खुला बजार : सार्वभौम उपभोक्ता

खुला बजार अर्थतन्त्र, नियन्त्रित अर्थतन्त्र र मिश्रित अर्थतन्त्र हाल संसारमा अभ्यासमा रहेका अर्थतन्त्रका प्रमुख किसिम हुन् । खुल्ला बजार अर्थतन्त्रलाई उत्पादक तथा उपभोक्ताको द्वन्द्वात्मक सम्बन्धमा चल्ने प्रणालीका रूपमा परिभाषित गर्ने गरिन्छ । प्रतिस्पर्धी उत्पादक र विवेकशील उपभोक्ता यसका दुई सबल पक्ष हुन् । कहाँ के वस्तु उत्पादन गर्ने, कति उत्पादन गर्ने र त्यसको मूल्य कति हुने आदि विषय द्विपक्षीय कारोबारमा निर्भर गर्छ । कुनै पनि वस्तु उपभोक्ताले रुचाएनन् वा बढी उत्पादन भयो भने त्यसको मूल्यमा गिरावट आउने तथा उनीहरूले रुचाएको वस्तु र आपूर्ति कम भएका वस्तुको मूल्यमा वृद्धि हुने सामान्य नियमजस्तै हो । यसैबाट कुनै उत्पादकले कति आम्दानी गर्छ भन्ने निर्धारण हुन्छ । त्यसैले उत्पादकले मूल्य वृद्धि हुँदा उत्पादन बढाउने तथा मूल्यमा गिरावट आउँदा आपूर्तिमा कटौती गर्ने गर्छन् । माग र आपूर्तिको नियमअनुसार यस्तो भएको हो ।
सार्वभौम उपभोक्ताको अवधारणालाई सर्वप्रथम अस्ट्रि्रयन अर्थशास्त्री लुडविग भोन मिजेसले विस्तारमा प्रस्ट्याएका हुन् । तर, उक्त शब्दावली जन्माउने श्रेयचाँहि विलियम हटलाई जान्छ । उनले आफ्नो प्रसिद्ध पुस्तक इकोनोमिस्टस् एन्ड द पब्लिक मा सन् १९३६ मा यसको बारेमा पहिलोपटक उल्लेख गरेका थिए । जसमा उनले किन्सियनवादमा उत्पादक र उपभोक्ताको भूमिकाका बारेमा चर्चा गरेका छन् । मिजेसका अनुसार सार्वभौम उपभोक्ता भनेको त्यो हो जसले खुला बजारमा के उत्पादन गर्ने भन्ने सम्बन्धमा सम्पूर्ण निर्णय गर्छ । उपभोक्ताले मनी भोटमार्फत बजारमा उत्पादित वस्तुको चुनाव गर्छन् । यदि कुनै पनि उत्पादकले बजारमा रहिरहने इच्छा गर्छ भने उसले उपभोक्ताको इच्छाअनुसार चल्न सक्नुपर्छ । अन्यथा पलायन हुनुपर्ने स्थिति आउँछ । बजारमा उत्पादकको स्वस्थ प्रतिस्पर्धा हुन्छ भनिए पनि यथार्थमा त्यसो हुन गाह्रो छ । नोबेल पुरस्कार विजेता भारतीय अर्थशास्त्री अमत्र्य सेनले आफ्नो अध्ययनमा खुला बजार अर्थतन्त्र पनि नियन्त्रणबाहिर जानसक्ने र सोको घातक पक्षबारे चर्चा गर्दै भारतको प्राचीन इतिहासमा धेरै वर्षको अनिकाल तथा खडेरीमा समेत नमरेका किसान आधुनिक कालमा छोटो खडेरीमै मरेका तथा आत्महत्यासमेत गर्न बाध्य भएको उल्लेख गरेका छन् । त्यसो हुनुको प्रमुख कारण किसानले पहिलापहिला आफ्ना उत्पादनहरू भविष्यका लागि समेत संग्रह गरेर राख्थे । तर, बजारको विकास भएपछि उनीहरूले ती उत्पादन संग्रह गर्नुको सट्टा बेच्न थाले । र, चाहिएको बेलामा किन्ने सोचाइको विकास हुन थाल्यो । तर, आफूले बेच्दा कम मूल्य पाउने र किन्नुपर्दा महँगोमा पर्ने हुँदा उनीहरूको क्रयशक्तिमा पनि क्रमश: ह्रास आउन थाल्यो । जसले गर्दा उनीहरू ऋणको मारमा पर्दै गए र आखिरमा आत्महत्यासम्म गर्नुपर्ने दु:खद् परिस्थितिमा धकेलिए ।
बढ्दो विश्वव्यापीकरणले संसारलाई नै एक सिंगो गाउँजस्तो बनाइदिएको छ । जसले गर्दा सरकार आफ्नो अर्थतन्त्रमा समेत नियन्त्रण राख्न असफल हुँदै गइरहेको छ । बहुराष्ट्रिय कम्पनीहरू दिनदिनै शक्तिशाली हुँदै छन् । उनीहरू जहाँ लगानी गर्दा फाइदा धेरै हुन्छ त्यतै सरिक भइराखेका छन् । आफू स्थापना भएको समाजप्रतिको जिम्मेवारी महसुस गर्नमा ती पछि नै परेका छन् । सस्तो ज्यालादर, फितलो कामदार कानुन, नाम मात्रको मजदुर युनियन, सस्तो भाडादर, कर छुट सुविधा आदि भएको ठाउँ उनीहरूको रोजाइ हुने गरेको छ । तथापि विभिन्न देशबीच लगानी भित्र्याउने अघोषित होडबाजी जस्तै चलेको छ । प्राय: उपभोक्तामा ब्रान्ड चेतना वा भनौँ मेनियाले गर्दा कुनै एक ब्रान्डको वस्तु प्रयोग गरेपछि फर्केर अर्को ब्रान्डलाई नहेर्ने बानी रहेको पाइन्छ । यस्ता ब्रान्डका फ्यानहरूले गर्दा पनि बजारमा अर्को उत्पादनले सहज प्रवेश पाउँदैन र पहिलो वस्तुको एकाधिकार स्थापित हुनजान्छ । बजारमा वैकल्पिक वस्तुको उपस्थिति नहुँदा त्यसले मूल्य वृद्धिलाई समेत प्रोत्साहित गर्छ । जसले गर्दा क्रयशक्ति कम हुने उपभोक्ताहरूका लागि अरू विकल्प बाँकी नरहन सक्छ र उनीहरू वस्तुको छनोट गर्नबाट वञ्चित गराइन्छन् । यो नै खुला बजारको सिद्धान्त र व्यवहारबीचको वास्तविक अन्तरका साथै तीतो सत्य पनि हो । प्रसिद्ध नोबेल विजेता अर्थशास्त्री जोसेफ स्टिग्लिज आफ्नो पुस्तक फ्रिफलमा लेख्छन्, प्रत्येक सफल अर्थतन्त्रका पछाडि प्रतिस्पर्धी बजारको भूमिका हुन्छ । तर, त्यो बजारले आफैँमा राम्रो काम गर्ने होइन । त्यसैले उनी पनि किन्सजस्तै बजारमा सरकारको सन्तुलित भूमिका हुनुपर्नेमा जोड दिन्छन् ता कि बजारलाई असफल हुनबाट समयमै रोक्न तथा अर्थतन्त्रलाई सम्भावित दुर्घटनाबाट बचाउन सकियोस् । हालको विश्वव्यापी आर्थिक मन्दीलाई उनी संसारकै ठूलो अर्थतन्त्र अमेरिकाले अवलम्बन गरेको अनियन्त्रित खुला बजार नीतिको उत्पादन मान्छन् जसबाट संसारका प्राय: अर्थतन्त्रहरू प्रभावित बनेका छन् ।

प्रतिक्रिया