काठमाडौं, १९ कात्तिक । कांग्रेसले पार्टी निर्णयको विरोधमा लाग्ने जो–कोहीलाई कारबाही गर्ने चेतावनी दिएको छ । पार्टी सभापति सुशील कोइरालाले जनचाहनाबमोजिम चुनावमा जाने निर्णय पार्टीले गरेको स्पष्ट पार्दै यसविरुद्ध लाग्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।
पार्टी निर्णयविरुद्ध लाग्नु अनुशासनहीन कार्य भन्दै सभापति कोइरालाले यस्तो प्रवृत्ति जारी रहे सहेर नबस्ने चेतावनी दिए । कांग्रेस केन्द्रीय समितिको बैठकले १५ कात्तिकमा वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलको असहमतिका बीच संविधानसभा पुन:स्थापनाको ढोका बन्द गरी चुनावमा जाने निर्णय गरेको थियो । त्यसको भोलिपल्टै कांग्रेसका ७८ जना पूर्वसभासद्ले चुनावमा जाने पार्टी निर्णय त्रुटिपूर्ण रहेको भन्दै सच्चाउन माग गरेका थिए ।
‘पार्टी निर्णयविरुद्ध लाग्नु अराजकता र अनुशासनहीनता हो,’ भक्तपुरमा शनिबार कांग्रेसका नगर सभापतिहरूको भेलामा कोइरालाले भने, ‘जनताले चुनावमा जाने चाहना राखेका छन् । पार्टी अनुशासन नमान्नेको कदमलाई खपेर बस्न सकिँदैन ।’
सभापतिसँगै भेलामा पुगेका वरिष्ठ नेता देउवा र उपसभापति पौडेलले चुनावमा जाने निर्णयको विरोध भने गरेनन् । केन्द्रीय समितिको बैठकमा उनीहरूले संविधानसभा पुन:स्थापनालाई विकल्पमा राख्नुपर्ने अडान लिएका थिए । संविधानसभाको नयाँ चुनावमा जाँदा पनि नयाँ संविधान बन्ने आधार नभएको देउवाले बताए । चुनाव गरी खर्च बढाउनुभन्दा विवादित विषयमा सहमति गरी संविधान जारी गर्न मात्रै पुन:स्थापनामा जानुपर्छ भनेको उल्लेख गर्दै देउवाले चुनावमा जाने पार्टी निर्णयविरुद्ध नलाग्ने जनाउ दिए । पार्टीले प्रस्ट निर्णय नलिँदासम्म दलीय सहमतिलाई फराकिलो पार्न अन्य विकल्पमा जोड दिएको भन्दै उपसभापति पौडेलले अबको जोड चुनावमै हुने प्रस्ट्याए ।
नगर सभापतिहरूलाई संघीयता, नेतृत्व विकास, पार्टीको इतिहास, पार्टीका भावी कार्यक्रम तथा पार्टीले राष्ट्रिय राजनीतिमा निर्वाह गर्नुपर्ने भूमिकालगायत विषयमा प्रशिक्षण दिइने पार्टीले जनाएको छ ।
निर्णयविरुद्ध नजान पूर्वसभासद्लाई निर्देशन
काठमाडौं : कांग्रेसले चुनावमा जाने निर्णयविरुद्ध पूर्वसभासद्का नाममा संविधानसभा पुन:स्थापनाको माग गरिनु पार्टीको अनुशासन र आचारसंहिताविपरीत भएको जनाएको छ ।
पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले शनिबार विज्ञप्तिमार्फत चार वर्ष पाँच महिना बिते पनि संविधानसभाबाट संविधान नबनेपछि अन्य दलसँग सहमति जुटाई चुनावमा जान गरेको निर्णयविरुद्ध नलाग्न निर्देशन दिएका छन् । ‘कुनै सम्भावना नदेखिएपछि अब पनि लामो समय छलफल लम्ब्याइरहनुको सट्टा नयाँ संविधानसभा/संसद्को चुनावमा जानु नै देश, जनता र लोकतन्त्रको पक्षमा एक मात्र उपयुक्त कदम हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
१५ गते बसेको केन्द्रीय समितिको बैठकले संविधानसभा/ संसद्को चुनावमा जाने निर्णय गरेको भोलिपल्ट पार्टीका ७८ जना पूर्वसभसद्ले निर्णय सच्चाउन माग गरेका थिए । पूर्वसभासद्को नाममा बेनामी विज्ञप्ति जारी गरेकामा पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि कांग्रेसले जनाएको छ ।
सर्वसम्मत निर्णय भइसकेपछि त्यसविरुद्ध कसैले पनि सार्वजनिक रूपमा अनुशासन र आचारसंहिताविपरीत कुनै पनि गतिविधि नगर्न/नगराउन कांग्रेसले विज्ञप्तिमार्फत सचेत गराएको छ ।
प्रतिक्रिया