बिरामीको उपचारमा कठिनाइ

 

रौतहट, २६ कात्तिक । निर्माण नसक्दै उद्घाटन गरिएको जिल्ला अस्पताल गौरको नयाँ भवन सञ्चालनमा आएको छैन । अस्पतालको मूल ढोकामा लगाइएको ताल्चा खुलेको छैन ।
५० शय्याको तीनतले अत्याधुनिक अस्पताल भवनको निर्माण नसकिँदै स्वास्थ्यमन्त्री राजेन्द्र महतोले उद्घाटन गरेका थिए । २१ असोजमा जिल्ला अस्पताल भवनको उद्घाटन भए पनि बिरामी पुरानो र जीर्ण भवनबाहिर बरन्डामा उपचार गराइरहेका छन् । स्थानीयवासी तथा नागरिक समाजले चर्को विरोध गरे पनि कडा सुरक्षाबीच स्वास्थ्यमन्त्री महतोले अस्पताल भवन उद्घाटन गरेका थिए ।
भवनको शिलालेखमा नाम लेखाउन आतुर जिल्ला स्वास्थ्य प्रमुख डा. अखिलेशकुमार सिंह तथा स्वास्थ्यमन्त्री महतोको पदमोहका कारण हतारमा उद्घाटन गरिएको अस्पताल भवनले सर्वसाधारणलाई सुविधा दिनसकेको छैन । गुणस्तरहीन निर्माणकार्य गरिएको जिल्ला अस्पतालको नयाँ भवनमा रैम्प तथा लिफ्ट निर्माण गरिएको छैन । माथिल्लो तला चुहिने भइसकेको छ भने अस्पतालमा जेनेरेटर पनि ठेकेदारले नै दिनुपर्नेमा जेनेटरको अभाव छ ।
५० शय्याको अस्पताल भनिए पनि सोसरहको कुनै सुविधा अस्पतालमा उपलब्ध हुनसकेको छैन । जिल्लाभरिका बिरामीका साथै भारतीय बिरामीको पनि चाप थेग्नुपर्ने अस्पतालमा बिरामीका लागि आवश्यक सुविधा अभाव रहेको अस्पतालका कर्मचारी नै बताउँछन् । तीन डाक्टरको दरबन्दी भएको अस्पतालमा एक डाक्टर मात्र छन् । कर्मचारी, औषधि तथा स्रोतको अभाव रहेको अस्पतालले सेवा दिने कुरामा शंका उत्पन्न भएको छ ।
भवन निर्माण पूरा नहँुदै उद्घाटन गरिनुमा स्वास्थ्य प्रमुख डा. सिंह भन्छन्, ‘पुरानो भवन जीर्ण भइसकेकाले नयाँ भवनको उद्घाटन गरिएको हो ।’ तर, ठेकेदारले भवन अझै पनि अस्पताल प्रशासनलाई हस्तान्तरण नगरेको उनले बताए । पाँच करोड चार लाख रुपियाँको लागतमा सुविधासम्पन्न अस्पताल भवन बनाउन २९ असार ०६२ मा सुरु भएको हो । भवन निर्माण ०६४ मा सकिनुपर्नेमा सात वर्षपछि मात्र सकिएको हो तर, अझै निर्माण अधुरो छ र हस्तान्तरण पनि भएको छैन ।

लालगढ अस्पतालमा रोगीको चाप

 

जनकपुरधाम, २६  कात्तिक । धनुषा लालगढ कुष्ठरोग सेवा केन्द्रमा उपचारमा आउने बिरामीको संख्या बढ्दै गएको छ । धनुषालगायत महोत्तरी, सर्लाही, सिन्धुली तथा सीमापारबाट पनि केन्द्रमा बिरामी आउने गरेका छन् ।
केन्द्रमा दैनिक तीन सयका हाराहारीमा छालाका रोगी उपचारका लागि आउने गरेको कार्यक्रम निर्देशक डम्बरबहादुर आलेले बताए । सन् १९९१ मा नेपाल कुष्ठरोग ट्रस्ट बेलायतको सहयोगमा स्थापना भएको सेवा केन्द्रमा उपचार गराउन आउने बिरामीमध्ये १५ प्रतिशत भारतीय छन् । आर्थिक वर्ष ०६८/६९ मा केन्द्रमा आठ सय तीन नेपाली तथा दुई सय ४३ भारतीय उपचारका लागि आएका थिए । केन्द्रमा आएका बिरामीमध्ये करिब ८० प्रतिशतमा कुष्ठरोग नभई छालासम्बन्धी अन्य रोग रहेको उनले बताए । अस्पतालमा कुष्ठ तथा छालारोग विशेषज्ञ डा. रामकुमार पौडेल तथा डा. ग्रेइम क्लक्सटनले बिरामीको उपचार गरिरहेका छन् । यस्तै, डा. प्रमोदकुमार झा (आर) र डा. प्रमोदकुमार झा (टी) अध्ययन बिदामा रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया