साइँदै छ । सन् २००८ मा उम्मेदवारीको दौडमा अन्तिम समयमा ओबामाद्वारा पराजित भएकी हिलारीले आफू फेरि राष्ट्रपति पदको उम्मेदवार बन्ने सम्भावनासम्बन्धी सबै समाचारप्रति असहमति व्यक्त गर्दै आएकी छन् ।
सामयिक प्रकाशन ‘नेसनल जर्नल’ले सम्भावित उम्मेदवारको सूचीमा हिलारीको नाम शीर्षमा राख्दै लेखेको छ, ‘हिलारी क्लिन्टन डेमोक्रयाटिक पार्टीको उम्मेदवार बन्ने दौडमा सामेल हुने हो भने उनी सबैभन्दा अग्रस्थानमा रहनेछिन् ।’
गत मंगलबार सम्पन्न निर्वाचनमा वर्तमान उपराष्ट्रपति बिडेनले आगामी राष्ट्रपति निर्वाचनमा आफू उम्मेदवार बन्ने संकेत दिइसकेका छन् । जर्नलले अगाडि लेखेको छ, ‘सन् २०१६ का अनेक सम्भावित उम्मेदवारको तुलनामा बिडेन बढी नै लोकप्रिय छन् । थप के छ भने डेमोक्रयाटिक पार्टीभित्र ठूलो संख्यामा मानिसहरू उनलाई रुचाउँछन् पनि ।’(एजेन्सी)

प्रतिक्रिया