नेतालाई बास, जनतालाई आस नहुँदा

‘कुशल प्रशासकलाई जहिले पनि प्रशासनको चिन्ता हुन्छ तर राजनीतिज्ञलाई सधँभरी चुनावको मात्रै चिन्ता हुन्छ ।’ अब्राहम लिंकनले भनेजस्तै अहिलेको माहोल कुशल प्रशासक बन्नेभन्दा पनि राजनीतिज्ञ बन्नेतर्फ बढी मोडिएको छ । महाशक्ति राष्ट्र अमेरिकामा राष्ट्रपतिको चुनावी सरगर्मी भर्खरै मात्र मत्थर भयो । कडा प्रतिस्पर्धाका बीच वर्तमान राष्ट्रपति बाराक ओबामा अर्को चार वर्षे कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भए । दोस्रो महाशक्ति राष्ट्र चीनमा पनि दस वर्षे शासनकाल समापन गर्दै नयाँ सत्ता हस्तान्तरणको सरगर्मी सुरु भइसकेको छ । वर्तमान प्रधानमन्त्री बेन जिया बाओ र राष्ट्रपति हु जीन ताओको स्थानमा नयाँ अनुहार नयाँ कार्यकालको लागि नियुक्त हँुदै छन् । सत्ताका लागि हामीकहाँ जस्तो राजनीतिक लुछाचँुडी त्यहाँ नुहने रहेछ, को राष्ट्रपति हुने को प्रधानमन्त्री बन्ने, पार्टीको महासचिव को बन्ने भन्ने पहिले नै थाहा हुने रहेछ । शक्तिसम्पन्न देश चीनमा पनि भ्रष्ट्राचारको मुद्दालाई प्रमुख एजेन्डाको रूपमा अघि सारिएको छ । उता अमेरिकामा पनि आर्थिक मुद्दालाई राष्ट्रपति बाराक ओबामा अनि उनका प्रतिद्वन्द्वी मिट रोम्नीले निकै जोडतोडका साथ अघि सारेका थिए । रोम्नी निर्वाचनमा पराजित भए पनि उनको आर्थिक नीतिलाई अवलम्बन गरेर एकसाथ अघि बढ्ने ओबामाले बताइसकेका छन् । भ्रष्ट्राचार र आर्थिक मुद्दालाई अघि सार्ने विदेशी परम्परा हामीकहाँ भने भित्रन सकेको छैन । सरकार फेरिएलगतै फेरिने नीति र नियमका कारण पनि विकास निर्माणका कार्यले यथेष्ट गति लिन नसकिरहेको अवस्था छ ।
सर्वोच्च अदालतले वर्षौदेखी निर्वाचन हुन नसकेका स्थानीय निकायमा तत्काल निर्वाचन गराउन सरकारलाई आदेश दिएपछि केही भए पनि चुनावी माहौल सिर्जना हुन थालेको छ । स्थानीय निकायको निर्वाचन पहिले गर्ने कि सविधानसभाको निर्वाचन भन्नेमा दलहरूको बीचमा मतभेद देखिएका बेला स्थानीय निकायको पनि निर्वाचन गर्नुपर्ने सर्वोच्चको निर्देशनात्मक आदेशले माहौल चुनावमय बन्नै लागेको छ । एकाथरी राजनीतिज्ञहरू मरिसकेको सविधानसभालाई केही दिनको लागि भए पनि व्युताउनुपर्ने अडानमा छन् भने अर्काथरी नयाँ जनादेशमा जानुपर्ने अडानमा उभिएका छन् । महिनाँै वर्षांै लगाउँदा पनि सहमति खोजेर नथाक्ने हाम्रा नेताको लाजमर्दो चाला देखेर सर्वसाधारण नागरिकहरू भने निकै रुष्ट भइसकेका छन् । केही दिनअघि पत्रपत्रिकामा निकै स्थान पायो थवाङ्का जनताको पीडा मिश्रित आक्रोशले । यतिबेला रोल्पाको थवाङ् मात्रै होइन प्रत्येक जिल्लाका हरेकजसो गाउँघरमा जनताहरू राजनीतिक दल र उनीहरूका गतिविधिबाट वाक्क भइसकेका छन् । जनयुद्धमा सेल्टर दिएका थवाङ्वासीले हाकाहाकी भनिदिए ‘अब प्रचण्डलाई थवाङमा बास छैन’ । जबकी उनीहरू एमाओवादी अध्यक्ष प्रचण्डको स्वागत सत्कारका लागि निकै खट्ने गर्थे । चेतना नभएका व्यक्तिले विस्तारै बुझ्न थाले, केही थाहा नपाएकाले राजनीतिको गाँठी कुरो पहिचान गर्न थाले र त उनीहरू एमाओवादीका अध्यक्षलाई समेत हाम्रो गाउँमा बास छैन भन्ने आँट गर्ने भए । थवाङ्मा प्रचण्डलाई मात्रै होइन केही दिनपछि कुनै पनि नेतालाई आफ्नो गाउँघरमा बास नभएको घोषणा नगर्लान् भन्न सकिँदैन । रोल्पा मात्रै होइन जनयुद्धको समयमा जनयुद्धको राग जहाँजहाँ पुगेको थियो, जनयुद्धमा बाँडिएका सपनाहरू जो जसले सुनेका थिए उनीहरूको मन निकै कुँडिएको छ यतिबेला । टाढा जानै पर्दैन केही दिन अघिमात्रै स्वेच्छिक अवकाश रोजेका पूर्व लडाकुहरूले दोस्रो किस्ता वापत्को रकम बुझेर घर फर्कंदै गरेका बखत देखिएको रोदन र आक्रोशले पनि प्रमाणित गरिसकेको छ माओवादीका कार्यकर्ता नै माओवादीप्रति आशावादी छैनन् भन्ने कुरा । माओवादीको मात्रै होइन अन्य राजनीतिक दल जो आफूलाई सच्चा प्रजातन्त्रवादी, सच्चा कम्युनिस्ट, सच्चा वामपन्थी जे भने पनि आखिर उनीहरूको हैसियत र हर्कत आम नागरिकले देखिसकेका छन् ।
प्रजातन्त्रको जग नै आफूले बसाएको भन्ने नेपाली कांग्रेसले नेपालको पहिलो पार्टी दर्ता गरेर राणा शासन विरुद्ध धावा बोल्ने हैसियत राख्ने सच्चा, देशभक्त अनि निडर व्यक्ति रामहरी शर्माको निधनमा एक शब्द समेत श्रदाञ्जलीको लागि अर्पने जाँगर गरेन । कुनै दलको झुन्डमा नपरेका कारण साच्चिकै जिउँदो सहिद भनेर कहलिएका रामहरी शर्माको निधनमा कुनै पनि राजनीतिक दलका नेताहरू झुल्किएनन् अझ कति नेताहरूले रामहरी शर्माको निधनको खबरै पाएनन् रे † एक दलले अर्को दलको बदख्वाइँ नगरी हाम्रा नेताहरूको दिन वित्दैन, अरूको विरोध र आलोचना गर्नुको साटो आफूले केही राम्रो काम गर्ने हो भने त्यसको दुरगामी प्रभाव अवश्य पनि पर्ने थियो । सत्तामा टाँसिएकाले सत्ता छोड्न नमान्ने, सत्ता बाहिर बसेकाहरू कतिबेला छा्ड्ला र खाउँला भन्दै मुख मात्रै बाइरहेका छन् । उता जनताहरू भने जुन पाटीको सरकार आए पनि आफूहरू सधँैभरि महँगी, अभाव, भोकमरी, गरिबीको दुष्चक्रमा मात्रै फसेका गुनासो गरिरहन्छन् । हामीकहाँ स्थायी सरकार छैन, एउटा सरकारले बनाएका राम्रा र उपयोगी नीति नियमका कुराहरू भए पनि अर्को सरकार आउँदासाथ सबै फेरिने प्रचलन छ । यही प्रचलनका कारण कतिपय राम्रा विषयहरूले पनि विस्तारको मौका पाउन सकिरहेका छैनन । पहिले जस्तो राजनीति सरगर्मी अहिले गाउँघरमा हुन छाडेको छ ।
गाउँघरमा जे जति राजनीतिक गफगाफ हुन्थे, राजनीतिक बहस चल्ने गर्थे अहिले त्यो अवस्था छैन । राजनीतिको बारेमा केही थाहा नपाएका नागारिकहरू पनि जुन जोगी आए पनि कानै चिरेका भन्न थालिसकेका छन् । सर्वहारा वर्गको नेतृत्व गर्ने माओवादी, बहुदलीय जनवादको भाषण दिएर नथाक्ने एमाले, प्रजातन्त्रको सच्चा हिमायती ठान्ने कांग्रेस, मधेसको लागि जस्तोसुकै त्याग र बलिदान गर्ने मधेस केन्दित दल तथा अन्य सानाठूला सबैजसो राजनीतिक दलका नेता तथा उनका कार्यकर्ताको चरित्र, व्यवहार अनि नेताको जनता झुक्याउने शैलीका कारण आम नागरिकहरू आहत भइसकेका छन् । केवल चुनाव, चुनावमा आफ्नो वर्चस्व, सत्ता, मोजमस्तीकै लागि चिन्तित हुने हाम्रा नेताहरूको शैली र संस्कार कहिले फेरिएला त ? लिंकनले भनेजस्तै सधँैभरी चुनावको मात्रै चिन्ता गर्ने राजनीतिज्ञको बोलवाला छ देश र जनताको चिन्ता गर्ने राजनीतिज्ञको कहिलेसम्म खडेरी परिरहला त ? अहिले नै भनिहाल्न सक्ने अवस्था देखिँदैन ।

प्रतिक्रिया