त्रिविको पढाइ, परीक्षा र रिजल्ट अस्तव्यस्त

काठमाडौं, २० कात्तिक । देशको ठूलो विश्वविद्यालयको त्रिभुवन विश्वविद्यालयले बनाएको शैक्षिक क्यालेन्डर अलपत्र परेको छ । पाँच वर्ष लगाएर तयार पारिएको क्यालेन्डर लागू हुन नसक्दा त्रिविको पढाइ र परीक्षा अस्तव्यस्त बनेको छ ।

त्रिविको उच्चशिक्षा परियोजनाले तयार पारेर बुझाए पनि परीक्षा नियन्त्रण कार्यालयले क्यालेन्डरअनुसार परीक्षा गर्न सकेको छैन । क्यालेन्डर कार्यान्वयन नहँुदा शैक्षिक सत्र पछाडि धकेलिँदै गएको छ । त्रिविले न समयमा पढाइ सञ्चालन गर्न सकेको छ न त परीक्षा र रिजल्ट ।
स्नातकोत्तर प्रथम वर्षको परीक्षा साविकभन्दा ४ महिनापछि सञ्चालन भयो । वैशाख पहिलो साता सुरु भएर जेठ दोस्रो साता सकिनुपर्ने परीक्षा भदौ दोस्रो साता मात्र सुरु भएको थियो । यस्तै स्नातकोत्तर दोस्रो वर्षको पढाइ ०६९ को जेठ पहिलो साता सञ्चालन भएर फागुन अन्तिम साता परीक्षा भई चैत अन्तिम साता सकिनुपर्ने क्यालेन्डरमा उल्लेख गरिएको छ । तर, अहिलेसम्म पनि कक्षा सञ्चालन हुन सकेको छैन ।
क्यालेन्डरअनुसार स्नातक पहिलो वर्षको परीक्षा साउनमा गरे
पनि परीक्षाफल मंसिरमा निकाल्न सक्ने अवस्था छैन । दोस्रो वर्षको पढाइ भदौमा सञ्चालन हुनुपर्ने भए पनि असोजमा आएर मात्र सुरु भएको छ । विगतमा क्यालेन्डर लागू नहुँदा अहिले स्नातक द्वितीय वर्षमा दुई ब्याच सँगै पढिरहेका छन् । यस्तै, दोस्रो वर्षको परीक्षा आगामी जेठमा गर्ने भने पनि अझै ०६७–७० ब्याचको दोस्रो वर्षको परीक्षा हुने कुनै छाँटकाँट छैन । स्वायत्त निकायका रूपमा रहेका चिकित्सा, इन्जिनियरिङ, कृषि तथा वनमा भने क्यालेन्डरअनुसार कक्षा सञ्चालन भएका छन् ।
त्रिविका रेक्टर गुणनिधि न्यौपानेले विद्यार्थी राजनीति र दक्ष कर्मचारी नभएका कारण क्यालेन्डर लागू गर्न कठिनाइ भएको बताए । क्यालेन्डर लागू गर्न खोजिरहेको भए पनि नसकेको उनको स्वीकारोक्ति छ । ‘विद्यार्थी पनि बढ्दै छन्,’ उनले भने, ‘कर्मचारी सीमित भएका कारण समयमा विद्यार्थी भर्ना गर्न सकिएको छैन ।’
क्यालेन्डरअनुसार शैक्षिक सत्र सञ्चालन नहुँदा विद्यार्थीको अध्ययन एक वर्ष पछि धकेलिएको छ । ०६८ सालमा हुनुपर्ने स्नातकोत्तर प्रथम वर्षको भर्ना अहिले हुँदै छ । शैक्षिक क्यालेन्डर बनाउने जिम्मा पाएको उच्च शिक्षा परियोजनाले तयार पारेको क्यालेन्डर पनि छपाइ नै नगरी वितरण गरेको थियो । ‘तयार पारेका थियौँ तर लागू हुने छाँटकाँट नदेखेपछि छपाइ गरेनाँै,’ स्रोतले भन्यो, ‘कार्यान्वयन नहुने भएपछि किन छाप्ने ?’ अहिलेको क्यालेन्डर लागू भए ०७१ सम्म सबै संंकायलाई ठीक ट्रयाकमा ल्याउन सकिने अवस्था थियो । तर, लागू नै नभएपछि एक शैक्षिक सत्र धकेलिन पुगेको हो ।
परीक्षा नियन्त्रण कार्यालयका सह–नियन्त्रक वैकुण्ठ खनालले प्राविधिक विषयको मात्र क्यालेन्डरअनुसार परीक्षा भएको बताए । तत्काल शैक्षिक क्यालेन्डरअनुसार परीक्षा लिन र परीक्षाफल प्रकाशन गर्न नसक्ने उनको भनाइ छ । ‘अहिल्यै लागू गर्ने अवस्थामा छैनाँै,’ खनालले भने, ‘क्यालेन्डरको नजिक पुग्ने प्रयासमा छौँ ।’
परीक्षा नियन्त्रण कार्यालयले पाँचै संकायको परीक्षा लिन र परीक्षाफल प्रकाशन गर्न सकेको छैन । क्याम्पसको लापरवाहीले गर्दा पनि ढिला हुने गरेको कार्यालयले जनाएको छ । क्याम्पसले क्रमअनुसार विद्यार्थीको फारम नपठाउने, परीक्षामा क्रमसँग हाजिर नगराउनेजस्ता कार्यले गर्दा पनि परीक्षाफल प्रकाशन गर्न ढिलो भएको सह–नियन्त्रक खनालले बताए । पुरानो जनशक्ति पनि समस्याको कारकका रूपमा रहेको छ ।
त्रिविको नियमानुसार परीक्षा भएको ६ महिनाभित्र परीक्षाफल प्रकाशन गर्नुपर्ने हुन्छ तर अहिलेसम्म त्यो हुन सकेको छैन । त्रिविमा भर्ना नै समयमा नहँुदा सबै अस्तव्यस्त भएको हो । अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष हिमाल शर्माले परीक्षा नियन्त्रण कार्यालयले क्यालेन्डर लागू गर्न नसकेको बताए । पुरानो संरचनामा अडिएको पनिकाकै कारण पनि रिजल्ट समयमा हुन नसकेको उनको भनाइ छ । यता, अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले क्यालेन्डर कार्यान्वयन गर्न पटक–पटक दबाब दिँदा पनि हुन नसकेको गुनासो गरे । त्रिविका पदाधिकारीकै कारण क्यालेन्डर लागू हुन नसकेको उनले आरोप लगाए ।

प्रतिक्रिया