माओवादी हाउगुजी

हामी स्कुल पढ्दा माओवादी ‘जनयुद्ध’ पश्चिमी जिल्लाहरूमा नै केन्द्रित थियो । त्यसबेला माओवादीबारे जान्ने स्रोत भनेकै रेडियो नेपाल, बिबिसी र नेपाल टेलिभिजन थियो । त्यहाँ आएकै समाचारको भरमा हामी माओवादीप्रति आफ्नो दृष्टिकोण निर्माण गथ्र्यौं । अरू ठूला मान्छेहरू पनि त्यसै गर्थै । यतिसम्म कि हाम्रो ‘पुलिस–माओवादी’ खेलमा पनि माओवादीहरू मारिन्थे भने पुलिसले सहादत प्राप्त गर्दथ्यो । तर, हामी खेलमा माओवादी हुन हानथाप गर्दथ्यौँ । माओवादीले पुलिसलाई जित्छ भन्ने हाम्रो धारणा थियो ।
त्यतिञ्जेल हामीले माओवादी देखेका थिएनौँ । माओवादी कस्ता हुन्छन् भन्ने सबैको जिज्ञासा थियो । त्यतिबेलै तिर रेडियो नेपाल, नेपाल टेलिभिजन र बिबिसीबाहेक स्रोतबाट पनि माओवादीबारे हल्ला आउन थाल्यो । ती हल्ला कहाँ उत्पादन हुन्थे र कसरी गाउँसम्म आइपुग्थे भन्ने कसैलाई थाहा थिएन । ती हल्ला बोकेर गाउँ कसले ल्याउँथ्यो पनि थाहा हुँदैन थियो । मात्र हल्ला आउँथे, हल्ला सुनेर हामी माआोवादीप्रति दृष्टिकोण बनाउँथ्यौँ । ती हल्ला यसरी आउँथे –
– माओवादीले आर्मीले जस्तै कपाल काटेका हुन्छन् ।
– माओवादीहरू लाजपचेका हुन्छन्, केटा र केटीसँगसँगै हिँड्छन र जंगलमा सँगै सुत्छन् ।
– माओवादीले अरूलाई त्यसै दु:ख दिँदैनन् र अरूलाई सताउनेलाई कारबाही गर्छन् ।
– माओवादीले ढाडमा गह्रौँ झोला बोकेका हुन्छन् ।
– माओवादी बलिया हुन्छन् ।
– माओवादीले गोल्डस्टार जुत्ता लगाएका हुन्छन् ।
यी हल्ला ‘अथेन्टिक’ थिएनन् । हामी रेडियो नेपाललाई नै विश्वास गथ्यौँ । त्यसैले हाम्रो नजरमा माओवादी क्रुर, हिंस्रक, डरलाग्दा र आपराधिक नै हुने गर्दथे  । आर्मीको जस्तो कपाल काटेका, बलिया र गोल्डस्टार लगाएका तन्नेरी हामीलाई माओवादी लाग्न थालेको थियो । गोल्डस्टार जुत्ता उनीहरूको पहिचान थियो हाम्रा लागि । त्यसो त गोल्डस्टार जुत्ता किन्दा पुलिसको फन्दामा माओवादी परेको खबर पनि हामी बेलाबेला पाउँथ्यौँ ।
गाउँमा फेरि हल्लाहरू आए…
– माओवादीले तास खेल्नेलाई समातेर लैजान्छन् ।
– माओवादीले जाँडरक्सी खानेलाई भाटे कारबाही गर्छन् ।
– माओवादीले केटाहरूलाई कपाल पाल्न र कुण्डल लगाउन दिँदैनन्
– माओवादीले केटीहरूलाई पेन्ट लगाउन दिँदैनन् ।
– माओवादीले गाउँमा धेरै ब्याज लिनेलाई कारबाही गर्छन् ।
यी पनि हल्ला नै थिए । त्यसबेलासम्म हामीलाई माओवादी भनेकै समाचार र हल्लामा मात्र आउने चिज लाग्थ्यो । अन्जान स्रोतबाट आउने यी हल्ला पश्चिममा निक्कै चल्न थालेको थियो । हामी जति ठूला हुँदै जान्थ्यौँ हल्लाको घनत्व त्यति बढ्ने गर्दथ्यो । यी हल्लाले बिस्तारै माओवादीप्रति गाउँलेलाई निक्कै सकारत्मक बनाउँदै लगेको थियो ।
माओवादीलाई प्रत्यक्ष कसैले देखेकै थिएन । हामीजस्तै गाउँका धेरै मान्छे माओवादी देख्न चाहन्थे । कसैले माओवादी देखे त्यो अरूलाई धाक लगाउने कुरा बन्थ्यो । हो, एकदिन त्यस्तै दिन आयो । साथीहरूमाझ धाक लगाउने त्यो अवसर मैले कक्षा चारमा पढ्दा पाएँ ।
शुक्रबारे बजार हाम्रो गाविसको मुकाम हो । शुक्रबार बिहानको स्कुल सकेर आमासँग झगडा गर्दै बजार जानु मेरो नियमितता थियो । त्यो दिन आमाले नजानु भन्दाभन्दै म स्कुल ड्रेसमै आमाको पछि लागेँ । बजारमा क्याटिस (गुलेली) को रबड किनिमागेँ । आमाले किनिदिनु भएन । म झगडा गर्न थालिसकेको थिएँ । आमाले दुई झापड जति लगाइसक्नु पनि भएको थियो कि † म रोइरहेको थिएँ ।
बजारको बीचमा झुरुप्प मान्छे भेला भएको देखियो । आमाले अघि हल्ला सुनिसक्नु भएको रहेछ । ‘त्याँ माओवादी छ, रोइस् भने पक्रेर लान्छ’ भन्नु भो । म चुप लागेर आमाको पछि–पछि त्यतै लागेँ । हामी पनि भिडमा मिसियौँ ।
भिडको बीचमा माटाका आठ–दश वटा ठुल्ठूला घ्याम्पाहरू थिए । बलिया तीनजना केटा खोइ कताबाट ती घ्याम्पाहरू ओसारिरहकेका थिए । ती घ्याम्पाहरू जाँडका रहेछन् । फुटाएको ठाउँमा जाँड गन्हाइरहेको थियो । जाँड बनाएको कोदो र गहुँको थुप्रो थियो । एउटा मान्छे त्यहाँ उभिएको थियो । उसले रुमालले अनुहार बाँधेको थियो, आँखा मात्र देखिने गरेर । ऊ निक्कै अग्लो थियो । हामी त्यहाँ पुगेपछि ऊ फेरि घ्याम्पा फुटाउन तल्लिन भयो । हेर्दाहेर्दै बजारको बीचमा उसले ५० वटा जति जाँडका घ्याम्पा फुटायो । अरू एक दुईवटा भट्टीमै पसेर प्लास्टिकका डोलहरू काटे । केही स्वास्नीमानिसहरू भने रोइकराइ गरिरहेका थिए ।
डरले हुनुपर्छ सायद त्यो दिन हामी छिट्टै घर फर्कियौँ ।
त्यही थियो मैले पहिलोपटक देखेको माओवादी–कमरेड सागर । भोलिपल्ट स्कुलमा मैले यो घटनाको इतिवृत्तान्त सुनाएँ । साथीहरू माझमा खुब धाक लगाइयो ।
यस घटनापछि हाम्रो खेलमै परिवर्तन आयो । माओवादी हुनेले अनिवार्य रूपमा अनुहारमा रुमाल बाँध्नु पर्ने भयो । सागर भने मेरो व्यक्तिगत पात्र भयो । अरू पनि धेरै सागर हुने रहर गर्थे तर सागरलाई मैले मात्र देखेको हुनाले ऊ मेरो निजी पात्र थियो । अरूलाई सागर बन्ने चान्सै हुँदैनथ्यो र सागर नै माओवादी कमान्डर हुन्थ्यो ।
त्यसको एक वर्षसम्म मैले फेरि माओवादी देख्न पाइनँ । त्यतिञ्जेल मेरो माओवादीले रुमाल बाँधिरह्यो ।

प्रतिक्रिया