केन्याली आमाले जन्माइन् ‘बाराक–रोम्नी’

नैरोबी : अमेरिकी राष्ट्रपति निर्वाचनमा बाराक ओबामा र मिट रोम्नीबारे अफ्रिकी मुलुक केन्यामा कतिविधि चर्चा भयो भने त्यहाँ एक दम्पतीले आफ्ना नवजात शिशुहरूको नाम नै ओबामा र रोम्नी राखेका छन् ।
पश्चिमी केन्याको न्यान्जा प्रान्तस्थित एक अस्पतालमा दर्जनौँ आमा–बाबुले आफ्ना पुलिंगी शिशुको नाम ओबामा राखेका छन् । त्यहीँ नै मिलिसेन्ट अबुर नाम भएकी महिलाले जुम्ल्याहा शिशु जन्माएपछि आमा–बाबुले आपसी सल्लाहमा एउटाको नाम ओबामा र अर्कोको नाम रोम्नी राखिदिएका छन् ।
अबुर एक २० वर्षीया गृहिणी हुन् । उनले भनिन्, ‘मैले जुम्ल्याहा जन्माएँ र त्यसपछि उनीहरूको नाम बाराक ओबामा र मिट रोम्नी राख्ने निष्कर्षमा पुगेँ । पहिलो छोराको नाम बाराक र दोस्रोका नाम रोम्नी राखियो, ठीक त्यसरी जसरी उनीहरूले अमेरिकी निर्वाचनमा प्रदर्शन गरेका थिए ।’
अर्की एक आमा मोनिका अकिन्यीले आफ्नो छोरा ठूलो भएपछि उसमा ओबामामा जस्तै गुण/विशेषता विकसित भएको हेर्न चाहेको बताइन् । उनले भनिन्, ‘अमेरिकी राष्ट्रपतिका उपलब्धि र यहाँ हाम्रो मुलुकमा उनका कारणले भएको र भइरहेको प्रगति देखेर नै मैले आफ्ना छोराको नाम बाराक ओबामा राखेकी हुँ ।’
पूर्वीअफ्रिकी देश केन्यामा ओबामाको प्रभाव कुनै रकस्टारजस्तो छ । त्यहाँ एउटा बियरको नाम सन् २००८ मा उनको निर्वाचन–विजयपछि ‘प्रेसिडेन्ट’ राखिएको थियो । उनी राष्ट्रपति बन्नुअघि केन्यामा एउटा बियर थियो, जसको नाम थियो ‘सिनेटर’, किनभने त्योबेला ओबामा अमेरिकी सिनेटका सदस्य थिए ।
अमेरिकी राज्य हवाईमा अर्कान्सस राज्यकी श्वेत आमा र केन्याली अर्थशास्त्री अश्वेत पिताबाट जन्मेका ओबामा आमअफ्रिकीमाझ त्यसरी नै लोकप्रिय छन् जसरी आयरल्यान्डवासीहरू अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई सन् १९६० ताका रुचाउने गर्थे ।
न्यान्जास्थित अस्पतालकी एक नर्स युकाबेथका अनुसार त्यो ठाउँमा आमा–बाबुहरू आफ्ना शिशुको नाम विश्वभरिका प्रसिद्ध मानिसको नाममा राख्ने गर्छन् । सन् २००८ मै पनि निर्वाचनको क्रममा केही शिशुको नाम बाराक त केहीको नाम जो बिडेन राखिएको थियो । बाराकको अर्थ हुन्छ– आशीर्वाद प्राप्त । (बिबिसी)

प्रतिक्रिया