किताब अध्ययनका मेरा तीन मोड

हरेक पुस्तक ज्ञानको पुञ्ज हो तर, पढ्दा आफू हुर्केको समाजको वस्तुगततालाई पनि तुलना गर्दै पढ्न सकियो भने, पुस्तक परिवर्तनको बाटो पहिल्याउने साधन पनि बनिदिन्छ, नत्र पढ्नु–घोक्नुमा सीमित हुन्छ । सिद्धान्त र वस्तुगत घटनालाई एउटा सिस्टममा एकीकृत गरेर बुझ्नु नै असल पाठकको गुण हो । मेरो पुस्तक अध्ययनका तीन महत्त्वपूर्ण मोडहरू छन् । आज म महसुस गर्छु, अध्ययनका यी मोडहरूले मेरो जीवन दृष्टिकोण निर्माण गर्न र सैद्धान्तिक तथा राजनीतिक अलमलका जंघार तार्न मलाई मद्दत गरेका छन् ।
जीवनको पहिलो मोडमा मैले संस्कृत पढेँ । जब म बालकै थिएँ, घरनजिकै संस्कृत पाठशाला थियो । दुर्गा कवच कण्ठस्थ गर्दै त्यहीँबाट मेरो पुस्तक यात्रा सुरु भयो । दुर्गा कवचपछि पालो आयो चण्डीको । चण्डी पनि आफ्ना उमेरका दाजुहरूभन्दा चाँडो कण्ठस्थ गरेर सकेँ । म जन्तरे छोरा हुँ, दाजुहरूभन्दा अगाडि नै चण्डी कण्ठस्थ गरिसक्दा पनि मेरो व्रतबन्ध भएको थिएन । व्रतबन्ध नगरी रुद्री पढ्न पाइँदैनथ्यो । त्यसैले चण्डी सकेर रुद्रीमा प्रवेश गर्न पाइनँ । त्यसबेला पढ्नु भनेको घोक्नु र कण्ठस्थ गर्नु भन्ने मात्रै बुझेको थिएँ मैले । संस्कृतका ती शब्दहरू मैले घोकेर कण्ठस्थ मात्रै पारेँ, केही बुझ्न सकिनँ । गुरुको आदेश मान, अनि शब्द–शब्द कण्ठस्थ गर, बस् यत्ति हो त्यसबेला पढ्नु भनेको । रुद्री पढ्न नपाएपछि म विद्यालय छोडेर घर बस्नुुपर्ने भयो । आफूभन्दा दाजु अझै चण्डी घोक्दै हुन्थे । हजुरबुबाले मलाई विनापढाइ घर राख्दा बिग्रन्छ भन्ने सोच्नु भएछ । गाउँनजिकै पहिलो अंग्रेजी स्कुल खुलेको थियो, २०१३ सालमा अंग्रेजी पढ्ने स्कुलमा भर्ना गरिदिनुभयो ।
अब मैले पढ्नु भनेको घोक्नु मात्र होइन बुझ्नु हो भन्ने जानेँ । भर्ना भएदेखि नै म परीक्षामा पहिलो हुन्थेँ । संस्कृत कण्ठ गर्दा नबुझेका अनेकौँ कुरा, अनेकौँ प्रतापी व्यक्तिका नाम र उनीहरूका प्रतापी कृत्य मैले अंग्रेजी स्कुलमा भर्ना भएपछि जान्न र बुझ्न थालेँ । भीमसेन थापालाई बुझेँ, बलभद्र कुँवरको बहादुरी पढेँ । आफू बसेको भूगोललाई नै संसार मान्ने मेरो उतिबेलाको ज्ञान विस्तार हुँदै गयो । नेपाल र नेपालीबारे केही ऐतिहासिक कुरा जानेपछि मनमा उथलपुथल ल्यायो । त्यसपछि लाग्न थाल्यो– मैले अब नयाँ–नयाँ कुरा पढ्नुपर्छ, विश्वको परिवर्तनको इतिहास बुझ्नुपर्छ । ब्राह्मणले अंग्रेजी पढ्नुहुँदैन भन्ने उतिबेलाको समाजिक मान्यता थियो तर मेरो हजुरबुबाको परिवर्तनशील सोचाइले मलाई समाजको त्यो जडताबाट बाहिर निकाल्न मद्दत गर्‍यो । अहिले लाग्छ, म संस्कृतकै हरफहरूमा अलमलिएको भए पण्डित बनेर पुराण भन्दै हिँड्थेँ होला, समाज परिवर्तनका अन्य आयामहरूलाई बुझ्न सक्दिनथेँ होला ।
संस्कृत पढ्दा श्लोक कण्ठ गरेर अरूलाई जित्थेँ र त्यसैमा खुसी हुन्थेँ । अंग्रेजी शिक्षाले मेरो जीवनको बाटो बदल्यो । बुझाइको घेरा फराकिलो बनाउँदै लग्यो । संसारलाई हेर्ने नजर फेरियो । संसारको भूगोल, समाज, संस्कृति, राजनीतिक परिवर्तनका बारेमा जान्न थालेँ । सात कक्षामा पढ्न थालेपछि मेरो पढ्ने जाँगर अझै बढ्यो । विस्तारै निर्धारित पाठ्यपुस्तकबाट म बाहिर निस्कन थालेँ । नयाँ पुस्तक खोज्न थालेँ, पढ्ने तिर्खा बढ्दै गयो । कक्षा दस पुग्दासम्म मैले धेरै उपन्यास पढिसकेको थिएँ । उतिबेला पढेकामध्ये सबैभन्दा आनन्ददायक पुस्तक गोपालप्रसाद रिमालले लेखेको ‘मसान’ थियो । पढेर नयाँ कुरा बुझ्ने रुचिले गर्दा म नौ कक्षामा पढ्दा ‘चीन सचित्र’ पत्रिकाको ग्राहक बनेँ । त्यसपछि ममा समाजवादको मधुरो ज्ञानको झल्को आउन थालेको हो, म पुस्तक अध्ययनको दोस्रो मोडमा पुगेँ ।
पढाइसँगै कविता पनि लेख्न थालेँ । जानी नजानी आफूमा विद्रोही स्वभाव विकसित हुँदै गएझैँ लाग्न थाल्यो । हुन त म बाल्यकालदेखि नै विद्रोही प्रकृतिको थिएँ । कक्षा ३ मा पढ्दा राई/लिम्बू साथीहरूजस्तै चिटिक्क पर्ने रहर लाग्थ्यो । त्यही रहरमा मैले टुपी फालेर कपालमा छरी लगाएको थिएँ । टुपी छोटो बनाएर छरी लगाएको थाहा पाएपछि घरमा खुबै हल्लीखल्ली मच्चियो, अब भद्रगोल हुने भयो भनेर । भात खानुअघि धोती फेरेर औसानी हाल्ने काम छोडियो । उमाकान्तको नातिले गरेको उपद्रो भनेर गाउँभरि हल्ला पनि फिँजियो । वनभोज हुन्थ्यो, म अरू जातका साथीहरूसँगै बसेर भात खान्थेँ । त्यसले ल्याएको उथलपुथलले गर्दा गाउँमा धर्मसभासमेत भएको थियो । तर, राजा महेन्द्रको पालामा जातीय विभेद उन्मूलनको घोषणा भएकाले त्यसबापत् ममाथि कारबाही भने भएन ।
कोर्सइतर पढाइले सामाजिक तथा आर्थिक परिवर्तनको बाटोमा विस्तारै डोहोर्‍याएको थियो । स्कुलमै युनियन खोलेर विद्यार्थीका माग विद्यालय प्रशासनमा राख्ने भइसकेका थियौँ हामी । एसएलसीपछि मात्रै मैले माक्र्सवादी दृष्टिकोणबाट प्रशिक्षित हुने मौका पाएँ । त्यो पनि स्वाध्ययनबाट नै । आइएससी पढ्न थालेपछि लेनिनको ‘क्या करेँ’ पुस्तक पढें । म विस्तारै राजनीतितर्फ तानिँदै थिएँ । समाज परिवर्तनका लागि रुसी जनताले जारशाहीविरुद्ध गरको संघर्षबारे केही ज्ञान पाएँ । संगठन निर्माणको बाटोबारे पनि ‘क्या करेँ’ पुस्तकमा लेनिनले बुझाएका थिए । समाजवाद र पुँजीवादबारे लेखिएका पुस्तकहरूमा मेरो रुचि बढ्दै गयो । माओत्सेतुङका अन्तरविरोधी दृष्टिकोणमा परिवर्तन ल्याउने ५ कृति लगातार पढेर सकेँ । त्यतिबेला माक्र्सवाद र समाजवादका बारेमा लेखिएका पुस्तक नेपालीमा अनुवाद भइसकेको थिएन, म हिन्दी पुस्तक पढ्थेँ ।
एसएलसी सकेर पढ्न काठमाडौं आएपछि पढेका पुस्तकले अझ पढाइको भोक जाग्न थाल्यो । अनि म पुस्तक खोज्न थालेँ । एकदिन पुस्तक खोज्दै भोटाहिटीको प्रगतिशील पुस्तक पसल पुगेको थिएँ । त्यहाँ माक्र्सवाद, लेनिनवादका थुप्रै पुस्तक रहेछन् । मैले माक्र्सवादी विश्वदृष्टिकोणसम्बन्धी पुस्तक खोजेपछि पुस्तक पसलका ज्ञानीराम भट्टराईसँग मेरो परिचय भयो । त्यो भेटबाट बढेको घनिष्टताले हामीबीच मित्रता बढ्यो । त्यसपछि मैले पुँजीवाद र समाजवादका सिद्धान्त समेटिएका थुप्रै पुस्तक पढ्न पाएँ । माक्र्सवादी पुस्तकले मलाई सामाजिक परिवर्तनको सूक्ष्म अध्ययन गर्न सिकायो । दार्शनिक ज्ञान फराकिलो दायरामा हुन्छ र टिकाउ हुन्छ । मैले समाज क्रान्तिका लागि माक्र्सवादी दर्शन नै वैज्ञानिक छ भन्ने यही क्रममा बुझेँ ।
संसारलाई हेर्ने मानिसको आधारभूत दर्शन हुन्छ भन्ने कुरा पुस्तकले नै मलाई सिकाएको हो । यसले आफू हिँड्ने जीवनको दार्शनिक बाटो स्पष्ट बनायो । समाजका वर्ग र ती वर्गबीचको एकता अनि संघर्षले समाज रूपान्तरण हुन्छ भन्ने कुरा सिकायो । समाजलाई फेर्ने कार्यदिशा, रणनीति र कार्यनीति स्पष्ट पार्ने विश्वका अनेकौँ क्रान्तिका अनुभव मैले तिनै पुस्तक अध्ययनबाट पाएँ । राजनीतिक सिद्धान्त र दर्शनसम्बन्धी अध्ययन मेरो पुस्तक अध्ययनको तेस्रो मोड थियो ।
पुस्तकबाट पाएको ज्ञान र आफ्ना अनुभवले आर्जन गरेका ज्ञानबीच पनि कहिलेकाहीँ अन्तरद्वन्द्व भइदिन्छ ।

म माक्र्सवादी अध्ययनको एउटा विद्यार्थी र राजनीतिक अभियन्तासमेत भएकै बेला विश्व समाजवादी आन्दोलनलाई मौलिक पाठ हुने ठूलो घटना घट्यो । सन् १९९० मा सोभियत संघ विघटन भएको घटना पुस्तकहरूले दिएको ज्ञानभन्दा भिन्न थियो । माक्र्सवादी सिद्धान्तको प्रयोग र व्यवहारमा भएका कमजोरीद्वारा संसारको कम्युनिस्ट आन्दोलनसामु मौलिक पाठ त्यसले पढाएको थियो । सिद्धान्त र व्यवहारबीचको अन्तरविरोध र घटनाहरूको समग्रतामा अध्ययन गर्नुपर्छ । सिद्धान्त अध्ययन गर्ने मात्र होइन, व्यवहारमा विकसित गर्ने दौरानमा आज हामी कम्युनिस्ट आन्दोलनमा मौलिक प्रयोग गरिरहेका छौँ, त्यसको स्रोत पनि तिनै पुस्तकले दिएको विश्व कम्युनिस्ट आन्दोलनको अनुभव नै हो ।
अन्तरविरोधको सही सञ्चालन, नौलो जनवादसम्बन्धी माओत्सेतुङका पुस्तक, ऐतिहासिक भौतिकवादसम्बन्धी स्टालिनका पुस्तक, परिवार र निजी सम्पत्तिको उत्पत्तिसम्बन्धी एंगेल्सको पुस्तक र द्वन्द्ववादसम्बन्धी लेनिनका विभिन्न लेख मेरो दृष्टिकोण पुन:निर्माण गर्ने आधार थिए । लेनिनले लेखेको ‘डाइरेक्टिकल मेटरालिज्म इम्प्रिकल क्रिटिसिजम’ द्वन्द्ववादलाई बुझ्ने सबैभन्दा महत्त्वपूर्ण पुस्तक हो । यो पुस्तकको नेपालीमा अनुवाद भए अझ धेरै नेपाली पाठकहरूका लागि फाइदा हुने थियो । यस्ता पुस्तकले घटनालाई सूक्ष्म विश्लेषण गरेर संश्लेषणको आवश्यकता दर्साउँछन् । क्रान्ति र प्रतिक्रान्तिमध्ये कुनले कतिबेला जित्छ भन्ने देखाउने घटना विश्लेषण गर्न सघाउँछन् । अक्टोबर क्रान्तिबाट सुरु भएको समाजवादी आन्दोलनको विजय अगाडि बढ्दै जाँदा विश्व पुँजीवाद संकटग्रस्त हुन्छ । त्यसपछि पुँजीवादी मुलुकमा पनि विशाल आन्दोलन हुनेछन् । यो प्रक्रिया निरन्तर जारी रहिरहन्छ भन्ने बुझ्न पनि समाजवादको गहिरो अध्ययन जरुरी हुन्छ ।
पुस्तकबाट पाएको ज्ञान मानिसको जीवनदृष्टि निर्माण गर्ने महत्त्वपूर्ण सम्पत्ति हो । पढ्न मलाई हरदम मन लाग्छ तर जीवनका व्यस्तताले पढ्ने समय व्यवस्थापन गर्न अप्ठ्यारो हुने रहेछ । मलाई पुस्तक अध्ययनले नै नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय बनाएको हो । भूमिगत जीवनको फुर्सदमा आफ्ना काममा सघाउने दर्शनका पुस्तक पढेँ । जनवादी क्रान्तिलाई केन्द्रमा राखेर माक्र्स, एंगेल्स, लेनिनलाई पढेँ । एक व्यक्ति एक सम्पर्कसूत्रको रूपमा अघि बढ्दा साथी अनि गुरु पनि पुस्तक नै थिए । जब खुला राजनीतिक वातावरणमा आइयो त्यसपछि पारिवारिक लहनतहनदेखि सामाजिक, पार्टीगत कामले बढी व्यस्त बनायो । तर, मैले समय मिलाएर पढ्न भने छोडिनँ । पार्टी अध्यक्ष भइसकेपछि त अध्ययन र लेखनको समय झनै खुम्चिएको छ । भेटघाट, निम्ता, कार्यक्रम, पार्टीका गतिविधिबीच साँघुरो समयलाई व्यवस्थापन गर्न चुनौती पनि छ । यति हुँदा पनि पार्टी कार्यक्रममा जाँदाको समय, केही फुर्सदको बेला पुस्तकका ज्ञानको प्यास मेटाउँछु । प्रधानमन्त्री हुँदा सरकारी डकुमेन्ट पढ्ने गर्थेँ । अहिले पूर्वीय दर्शनसम्बन्धी अध्ययनमा छु । प्राचीनकालको गणतन्त्रको अवस्था, सामन्तवादको उदय अनि फेरि गणतन्त्र, समाज विकासको यही सिलसिलामा केन्द्रित भएर गणतन्त्रात्मक पद्धतिबारे अहिले अध्ययन गरिरहेको छु ।

प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया