प्रेमिकाले गर्दा सिआइए प्रमुखको राजीनामा

वासिंगटन : अमेरिकी गुप्तचर संस्था सिआइएका निर्देशक डेभिड प्याट्रियसले विवाहेतर सम्बन्ध स्वीकार गर्दै पदबाट राजीनामा दिएका छन् । उनले अमेरिकाको प्रमुख गुप्तचर संस्थाको प्रमुख पदमा रहेको व्यक्तिको हैसियतमा यस किसिमको व्यवहार सर्वत्र अस्वीकार्य भएको जनाउँदै पदत्याग गरेका हुन् ।
प्याट्रियस पहिले इराक र त्यसपछि अफगानिस्तानमा अन्तर्राष्ट्रिय सैनिकहरूको कमान्ड सम्हालेपश्चात् सन् २०११ मा सिआइए प्रमुख नियुक्त भएका थिए । अमेरिकामा ११ सेप्टेम्बर २००१ मा भएको आतंकवादी आक्रमणपछि प्याट्रियस अमेरिकामा सबैभन्दा शक्तिशाली सैन्य अधिकारी थिए ।
आफ्नो बयानमा प्याट्रियसले भनेका छन्, ‘३७ वर्ष लामो वैवाहिक जीवनपछि मैले विवाहेतर सम्बन्ध स्थापित गरेर निकै ठूलो भुल गरेको छु । मेरो यस्तो व्यवहार पति र यस्तो महत्त्वपूर्ण संस्थाको प्रमुखका रूपमा पूर्णत: अस्वीकार्य छ । राष्ट्रपतिले मेरो राजीनामा स्वीकार गरिसक्नुभएको छ ।’
उनको स्थानमा सिआइएका उपनिर्देशक माइकल मोरेललाई संस्थाको कार्यकारी प्रमुख नियुक्त गरिएको छ । राष्ट्रपति ओबामाले छिट्टै नै नयाँ निर्देशकको नाम घोषणा गर्नेछन् । ओबामाको घोषणा गरेको नामलाई सिनेटले अनुमोदन गर्नुपर्ने हुन्छ । (एजेन्सी)

प्रतिक्रिया