बाग्लुङ, २२ कात्तिक । पर्वतमा सरुवा भएर आएदेखि नै कर्मचारीबीच विवादमा पर्दै आएका एलडिओ कृष्णप्रसाद लम्सालले मनोमानी रूपमा कर्मचारी हेरफेर गरेका छन् ।
राजनीतिक आस्थाका आधारमा आफूनिकट मानिएका गाविस सचिवलाई उनीहरूले रोजेको गाविसमा र अन्य गाविस सचिवलाई अपायक र दुर्गम गाविसमा सरुवा गरेपछि सचिवहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेसनिकट मानिने सचिवलाई रोजेको गाविस र अन्य राजनीतिक आस्था भएका सचिवलाई दुर्गम र अपायक गाविसमा सरुवा गरेपछि विवाद बढ्दै गएको छ । कतिपय गाविस सचिवले आफूसँग एलडिओले व्यक्तिगत रूपमा रकम मागेको र नदिएपछि सरुवा गरिदिएकोसमेत आरोप लगाएका छन् । कार्यालयका आफू निकटका कर्मचारी लगाएर सचिवसँग रकम असुल्न खोजेको आरोपसमेत उनीहरूको छ । सचिवसँग सामान्यता दुई हजारदेखि १० हजार रुपियाँसम्म माग गरेको नाम नबताउने सर्तमा एक गाविस सचिवले बताए ।
सामान्यता एउटा कार्यालयमा काम गर्ने कर्मचारीको न्यूनतम अवधि दुई वर्षको भए पनि एलडिओ लम्सालले कतिपय गाविसमा कार्यरत सचिवलाई समयावधि नै नपुग्दै हेरफेर गरेका छन् । स्रोतका अनुसार मागेको रकम नदिनेलाई जबर्जस्ती दुर्गम गाविसमा सरुवा गरेका हुन् ।
कतिपय सचिव गाविसका समस्या लिएर जिविसमा जाँदा एलडिओले सरुवा गरिदिने धम्की दिने गरेका थिए । गाउँ विकास समितिको भवन निर्माणका लागि जिल्ला विकास समितिमा रकम माग गर्न जाँदा सरुवा गरिदिने धम्की दिएको मुडिकुवा गाविसका सचिव बालमुकुन्द घिमिरेले बताए । उनले राजनीतिक आस्था नमिलेका कारण आफूलाई सरुवा गरेको दाबी गरे । उनलाई मुडिकुवाबाट खानीगाउँ सरुवा गरिएको छ ।
प्राय: कर्मचारीको हेरफेर साउन र फागुनमा हुने गरेको छ । तर, एलडिओ लम्सालले भने बेमौसममै कर्मचारीलाई हेरफेर गरेर गाविसका कामकाजसमेत प्रभावित गर्न खोजेको असन्तुष्ट सचिवहरूको आरोप छ । कात्तिक र मंसिर महिनाभित्र गाउँ विकास समितिको योजना तर्जुमाको काम सकेर गाउँपरिषद् गर्नुपर्ने समय भएको र यही समयमा एलडिओको एकलौटी निर्णयमा सरुवा गर्नु सान्दर्भिक नभएको गाविस सचिव हकहित संरक्षण केन्द्रका कार्यबाहक अध्यक्ष केशवप्रसाद पौडेलले बताए । उनले आफूसँग समन्वय नगरी सबै गाविसका सचिवलाई हेरफेर गरिएकोप्रति आपत्तिसमेत जनाए । सरुवा गर्ने बेलामा सामान्यतया सहमति गरेर सरुवा निकालिने भए पनि अहिले सोधपुुछविनै गरिनु पूर्वाग्रह भएको उनको भनाइ छ ।
सचिवका साथै जिल्ला विकास समितिकै आन्तरिक स्रोतबाट राखिएका केही कर्मचारीलाई समेत राजनीतिक दलको दबाबमा निष्कासन गर्ने रणनीतिमा लागेर एलडिओ विवादमा तानिएका छन् । एलडिओ लम्सालले लामो समयदेखि फेरबदल हुन नसकेको र आफू जिल्लामा आइसकेपछि दलहरू र कर्मचारीसँग सम्बन्धित संघसंगठनसँगको सामान्य परामर्शमा आफूले सरुवा गरेको बताए ।
लम्सालले कुनै पूर्वाग्रह नराखी सचिवलाई मर्का नपर्ने गरी सरुवा गरेको दाबी गरे । एलडिओ लम्सालले भने, ‘सामान्य सिद्धान्त र मापदण्ड बनाएर सरुवा गरिएको छ, सरुवाबाट कुनै सचिवलाई पनि मर्का परेको छैन ।’ उनले सचिवको सम्बन्धित गाविसको कार्यावधि, जागिरको समयावधि, उमेर, घरपायक सबै मिलाएर सरुवा गरिएको बताए । सधैँ एउटै गाविसमा काम गरिरहँदा कार्यशैलीमा सुस्तता आउने हुनाले सचिवको पुनर्ताजगीका लागि पनि सरुवा गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया