काठमाडौं, २५ कात्तिक । नेपाल सरकारका अधिकांश मन्त्रालयमा आºनै पुस्तकालय छ । तर, कसैको पनि व्यवस्थित छैन । पुस्तकालयमा कर्मचारी छन् तर पुस्तकको कुनै रेकर्ड छैन । कतिपय मन्त्रालयबाट वर्षांै पहिले विभागीय मन्त्री तथा सचिवहरूले लगेका पुस्तक फिर्ता आएका छैनन् ।
पुस्तकालयमा मन्त्रालयका सहसचिवभन्दा माथिका कर्मचारी पाइला टेक्दैनन् । कर्मचारीका अनुसार सहसचिवभन्दा माथिका कर्मचारीलाई कुनै किताब चाहिएमा सहयोगीमार्फत लैजान्छन् तर फिर्ता गर्दैनन् । ‘पुस्तकालय भनेको दैनिक पत्रपत्रिका पढ्ने स्थान मात्र हो भन्ने सोचाइ मन्त्रालयका प्रमुख व्यक्तिहरूमै हावी भएकाले पुस्तकालय नाम मात्रको बन्न गएको छ,’ भूमिसुधार मन्त्रालयका एक कर्मचारीले भने । उनका अनुसार मन्त्रालयमा कतैबाट राम्रो किताब आयो वा खरिद गरियो भने सिधै हाकिमहरूको आँखा लाग्छ र उनीहरूकै घरमा पुग्छ ।’
मन्त्रालयको पुस्तकालय अस्तव्यस्त भएको कर्मचारीकै स्वीकारोक्ति छ । अधिकांश मन्त्रालयका पुस्तकालयमा काम गर्ने कर्मचारी भन्छन्, ‘पुस्तकालयको जिम्मेवारी त दिइएको छ तर यहाँका राम्रा र महत्त्वपूर्ण किताब हाकिमहरूको घरमा पुग्छन् र कहिल्यै फिर्ता आउँदैन । यहाँ अहिले न किताब छन् न त भएका किताबलाई व्यवस्थित गरेर राख्ने स्थान नै †’
मन्त्रालयहरूले आºनो पुस्तकालयलाई प्राथमिकतामा नराखेका कारण भएका पुस्तक पनि अस्तव्यस्त छन् । अझ केही मन्त्रालयले त पुस्तकालयलाई स्टोर रुम बनाएका छन् । ती मन्त्रालयमा भएका पुस्तक र बिग्रिएका कुर्सी टेबल, सोफा, विद्युतीय सामग्री तथा नष्ट गर्न ठीक पारिएका कागज एकै स्थानमा राखिएको छ ।
वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस्तकालयलाई स्टोर रुम बनाएको छ । मन्त्रालयका लागि विभिन्न व्यक्ति तथा संस्थाले दिएको पुस्तकलाई मन्त्रालयको एक चिसो कोठामा थुपारेर राखेको छ । ‘यहाँको लाइब्रेरीमा निकै महत्त्वपूर्ण किताब छन् तर त्यसको संरक्षण हुन सकेको छैन, कुनै दिन ती सबै किताब कवाडीमा जानेछन् ।’ मन्त्रालयले जनशक्ति अभावका कारण पुस्तकालयको संरक्षण गर्न नसकेको एक सहसचिवले दाबी गरे ।
कृषि र महिलासँग सम्बन्धित डकुमेन्ट तथा कृषिसँग सम्बन्धित किताबहरूको संकलन कृषि विकास मन्त्रालयसँग छ । ती डकुमेन्टलाई मन्त्रालयले डकुमेन्टेसन शाखामा राखेको छ । तर, सो शाखामा राखिएका किताब पनि व्यवस्थित छैनन् । पुस्तकालय प्रमुख एवं कृषि अर्थविद् सीता त्रिपाठीले भनिन्, ‘पुस्तकालयलाई व्यवस्थित गर्न नसकिए पनि कृषि र महिलासँग सम्बन्धित विभिन्नखाले पुस्तक छन् ।’ उनले आफू एक्लै भएकाले किताबको व्यवस्थापन गर्न नसकेको जानकारी गराउँदै थपिन्, ‘यहाँ विभिन्न स्थानबाट आएका कृषिसँग सम्बन्धित डकुमेन्ट हुन्छन् तर राख्ने स्थान नहँुदा भद्रगोल देखिएको छ ।’ उनका अनुसार कुनै विषयमा डकुमेन्ट खोज्नुपर्यो भने, एक त पाइँदैन, पाइहाले पनि खोज्दाखोज्दै दिन बित्छ ।
महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको पुस्तकालय पनि अस्तव्यस्त छ । मन्त्रालयमा भएका पुराना किताब तथा अनुसन्धान प्रतिवेदनहरू साँघुरो कोठामा गुन्द्रुक खाँदेजसरी राखिएका छन् । पुस्तकालय प्रमुख निमा शेर्पाले भनिन्, ‘पुस्तक राख्ने ठाउँ नभएपछि यहाँको पुस्तकालय अस्तव्यस्त बनेको छ ।’ चिसोका कारण धेरै किताब ढुसी परेर कामै नलाग्ने भएका छन् । विभिन्न निकायबाट सहयोगस्वरूप र केही किताब किनेरै ल्याइएको जानकारी गराउँदै उनले थपिन्, ‘भएका पुस्तकलाई संरक्षण नै गर्न सकिएको छैन ।’ मन्त्रालयमा सिनियर कर्मचारीहरू नछिर्ने र वास्ता पनि नगर्ने गरेको उनको भनाइ थियो ।
श्रम तथा रोजगार मन्त्रालयको पुस्तकालय पनि ध्वस्त छ । भएका केही किताब यत्र–तत्र छरिएको अवस्थामा छन् । केही किताबमा ढुसी पर्नुका साथै किताबबाटै झार उम्रिएका छन् । किताब तथा विभिन्न अनुसन्धानमूलक डकुमेन्ट श्रमको लाइब्रेरीमा रहेको र ती सबै चिसोका कारण कुहिएर कामै नलाग्ने भएको मन्त्रालयका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार स्थान र कर्मचारी अभावका कारण पुस्तकालय व्यवस्थित गर्न नसकिएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि भएका पुस्तकलाई राम्रोसँग व्यवस्थित गरेको देखिँदैन । पुस्तकालय प्रमुख राजेन्द्र ढकालले भने, ‘बजेट र कर्मचारी अभावमा पुस्तकालयलाई व्यवस्थित रूपमा राख्न नसकिएको हो ।’ अन्य मन्त्रालयको तुलनामा पुस्तकलाई व्यवस्थित गरेर राखेको दाबी उनको छ । ‘सिंहदरबारभित्रका मन्त्रालयमा भएका पुस्तकालयमध्ये राम्रो र व्यवस्थित पुस्तकालय यही मन्त्रालयको हो ।’ उनले कला–संस्कृतिसँग सम्बन्धित पुस्तक धेरै रहेको जानकारी गराउँदै २५ सयभन्दा बढी किताब लाइब्रेरीमा रहेको बताए ।
कर्मचारीले किताब लगेपछि तत्काल फिर्ता नगर्ने ढकालको पनि गुनासो छ । उनले भने, ‘मन्त्रालयमै कार्यरत कर्मचारी किताब लैजान्छन् र समयमै फिर्ता गर्दैनन् ।’ उनले बजेट अभावले राम्रा पुस्तक खरिद गर्न नसकिएको पनि बताए ।
ऊर्जा तथा सिँचाइ, अर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सूचना तथा सञ्चार, कानुन, न्याय, संविधानसभा तथा संसदीय व्यवस्था मन्त्रालयले पुस्तकालयलाई केही महत्त्व दिएजस्तो देखिए पनि त्यहाँका किताब तथा पत्रपत्रिका पनि अस्तव्यस्त छन् । प्रधानमन्त्री कार्यालयको पुस्तकालयमा कार्यरत एक कर्मचारीले भने, ‘चिसो र स्थान अभावका कारण भएका पुस्तकलाई जोगाएर राख्न मुस्किल परेको छ ।’ केही महत्त्वपूर्ण ठानिएका र धेरैले पढेका किताब स्टिलको दराजमा राखिएको उनले जानकारी दिए । बाँकी किताब बोरामा कोचेर राख्नुपरेको पनि उनले बताए । केही किताबलाई भने व्यवस्थित गरिएको र कम्प्युटर प्रणालीबाट राख्ने कोसिस भइरहेको उनी बताउँछन् । ती कर्मचारीका अनुसार प्रधानमन्त्री कार्यालयको भुइँतलामा रहेको पुस्तकालयमा चिसोका कारण धेरै किताब नष्ट हुुने गरेका छन् ।
सञ्चार मन्त्रालयमा पुस्तकालयको जिम्मेवारी सम्हाल्दै आएकी उपसचिव लक्ष्मी जोशीले आफूलाई पुस्तकालयसम्बन्धी जानकारी नभएकाले भएका पुस्तक व्यवस्थित रूपमा राख्न नसकेको बताइन् । अन्यत्र देखेकै आधारमा सक्दो व्यवस्थित गर्ने कोसिस गरे पनि पुस्तकलाई चिसोबाट जोगाउन नसकेको उनको भनाइ छ । सूचना तथा सञ्चारसँग सम्बन्धित पुस्तक र अनुसन्धानका कार्यपत्र मन्त्रालयको रहेको जानकारी गराउँदै उनले भनिन्, ‘म एक्लै भएकाले पनि व्यवस्थित गर्न सकिनँ ।’ पुस्तकालयमा सबै पत्रपत्रिका आउने भएकाले मन्त्रालयका कर्मचारी पत्रिका पढ्न आउने गरेको जोशी बताउँछिन् । ‘पुस्तकालयमा बसेर कर्मचारीले किताब पढ्ने गरेको पाइँदैन’ उनले भनिन्, ‘केही पढ्न रुचि राख्नेले यहाँबाट किताब लैजान्छन् तर समयमै फिर्ता नगर्दा केही समस्या देखिएको छ ।’
कानुन, न्याय, संविधानसभा तथा संसदीय व्यवस्था मन्त्रालयले भने पुस्तकालयलाई प्रशस्तै स्थान दिएको छ । पुस्तकालयमा पुस्तक पनि प्रशस्तै छन् । पुस्तकालयमा कानुन तथा महत्त्वपूर्ण दस्ताबेज रहेको प्रमुख श्रीराम खनालले बताए । ‘९० प्रतिशतभन्दा बढी कानुनसँग सम्बन्धित किताब छन्,’ खनालले भने, ‘बाँकी सामान्य ज्ञान तथा महत्त्वपूर्ण, नाम चलेका लेखकले लेखेका पुस्तक छन् ।’ उनका अनुसार लाइब्रेरीमा १० हजारभन्दा बढी किताब रहेको र केही किताब दुर्लभ दस्ताबेज छन् ।
लाइब्रेरीमा महत्त्वपूर्ण पुस्तक भए पनि पुस्तक राखिएको दराजमा नट फर युज (प्रयोगका लागि होइन) भन्ने शब्द लेखेर टाँसिएको छ ।’ अध्ययनका लागि भन्दै पुस्तकालयबाट लगिएको पुस्तक फिर्ता नगर्ने रोगले यहाँका कर्मचारीलाई पनि सताएको उनले बताए । उनले भने, ‘मन्त्रालयका कर्मचारीले किताब लैजान्छन र एकै पटक सरुवा हुने बेलामा थोत्रो पारेर ल्याउँछन् ।’ खनालले केही पूर्वकर्मचारी र पूर्वमन्त्रीहरूले संसद् लाइब्रेरीबाट लगेको किताब अझै फिर्ता नगरेको बताए । उनका अनुसार पूर्वकानूनमन्त्री प्रेमबहादुर सिंह र प्रभु साह तथा पूर्वसचिव माधव पौडेलले लगेका एक/एक थान किताब अझै फिर्ता भएका छैनन् ।
शान्ति मन्त्रालयले पुस्तकालयका लागि एउटा सानो कुना छुट्याएको छ । मन्त्रालयका अनुसार पुस्तकालयमा शान्तिसँग सम्बन्धित विभिन्न डकुमेन्ट तथा कानुन र साहित्यका किताब छन् । ती पुस्तक आठवटा साना स्टिलको दराजमा राखिएको छ । दराजमा राखिएका किताब पनि सबै एकै खालका देखिन्छन् ।
भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयले व्यवस्थित रूपमा सञ्चालन गर्न नसकिएको भन्दै पुस्तकालय बन्द गरेको छ । लाइब्रेरीका लागि दक्ष कर्मचारी नभएको र स्थान पनि अभाव भएकाले पुस्तकालय बन्द गरिएको एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार मन्त्रालयको नाममा रहेको केही पुस्तक तथा डकुमेन्ट बोरामा पोको पारेर स्टोर रुममा थन्क्याइएको छ । ऊर्जा र सिँचाइ मन्त्रालयको लाइब्रेरीमा केही किताबलाई सुरक्षित गरेर राखेको देखिए पनि बाँकी किताब र पत्रिका भद्रगोल अवस्थामा छन् ।
पराराष्ट्रजस्तो मन्त्रालयमा भने पुस्तकालय नै छैन । मन्त्रालयमा भएका धेरै पुस्तक शीतलनिवास, नारायणहिटी हँुदै सिंहदरबार आइपुग्दा बीच बाटोबाटै गायब भएको मन्त्रालयका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार भएका केही पुस्तकलाई संरक्षण गरेर राख्न पुस्तकालय बनाइँदै छ । मन्त्रालयले दैनिक पत्रपत्रिका पढ्नका लागि भनेर दोस्रो तलाको एक कुनामा तीनवटा टेबल र केही कुर्सी राखेको छ ।
रक्षा मन्त्रालयको पुस्तकालय पनि दयनीय अवस्थामा छ । मन्त्रालयका नाममा भएका पुस्तक तथा विभिन्न डकुमेन्ट एउटा दराजमा थन्क्याएर राखिएको छ । मन्त्रालयले स्थान अभावका कारण पुस्तकालयको व्यवस्था गर्न नसकिएको प्रवक्ता द्वारिकाप्रसाद काºलेले जानकारी दिए । उनले भने, ‘एकै कोठामा दुई/तीनजना कर्मचारी कोचिएर बस्नुपर्ने अवस्थामा कसरी पुस्तकालयलाई कोठा छुट्टयाएर राख्ने ।’ मन्त्रालयमा भएका बाँकी पुस्तक पनि नहराउन् भनेर एउटा दराज तथा बोरामा पोको पारेर राख्नुपरेको उनले बताए । उनले भने, ‘खुल्लै राख्दा चोरी हुने सम्भावना भएकाले पनि स्टोरतिर थन्क्याएर राखिएको छ ।’
सामान्य प्रशासन मन्त्रालयको पुस्तकालयमा दैनिक र साप्ताहिक पत्रपत्रिका मात्र पाइन्छ । पुस्तकालय भनिए पनि त्यहाँ कुनै पुस्तक छैन । त्यस्तै, गृह मन्त्रालयमा पनि लाइब्रेरी छैन । मन्त्रालयले पुस्तकालयका लागि एउटा कोठा छुट्टयाएको छ । तर, त्यो कोठामा पनि पुस्तक नभई दैनिक तथा मासिक पत्रिका मात्र छन् । त्यो पनि दिनभर खुला नरहने मन्त्रालयका एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘पुस्तकालय लेखिएको कोठा प्राय: बन्द नै रहन्छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेको पुस्तकालयको हविगत पनि उस्तै छ । यहाँको पुस्तकालयमा किताबै देखिँदैन । देखिन्छन् त विभिन्न दैनिक तथा मासिक पत्रिपत्रिका । ती पनि व्यवस्थित गरेर राखिएको छैन । शिक्षा मन्त्रालय भर्खर केशर महलबाट सिंहदरबार सरेकाले पुस्तकालय नभएको एक कर्मचारीले बताए । उपसचिवस्तरका ती कर्मचारीले भने, ‘मन्त्रालयमा रहेका किताबलाई लाइब्रेरी बनाएर राख्ने भनिएको छ तर कहाँ र कसरी राख्ने भन्नेबारे कुनै सोचाइ बनाइसकिएको छैन ।’ त्यस्तै, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको पुस्तकालय छैन । मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले भने, ‘हामी पुल्चोकबाट यहाँ भर्खर सरेकाले सबै कुरा व्यवस्थित गर्न सकेका छैनौँ ।’
किताबको दुर्दशा
वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस्तकालयलाई स्टोर रुम बनाएको छ । विभिन्न व्यक्ति तथा संस्थाले दिएका पुस्तक मन्त्रालयको एक चिसो कोठामा थुपारेर राखिएको छ ।
महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा भएका पुराना किताब तथा अनुसन्धान प्रतिवेदनहरू साँघुरो कोठामा गुन्द्रुक खाँदेजसरी राखिएका छन् । चिसोका कारण धेरै किताब ढुसी परेर कामै नलाग्ने भएका छन् ।
सञ्चार मन्त्रालयमा पुस्तकालयको जिम्मेवारी सम्हाल्दै आएकी उपसचिव लक्ष्मी जोशी आफूलाई पुस्तकालयसम्बन्धी जानकारी नभएकाले भएका पुस्तक पनि व्यवस्थित रूपमा राख्न नसकेको बताउँछिन् ।
श्रम तथा रोजगार मन्त्रालयमा भएका केही किताब यत्रतत्र छरिएको अवस्थामा छन् । केही किताबमा ढुसी पर्नुका साथै किताबबाटै झार उम्रिएका छन् ।
प्रधानमन्त्री कार्यालयमा केही महत्त्वपूर्ण ठानिएका र धेरैले पढेका किताबहरू स्टिलको दराजमा राखिएको छ । बाँकी किताबहरू बोरामा कोचेर राखिएको छ ।
कानुन, न्याय, संविधानसभा तथा संसदीय व्यवस्था मन्त्रालयले भने पुस्तकालयलाई प्रशस्तै स्थान दिएको छ । यहाँ १० हजारभन्दा बढी किताब र केही दुर्लभ दस्ताबे भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयले व्यवस्थित रूपमा सञ्चालन गर्न नसकिएको भन्दै पुस्तकालय बन्द गरेको छ । मन्त्रालयको नाममा रहेका केही पुस्तक तथा डकुमेन्टहरू बोरामा पोको पारेर स्टोर रुममा थन्क्याइएको छ ।
परराष्ट्र जस्तो मन्त्रालयमा पुस्तकालय नै छैन । मन्त्रालयमा भएका धेरै पुस्तकहरू शीतलनिवास, नारायणहिटी हुँदै सिंहदरबार आइपुग्दा बीच बाटोबाटै गायब भए ।
रक्षा मन्त्रालयका नाममा भएका महत्त्वपूर्ण पुस्तक तथा विभिन्न डकुमेन्ट एउटा दराजमा थन्क्याएर राखिएको छ । बाँकीलाई बोरामा पोको पारिएको छ । सामान्य प्रशासन मन्त्रालयको पुस्तकालयमा दैनिक र साप्ताहिक पत्रपत्रिका मात्र पाइन्छ । पुस्तकालय भनिए पनि त्यहाँ कुनै पुस्तक छैन । त्यस्तै गृह मन्त्रालयमा पनि पुस्तकालय छैन । मन्त्रालयले पुस्तकालयका लागि एउटा कोठा छुट्याएको छ । तर, त्यो कोठामा पनि पुस्तक नभई दैनिक तथा मासिक पत्रिकामा मात्र छन् ।
प्रतिक्रिया