काठमाडौं : सत्तारूढ दलहरूसम्बद्ध ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ले तिहारअघि नै बजेट ल्याउने निर्णय गरेको छ । गठबन्धनले तिहारअघि नै राष्ट्रपतिकहाँ बजेट सिफारिस गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अर्थमन्त्री वर्षमान पुनलाई निर्देशनसमेत दिएको छ ।
सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले दलहरूबीच सहमति नजुटे पनि मंसिर पहिलो सातासम्ममा बजेट जारी गर्ने गरी तिहारअघि नै राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय गरेको हो । तिहारअघि नै दलहरूबीच सहमति जुटाएर राष्ट्रपतिकहाँ बजेट सिफारिस गर्ने निर्णय भएको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले बताए । प्रवक्ता सिंहले बजेटविना देशको अर्थतन्त्र चल्न नसक्ने बताउँदै बजेट सरकारको मात्रै विषय नभएकाले अरू दल पनि सहमतिमा आउने विश्वास व्यक्त गरे । उनले भने, ‘दलहरूबीचको सहमतिमै बजेट ल्याउने कुरालाई पहिलो प्राथमिकता दिइएको छ ।’ बैठकपछि तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सहमतिमै बजेट आउने बताए । सहमतिमै बजेट ल्याउन विपक्षी दलहरूसँग छलफल जारी राखिने अध्यक्ष ठाकुरको भनाइ छ ।
बैठकमा गठबन्धनका अध्यक्षसमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमालेसँग भएको छलफलबारे जानकारी गराएका थिए । अध्यक्ष दाहालले अरू दलले संविधानसभा पुन:स्थापनाभन्दा निर्वाचनमै जोड दिएको उल्लेख गर्दै निर्वाचनमा गए वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरूप दिएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । अध्यक्ष दाहालले सहमति भएका विषयमा संविधान घोषणा गरी व्यवस्थापिका संसद्को निर्वाचन हुने विकल्पको पनि सम्भावना उत्तिकै रहेको समेत बैठकमा बताएका थिए ।
अर्थमन्त्री वर्षमान पुनले बजेटका सबै पक्षबारे ब्रिफिङ गरेका थिए । अर्थमन्त्री पुनले बजेटका विषयमा विपक्षी दलका शीर्ष नेताहरूसँग छलफल भइरहेको बताएका थिए । एमाले अध्यक्ष झलनाथ खनालसँग भएको भेटवार्ताबारे जानकारी गराउँदै कांग्रेस सभापति सुशील कोइरालासँग पनि छलफल गर्ने जानकारी गराएका थिए ।
प्रधानमन्त्री भट्टराईले पनि दलहरूबीचको छलफल, बजेट र सरकारको कामबारे जानकारी गराएका थिए । बैठकले बजेटलगायत विषयमा दलहरूबीच सहमति जुटाउन छलफललाई निरन्तरता दिने निर्णय गर्दै त्यसको पहलकदमी गर्न अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराईलाई निर्देशनसमेत दिएको गठबन्धनका प्रवक्ता सिंहले जानकारी दिए । (सौस)
प्रतिक्रिया