दुबई : घरजग्गा र ठुल्ठूला भवन निर्माण गर्ने रियल्टी डेभलपरहरू एक अर्ब डलर लागतमा दुबईमा ताजमहलको प्रतिकृति निर्माण गर्ने योजनाअनुरूप काम गरिरहेका छन् । तर, यो निर्माण मूल स्मारकभन्दा चारगुणा ठूूलो हुनेछ । यसको नाम ‘ताज अरेबिया’ हुनेछ भने यसभित्र तीन सय कोठा भएको एउटा होटलका अतिरिक्त १० लाख वर्गफुटको खाली क्षेत्र रहनेछ । ताजमहल प्रतिकृति निर्माण परियोजनामा काम गरिरहेको कम्पनी लिंक ग्लोबलले जनाएअनुसार दुबईस्थित ३६.५ अर्बको फाल्कन सिटी अफ वन्डर्समा ताजमहलको प्रतिकृति निर्माण गर्ने योजना छ । फाल्कन सिटी अफ वन्डर्स दुबईमा विकसित गर्न थालिएको एक बृहत् बहुउद्देश्यीय परियोजना हो ।
समाचारअनुसार यो प्रतिकृति बनेर तयार भइसकेपछि यसको आकार भारतको आगरास्थित ताजमहलको आकारभन्दा चारगुणा ठूलो हुनेछ । लिंक ग्लोबल कम्पनीले तीन सय कोठा भएको होटलको व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय होटल सञ्चालकसित कुराकानी पनि गरिरहेको छ । कम्पनीका निर्देशक अरुण मेहराका अनुसार यो परियोजना सन् २०१४ सम्म पूरा भइसक्ने सम्भावना छ । एकपटक यसरी विशाल स्तरमा ताजमहलको प्रतिकृति तयार भइसकेपछि आगरामा बसोवास गरिरहेका मानिसको जीविका प्रभावित हुने सम्भावना पनि उत्तिकै छ । (एजेन्सी)
प्रतिक्रिया