कुनै बेला यस्तो थियो– सौन्दर्य प्रतियोगिताका नाममा ‘मिस नेपाल कन्टेस्ट’ बाहेक अरू विकल्प थिएनन् । यस्ता प्रतियोगितामार्फत नारीलाई बिकाउ वस्तुजसरी प्रस्तुत गर्न खोजिएको भन्दै विरोधका स्वर पनि प्रशस्तै सुनिन्थ्यो । यसविरुद्ध आयोजकहरू नारीको व्यक्तित्वविकाससँग जोडेर सौन्दर्य प्रतियोगिताको औचित्य पुष्टि गर्ने प्रयास गरिरहन्थे । तर, मुलुकको पछिल्लो राजनीतिक परिवर्तनसँगै यस्ता प्रतियोगिताले राम्रै गरी मौलाउने मौका पाए । सुन्दरीहरूसँग टाइटल जित्ने विकल्पहरू प्रशस्त हुँदै गए । परिणाम– हिजोआज हप्तैपिच्छे कुनै न कुनै सुन्दरी प्रतियोगिता चलिरहेका हुन्छन् । जातीय, क्षेत्रीय तथा वर्गीयताका आधारमा सञ्चालन हुने यस्ता प्रतियोगिताले ग्ल्यामर क्षेत्रका प्रतिनिधिका रूपमा थुपै्र प्रतिभा उत्पादन गरिरहेका हुन्छन् । प्रतियोगी छान्ने प्रक्रिया विवादास्पद पनि हुन्छन् बेलाबखत । जसरी छानिए पनि यस्ता युवतीमध्ये प्राय: सबैको सपना हुन्थ्यो, म्युजिकभिडियो, मोडलिङ तथा चलचित्रमार्फत सफल अभिनेत्री बन्न लागिपर्ने । काँचको रंगीन दुनियाँमा रमाउन चाहनेहरूले योग्यता विकासको महत्त्वपूर्ण भर्याङका रूपमा लिने गर्थे सौन्दर्य प्रतियोगितालाई । त्यसो त पढ्दापढ्दै यस्ता प्रतियोगितामा लाग्ने अनि चलचित्रतिर रुमल्लिँदा अध्ययनको पाटो पूरै चौपट पनि पारेका छन् थुप्रै सुन्दरीले । त्यसैले पनि होला, पछिल्लोपटक यस्ता प्रतियोगिता जित्ने सुन्दरीहरूको चलचित्रतिरको मोह घट्दै गएको छ । उनीहरूको सपना अघिल्ला सुन्दरीहरूको सपनाभन्दा भिन्न हुँदै गएको छ । उनीहरू तत्काललाई अध्ययनमै रमाउन चाहन्छन् । अध्ययनमा सफल भएपछि मात्रै ग्ल्यामरक्षेत्रतिर लाग्नेबारे सोच्न सकिने बताउँछन् । यस्तै सोच राख्छन्, भर्खरै सम्पन्न इकलेज सुन्दरीका शीर्ष तीन विजेता पनि । भन्छन्– चलचित्र अनि म्युजिकभिडियो हाम्रो तत्कालको सपना होइन । मिस इकलेज २०१२ की विजेता ग्रीष्मा बस्नेत, फस्ट रनरअप दिव्या भण्डारी र सेकेन्ड रनरअप प्रकृति क्षत्रीको योजनाबीच समानता छ– ‘अहिले करियर बनाउने बेला हो, त्यसका लागि पढाइमै जोड दिनुपर्छ, अध्ययनबिना जुनसुकै क्षेत्रमा टिक्न र बिक्न कठिन छ ।’
स्थापित मोडल अनि नायिकाहरू महँगा हुन्छन् । अनि दर्शकका लागि ‘मोनोटोनस’ पनि बन्न थालिसकेका हुन्छन् । यी समस्याबाट मुक्ति पाउन निर्माता–निर्देशक नयाँ अनुहारको खोजीमा लाग्छन् । सौन्दर्य प्रतियोगिताहरू यस्ता नयाँ ग्ल्यामरस प्रतिभा उत्पादन गर्ने महत्त्वपूर्ण केन्द्र हुन्छन् । निर्माता–निर्देशकको ध्यान पनि यतातिर तानिएकै हुन्छ । विशेष गरी म्युजिकभिडियो निर्देशकहरूको छनोटमा परिहाल्छन्, नयाँ सुन्दरी ।
उपाधि जित्नासाथ ग्रीष्मालाई पनि ग्ल्यामर क्षेत्रले निकै बोलायो । अवसरका थुप्रै ढोका खुले । यही क्षेत्रमा लागेर नाम र करियर बनाउने मोह उनलाई पनि नभएको होइन । तर, यतातिर लागेपछि अध्ययन चौपट पारेका अग्रजहरूको दृष्टान्तले उनलाई रोकिहाल्छ । त्यसैले उनी बेलैमा सजग हुन चाहन्छिन् र पढाइलाई प्राथमिकता दिइरहेकी छिन् । त्यसपछि भने उनको यात्रा ग्ल्यामरक्षेत्रतिरै मोडिनेछ, फेसन डिजाइनरका रूपमा । फेसनमै किन त ? उनले भनिन्– ‘यो मेरो सानैदेखिको चाहना हो ।’ उनका विचारमा नेपालको फेसन क्षेत्रले चाहेजति विकास गर्न सकेको छैन र यसले मेहनती हातहरू पर्खिरहेको छ । त्यसो त विराटनगरकी स्थायी बासिन्दा ग्रीष्मा आफूलाई एउटै मात्र क्षेत्रमा सीमित राखिरहन चाहन्नन् । त्यसैले केही वर्षपछि चलचित्र वा म्युजिकभिडियोतिर पनि लाग्न सक्ने संकेत उनले गरिन् । प्रतियोगिताले आफ्नो पर्सनालिटी डेभलप गरेको अनि थुप्रै कुरा सिकाएको उनलाई लाग्छ । अध्ययनकै अभावमा नेपाली चलचित्र स्टारहरूको पर्सनालिटी चम्किलो नभएको र चलचित्र पनि हलिउड र बलिउडका कपी जस्तो मात्रै भएको उनले ठम्याइन् । गीत सुन्ने र डान्स गर्ने सोख पालेकी यी सुन्दरी ममीको प्रेरणाले प्रतियोगितामा सामेल भएकी रे † सुरुमा कलेजका शिक्षकहरूले त्यति सपोर्ट नगरे पनि उपाधि जितेपछि भने सबैले मन पराएको उनले पाइन् । ‘सिम्प्लिसिटी’लाई नै महिलाको वास्तविक सुन्दरता मान्ने उनले थाइल्यान्ड र मलेसियाको भ्रमण गरिसकिन् । अब हङकङ जान चाहन्छिन् । फुर्सदका बेला अनलाइन च्याटिङ गर्न खुब मन पराउँछिन् । अहिलेका टिनएजरमा स्कुलेजीवनदेखि नै प्रेमीप्रेमिका बनाउने लहड चलेको हुन्छ । ‘अहँ म त त्यतातिर सोच्दै सोच्दिनँ’, ग्रीष्मा सुनाउँछिन्, ‘अहिले त पढाइलाई नै ध्यान दिनुपर्छ ।’
सोही प्रतियोगिताकी फस्र्ट रनरअप दिव्या पनि अहिलेसम्म आफूले ब्वाइफ्रेन्ड नबनाएको सुनाउँछिन् । कारण उनको पनि उस्तै छ– ‘अहिले अध्ययन र करियर बनाउने बेला हो, ब्वाइफ्रेन्ड होइन ।’ काडमाडौं धापासी ४ की उनी भविष्यमा सफल भिजे बन्न चाहन्छिन् । अध्ययन पूरा गरेपछि भने चलचित्र अनि म्युजिकभिडियोतिर पनि लाग्न सकिने उताउँछिन् । तर, चलचित्र पनि छानेर मात्र हेर्ने बानीकी उनी अन्धाधुन्द हामफाल्ने सुरमा भने छैनन् । ‘पहिले कथावस्तु र त्यसमा अभिनय गर्ने कलाकार हेर्छु, अनि मात्र निर्णय लिन्छु’, उनले भनिन् । विगतका घटना अनि उदाहरण हेरेर ठीक–बेठिक छुट्याउन सजिलो पनि भएको छ अहिलेका सुन्दरीहरूलाई । अन्तर्राष्ट्रिय ब्युटी प्रतियोगितामा भाग लिने सपना पनि छ दिव्यासँग । बढ्दो उमेरसँगै उनी आफ्ना केही बानी करेक्सन पनि गर्न चाहँदी रहिछन् । रिसाएपछि ठूलो स्वरले कराउन थाल्ने आफ्नो बानी उनलाई पटक्कै मन पर्दो रहनेछ । बिजनेससम्बन्धी अध्ययन गरेर भविष्यमा व्यापारव्यवसायसहित ग्ल्यामर क्षेत्रमा पनि अघि बढ्न चाहन्छिन् दिव्या । सँगसँगै समाजसेवी पनि बन्न चाहन्छिन् । आकर्षक अनुहारकी यी सुन्दरीका आँखा र ओठ निकै आकर्षक लाग्छन् । कसैले ‘सेक्सी’ भनिदियो भने उनको प्रतिक्रिया के होला ? ‘के गर्नु, थ्यांक्यु भन्छु’, उनले मुस्कुराउँदै भनिन्, ‘यो त प्रशंसा नै गरेको हो नि †’ अनि लजाएजस्तो गरिन् ।
अध्ययन पूरा गरिसकेपछि भने ग्ल्यामर क्षेत्रमै आउने योजना छ, सेकेन्ड रनरअप प्रकृतिको पनि । उनी पनि फेसन डिजाइनरै बन्न चाहन्छिन् । सबैको आँखामा पर्न र चर्चा कमाउन उनले ब्युटी प्रतियोगितामा भाग लिएकी रहिछन् । अरू दुई सुन्दरी जस्तै प्रकृतिले पनि अहिलेसम्म ब्वाइफ्रेन्ड बनाएकी छैनन् रे † अरूको नजरमा आकर्षक देखिनुलाई सुन्दरता बुझेकी उनी फुर्सदको समयमा टेलिभिजन कार्यक्रम हेर्न मन पराउँछिन् । ‘साथीहरूलाई छिट्टै विश्वास गरिहाल्नु मेरो नराम्रो बानी हो’, उनले आफ्नो कमजोरी सुनाइन्– ‘त्यसैले कयौँ पटक दु:ख पनि पाएकी छु ।’
प्रतिक्रिया