काठमाडौं, १७ कात्तिक । नयाँ निर्वाचनमा जाने सहमतिको नजिक पुगेका प्रमुख दलको बैठकमा एमाओवादीले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि स्वतन्त्र व्यक्ति प्रस्ताव गरेको छ ।
ललितपुरमा आज बसेको बैठकमा एमाओवादीले स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्रीका लागि विभिन्न व्यक्तिका बारेमा छलफल भएको भन्दै उनले स्वतन्त्र व्यक्तिलाई पनि प्रधानमन्त्री बनाउन सकिने उल्लेख गरे ।
उनले वर्तमान सरकारलाई निरन्तरता दिने तथा संविधानसभा पुनःस्थापना गरेर नयाँ संविधान जारी गर्न पनि एमाओवादीले प्रस्ताव गरेको बताए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठकमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहमति भए आफूहरुले प्रधानमन्त्री एक घण्टा भित्रै दिने बताएको उल्लेख गरे ।
एमाले नेता भीम रावलले नयाँ निर्वाचनमा जानका लागि सबै दल तयार रहेको भन्दै यथास्थितिमा सहमति हुन नसक्ने बताए । उनले वर्तमान सरकार रहे सम्म सहमति हुन नसक्ने भन्दै आन्तरिक छलफल पछि सहमतिको प्रयास गरिने उल्लेख गरे ।
यस अघि आजै विहान राष्ट्रपति डा.रामवरण यादवले प्रमुख दलका शीर्ष नेताहरुलाई बोलाएर छिटो सहमति जुटाउन दवाद दिएका थिए ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया