नगरपालिका माग्दै जिविस घेराउ

 

विराटनगर, १८ कात्तिक । नगरपालिका घोषणा कार्यान्वयनको माग गर्दै उर्लाबारीका स्थानीयले जिल्ला विकास समिति घेराउ गरेका छन् । घेराउपछि आन्दोलनरत पक्ष र जिल्ला विकास समिति मोरङबीच शुक्रबार वार्ता भएको छ ।
नगरपालिका कार्यान्वयन गर्नुपर्ने माग गर्दै जिविसमा धर्ना र घेराउ गर्न पुगेका उर्लाबारीका स्थानीय र जिविसबीच वार्ता भए पनि निष्कर्षमा भने पुग्न सकेन । चरणबद्ध आन्दोलनमा उत्रिएका उर्लाबारीवासीले आफूहरूको मागलाई जिविसले सम्बोधन गर्न नसकेको भन्दै वार्ता छाडेर बाहिरिएका थिए ।
जिल्लाका राजनीतिक दलका प्रतिनिधिसमेतको रोहवरमा भएको वार्तापछि उर्लाबारीवासीले आन्दोलनलाई थप सशक्त बनाएर लैजाने तयारी गरेका छन् । वार्ताका क्रममा एलडिओ शिवराम पोखरेलले सरकारका कारणले नगरपालिका कार्यान्वयनमा ढिलाइ भएको जानकारी दिँदै समस्या समाधानका लागि जिविसले मन्त्रालयसमक्ष आग्रह गर्नेबाहेक कुनै पनि प्रक्रिया अघि बढाउन नसक्ने जानकारी दिएका थिए । यद्यपि, उनले चालू आर्थिक वर्षमा उर्लाबारी गाविसबाट उठेको राजस्वको ७५ प्रतिशत अनुदान नगर विकासकै लागि खर्च गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । ‘चालू आर्थिक वर्षको ७५ प्रतिशत रकम उर्लाबारीलाई नै दिने व्यवस्था मिलाउनेछु,’ उनले भने, ‘गत आर्थिक वर्षमा खर्च भएकोमध्ये ७५ प्रतिशत अनुदान दिलाउनेबारे मन्त्रालयलाई पत्र पठाउनेछु ।’
गत आर्थिक वर्षमा उर्लाबारीबाट उठाइएको राजस्व खर्च भइसकेको जानकारी दिँदै उनले मन्त्रालयबाट अनुदान उपलब्ध गराउने निर्देशन आएमा गत आर्थिक वर्षमा उठेको राजस्वको ७५ प्रतिशत दिन सकिने बताए । गत वर्षको राजस्वको ७५ प्रतिशत पनि फिर्ता हुनपर्ने उर्लाबारीवासीले अडान लिएका थिए भने उनीहरूले तत्काल घोषणाअनुसार नगरपालिका कार्यान्वन गर्नुपर्ने अन्यथा आन्दोलन नरोक्ने बताएका थिए ।
१ साउन ०६८ मा उर्लाबारीलाई नगरपालिका घोषणा गरिए पनि कार्यान्वयन नगरिएको भन्दै उर्लाबारीका बासिन्दा आन्दोलित भएका हुन् । यसअघि चक्काजाम, गाविसको कार्यालय, मालपोत तथा नापी कार्यालय बेलबारीमा धर्ना तथा घेराउ गरिसकेका उनीहरूले शुक्रबार जिल्ला विकास समिति मोरङमा धर्ना तथा घेराउ गरेका हुन् ।
नगरपालिका कार्यान्वयनका लागि विभिन्न दलसमेतको संलग्नतामा गठन गरिएको संयुक्त संघर्ष समितिले गरेको घेराउका कारण जिविसको कामकाज ठप्प भएको थियो । बिहान पौने १० बजे नै कार्यालय पुगेका उर्लाबारीवासीले कर्मचारीलाई कार्यालयमा प्रवेश नदिई घेराउ गरेको संयुक्त संघर्ष समितिका सदस्य तथा नेकपा (एमाले) उर्लाबारीका अध्यक्ष गंगा बाँस्तोलाले बताए । नगरपालिका घोषणा भएको भोलिपल्टैदेखि कर वृद्धि गरी एक करोड १७ लाख ९१ हजार ६ सय ७४ रुपियाँ असुल भए पनि नगरपालिकाले पाउने सुविधा नभएको भन्दै संयुक्त संघर्ष समिति गठन गरी स्थानीय आन्दोनलमा उत्रिएका हुन् ।

प्रतिक्रिया