सुन्दर अनुहार हुने महिलासित शक्तिशाली दिमाग पनि हुन सक्छ भन्ने तथ्यलाई सावित गर्ने थोरै लेखिकामध्येकी एक थिइन्, जेन आस्टिन । उनी ब्युटी र ब्रेनको अनुपम तालमेलबाट निर्मित थिइन् ।
आफ्नो समयमा उनी त्यस्ती लेखिका थिइन् जो दृश्यलाई शब्द दिन्थिन् । अनि, भावनालाई भाषा र शब्दलाई विचारको आवाज पनि दिन्थिन् । सजीव अनुभूति एवं हृदयमा व्याप्त असीम तिर्सनाले उनी भावहरूको नवीन सिर्जना गर्थिन् । शब्दको तस्बिरमा खिचिएको जीवन र जगत्को चित्रले उनका कृतिका रूपमा रहेका आत्मप्रकाशनहरू कतिसम्म सौन्दर्यले भरिपूर्ण छन्, त्यसको बेग्लै व्याख्या गरिरहनै पर्दैन । लेखिकाका रूपमा आस्टिन महत्त्वाकांक्षी नै थिइन् । उनको लेखकीय चेतना र महत्त्वाकांक्षा भावुक प्रकृतिको थियो । र उनले त्यही भावुकता संसारका पाठकलाई बाँडिन् । विश्वसाहित्यमा दुर्लभ उचाइ प्राप्त गरेर इतिहासकै अप्रतिम धरोहर बनेकी लेखिका आस्टिनलाई उनका ‘सेन्स एन्ड सेन्सिबिलिटी’, ‘म्यान्सफिल्ड पार्क’, ‘इमा’, ‘नर्थ एङ्गर अवे’लगायत कालजयी पुस्तकले हरेक समयको प्रवाहलाई प्रभावित गर्न सक्षम छन् । ४२ वर्षको अल्पायुमै उनको जीवनकालमा पूर्णविराम लागेको थियो । लेखनमा रोमान्स, रहस्य र प्रेमका कथालाई जीवन्त उकेर्ने आस्टिनको विन्चेस्टरको काथेड्रलस्थित समाधिमा अझै पनि फूल चढाउन उनका प्रशंसकहरूको घुइँचो लाग्ने गरेको छ । बेलायतको हेडलाइन पब्लिसरले कुनै बेला उनलाई ‘अ क्विन अफ रोमान्स’को उपाधि दिएको थियो ।
आस्टिन सन् १७७५ मा हेम्पसायरको स्टेभेन्सन रेक्टोरीमा एउटा शिक्षित तर आर्थिक अवस्था कमजोर भएको घरमा जन्मिएकी थिइन् । स्टेभेन्सन रेक्टोरी घाँसे चउरहरूले ढाकेको एउटा अत्यन्तै सुन्दर उपत्यका थियो । जन्मिएको केही महिनापछि उनकी आमाले उनलाई नजिकैकी एलिजाबेथ लिटिलउड नाम गरेकी एक महिलाकहाँ छाडेकी थिइन् । ती महिलाले एक वर्षसम्म आस्टिनको रेखदेख र लालनपालन गरेकी थिइन् । आस्टिनको परिवार शिक्षित थियो । उनका पिता किताबप्रेमी थिए । उच्च शिक्षा उनीहरूको पारिवारिक परम्परा थियो । यद्यपि, आर्थिक संकट त्यसको प्रमुख बाधा थियो । तापनि, उनी आफ्नी बहिनी क्यासिन्ड्रासँगै सन् १७८३ मा उच्च शिक्षाका लागि अक्सफोर्ड पुगेकी थिइन् । अध्ययनको क्रममा उनलाई टाइफाइड भयो जसले उनको ज्यानलाई झन्डै असमयमै लगेको थियो । क्यासिन्ड्रा उनकी बहिनी कम साथी बढी थिइन् । क्यासिन्ड्राबाट उनले जीवनका हर मोडमा साथ पाइरहिन् । बिमारीका कारण एक वर्ष घरै बसेर उनी सन् १७८५ मा बहिनीसँगै एक बोर्डिङमा पढ्न थालिन् । तर, सन् १७८६ को डिसेम्बरमै उनीहरूलाई घर फर्काइयो । किनकि आस्टिनको परिवार दुवै छोरीलाई पढाउन आर्थिकरूपमा असमर्थ थियो । विद्यालय छुटेपछि आस्टिनले बाँकी पढाइ स्वाध्ययनबाट पूरा गरिन् । किताबप्रेमी पिताको निजी पुस्तकालयमा छिर्ने अनुमति पाउनुपूर्व नै उनीमा जीवन र जगत्को विराट चित्र जो साहित्यको नामले जीवन्त छ त्यसप्रति उनको अनन्त लगाव पैदा भइसकेको थियो । उनको मस्तिष्कमा सिर्जनात्मक आँकुराहरू पलाइसकेका थिए । कल्पना र यथार्थका आवाजहरू, अनुभूतिका रंगीन रिवाजहरू र केही शब्दचित्रमय समाजहरू सँगालिरहेका उनका कलमका अँजुलीहरूबाट साहित्यिक धरामा उनका सिर्जनाहरू छचल्किन थालिसकेका थिए । त्यसो त उनले ७ देखि १३ वर्षको उमेरमा साथीहरूसँग थुप्रै नाटक खेलिसकेकी थिइन् । उनले खेलेका प्राय: नाटकहरू हास्य किसिमका थिए ।
प्रारम्भमै लेखनमा दरिलो उपस्थिति जनाएकी आस्टिनप्रति समीक्षकहरूको दृष्टि उपेक्षापूर्ण थियो । उनका उपन्यासको सम्यक मूल्यांकन गर्न समीक्षकहरू अघि सरेनन् । आस्टिन जस्ती सुन्दरी स्रष्टाको प्रतिभालाई उपेक्षा गरेर उनको सौन्दर्यको पछि मरिमेट्ने पुरुषहरूको त्यो जमानामा कुनै कमी थिएन । तर, पाठकहरूबाट भने उनले अपार साथ पाइरहिन् । सन् १८१४ मा उनको उपन्यास ‘म्यान्सफिल्ड पार्क’ प्रकाशित भएको थियो । समीक्षकहरूले उनको यस कृतिलाई निकै हेला गरेका थिए । तर, पाठकहरूले मन पराइदिएपछि कसको के लाग्छ र † छापिएजति सबै पुस्तक बजारमा ६ महिनामै सकियो । सीमित समीक्षकले नपत्याएका यी लेखिकालाई असंख्य पाठकले आत्मसात् गरे । तीन दिदीबहिनीको कथामा आधारित ‘म्यान्सफिल्ड पार्क’मा प्रेम, ईष्र्या, बिछोड र मिलनको कलात्मक प्रस्तुतिलाई पस्केकी छिन् । यथार्थ संघर्ष, इच्छा–आकांक्षालाई कल्पना र सपनासँग जोडेर उनले उपन्यासमा गजबको पेल हालेकी छिन् ।
समीक्षकबाट हेला गरिएको उनको अर्को कृति ‘नर्थ एङ्गर अवे’मा आस्टिनले क्याथरिन मोरल्याड नाउकी गाउँमा बस्ने एक १७ वर्षीय केटीको कथा लेखेकी छिन् । पाठकद्वारा औधी रुचाइएको यस उपन्यासमा आमाबाबुसहित आफ्ना ९ जना दाजुभाइ तथा दिदीबहिनीसित बसिरहेकी क्याथरिनलाई जिन्दगी पट्यार लागिरहेको हुन्छ । एक दिन उसले एउटा धनाढ्य जोडी भेट्छे । जसले ‘टुरिस्ट हट स्पट बाथ’का लागि आमन्त्रण गर्छन् । बिरानो लाग्दै गरेका आफ्ना सहरबाट बाहिर जान पाउँदा ऊ खुसी हुन्छे । ऊ एक रिसोर्टमा पुग्छे । त्यहाँ दुई पुरुषसँग भेट्छे । एउटा चलाख र धूर्त हुन्छ भने अर्को धनी र शिक्षित । ऊ धूर्तसँग मित्रता गाँस्छे अनि धनीलाई प्रेम गर्छे । ऊ भूतप्रेतको उपन्यास पढ्न, गफ गर्न र डान्सबारमा जान थाल्छे । पढ्दै जाँदा यस कथामा रमाइलो घटना सिर्जना हुँदै जान्छ । उनको प्रेमीको मृत्यु हुन्छ । त्यसपछि रिसोर्ट छाडेर ऊ नर्थ एङ्गर अवे भन्ने ठाउँतिर लाग्छे । प्रेमीको मृत्युले ऊ निकै दु:खी थिई । यद्यपि यो कुरा उसलाई थाहा थिएन उसको प्रेमीको उसित विवाह गर्ने कुनै योजना थिएन । पछि ऊ अर्को एक धनाढ्यसँग विवाह गर्छे । क्याथरिन मोरल्याड नाउँकी युवतीको जीवनका उतारचढावलाई उनले यस उपन्यासमा अत्यन्तै रोचक ढंगले प्रस्तुत गरिकी छन् ।
सन् १८०२ मा आस्टिनलाई बिहेको प्रस्ताव आएको थियो । त्यसबेला पनि आस्टिन आफू विवाहका लागि तयार नभएको भनेर पन्छिएकी थिइन् । उनी आफ्नो क्यारियरको अतिनै चिन्ता गर्थिन् । उनी भन्थिन् रे– ‘बिहेले क्यारियरमा असर गर्छ ।’ आजीवन अविवाहित आस्टिनले थोरै समयावधिमा जीवनका धेरै पाटा भोगिन् । आफ्ना ती भोगाइलाई उनले व्यक्तिगत र पारिवारिक चिठीहरूमा उल्लेख गर्थिन् । तर, उनको मृत्युपछि उनका भाइबहिनीले उनका चिठीहरू सेन्सर गरेर मात्र बाहिर ल्याए । कत्ति त उनीहरूले जलाइदिए ।
आस्टिनले उमेरमै आफ्नो प्राथमिकता तय गरिसकेकी थिइन् । उनको पहिलो, दोस्रो र अन्तिम प्राथमिकता भनेकै लेखन थियो । उनी लेखनमा एक आँखे भएर लागेकी थिइन् । लेखनमा त्यसरी लाग्दा उनले शारीरिक स्वास्थ्यको ख्याल नै गरिनन् । परिणामत: उनको शरीर कमजोर हुँदै गयो । रोगका लागि लायकको हँुदै गयो । शारीरिक स्वास्थ्यप्रति बेवास्ता गर्दा उनी थलिएर निकै बिमार भइन् । र, त्यही बिमारीले उनलाई सन् १८१७ मा मृत्युको उपहार दियो । ४१ वर्षको अल्पायुमै उनले सधैँका लागि दुनियाँ छाडिन् । आफ्नो समयलाई पकडमा लिएर अनगिन्ती पाठक माँझ लोकप्रिय रहेकी आस्टिनले आफ्नो समय पूरा भइसकेको भन्ने ठानेरै होला आफ्नो शारीरिक अवस्थामाथि हस्तक्षेप गरिनन् । उपन्यास ‘नर्थ एङ्गर अवे’ र ‘परसुसन’ उनी दिवंगत भएपछि छापिएको थियो । जीवनका अन्तिम दिनमा उनी उपन्यास ‘स्यान्डीसन’ लेख्दै थिइन् । तर, उनको जाने दिन आइसकेको रहेछ, उनले त्यसलाई पूरा गर्न भ्याइनन् । अंग्रेजीमा धेरै पढिने लेखिकाहरूको लहरमा उनी अहिले पनि अग्र पंक्तिमै आउँछिन् ।
प्रतिक्रिया