“६ वर्षदेखि गीताको गीत गाउँदै”

म अविवाहित पुरुष हुँ तर प्रेममा भने परेको छु । हुन त अविवाहित केटाले प्रेमको बखान गर्दा समाजले नकारात्मक रूपमा पनि हेर्न सक्ला । तर, म जुन प्रेममा छु, त्यो क्षणिक   होइन । यही सम्बन्धलाई लङलास्टिङ बनाउनेछु । केही समयपछि नै उनीसँग बिहेबन्धनमा बाँधिन्छु होला । उनी अर्थात् मेरी प्रेमिका गीता राई । पोखराकी बासिन्दा गीता र मबीच            ६ वर्षदेखि लगातार मायाप्रीति चलिरहेको छ ।
धादिङको नौबीसे–४, खत्रीपौवामा मेरो जन्म भएको । बालापन त्यहीँको विद्यालयमा बित्यो । हाइट होचो भएकाले स्कुलमा छँदा केटीहरु मलाई खासै ध्यान दिँदैनथे । एउटै कक्षाका केटीहरू मलाई आफूभन्दा ठूला लाग्थे । त्यसैले दिदी भनेर बोलाइदिन्थें । उनीहरु ‘साथीलाई पनि के दिदी भनेको’ भन्दै गाली गर्थे ।
गीतासँगको पहिलो भेटचाहिँ ६ वर्षअघि भएको हो, नेपाली तारामा भाग लिन आउँदा । उनी पनि सिंगिङमा इन्ट्रेस्ट राख्दी रहिछन् । त्यसअघि पनि म थुप्रै सांगीतिक प्रतियोगितमा सहभागी भइरहन्थें । त्यसै कारण उनीचाहिँ मलाई पहिल्यैदेखि चिन्दी रहिछन् । पहिलोचोटि उनैले बोलाएकी थिइन् । त्यो भेटमा हामीबीच साधारण परिचय आदानप्रदान भएको थियो ।
म प्राय: सबै साथीहरूलाई भेट्दा ‘हग’ गर्थें । केटी साथीहरुलाई पनि । पहिलोचोटि मेरो यस्तो व्यवहार देख्दा उनलाई असामान्य लागेछ । जो पायो त्यही केटीहरुलाई हग गरेर हिँड्ने कस्तो केटा रहेछ भनेर मलाई गलत सेन्सले हेरिछन् । पछि उनैले भनेकी । पहिलोचोटि भेट्दा उनी १८–१९ वर्षकी देखिन्थिन्, मचाहिँ २० वर्षको । नेपाली ताराको टाइटलका लागि सँगै प्रतिस्पर्धा गरिरहेका थियौं । त्यति नै बेला हेल्थले  साथ नदिएपछि उनी टप–२० बाटै बाहिरिइन् । म अगाडि बढ्दै गएँ । यति बेलासम्म उनले मलाई निकै बुझिसकेकी थिइन्, मैले साथीहरुलाई हग गर्नुमा कुनै नराम्रो आशय थिएन भन्ने पनि उनलाई थाहा भइसकेको थियो । हाम्रो फ्रेन्डसिप राम्रैसँग झ्याम्मिँदै थियो । हुँदाहुँदा हामीलाई एकअर्काको आवश्यकता महसुस भयो । सायद यही माया थियो । थाहै नपाई हामी प्रेममा परिसकेछौं, एकअर्काको अभाव महसुस हुन थालेपछि हामी दुवैले यो कुरा बुझ्यौं । पहिलोचोटिको भेटमै हामीले फोन नम्बर साटासाट गरिसकेका थियौं । तर, मैले कता हराएछु । उनैले कल गरिन्, आफन्तको फोनबाट ।
नेपाली ताराबाट बाहिरिएपछि उनी पोखरा फर्किइन् । फोनमा कुराकानी भए पनि व्यस्तताका कारण हाम्रो भेटचाहिँ ४–५ महिनाको अन्तरालमा मात्रै हुन्थ्यो । फोनमा कुरा गर्दैखेरि उनको बोलीमा मायाको संकेत मिसिएको हुन्थ्यो । हामी एकअर्कालाई केयर गर्न थालेका थियौं । हरेकचोटि ‘खाना खानुभयो कि भएन ? खानु है नत्र म रिसाउँछु’ भन्दै मलाई आफ्नोपनको अनुभूति गराउँथिन् । उनको यो व्यवहारले मेरो हृदय न्यानो गराउँथ्यो । लव परेको पाँच महिनापछि मात्र उनीसँग भेट भयो । उनी काठमाडांै आएकी थिइन् । कपनबाट उनलाई दिदीको घरमा लिएर गएँ । गाउँबाट मेरी आमा पनि आउनुभएको थियो । परिचय गराएँ । आमा एकदमै फ्रेन्ड्ली हुनुहुन्छ । फेरि मेरी गीता पनि निकै शीलसोभाउकी छिन् । एकै भेटमा आमाको मन जितिहालिन् । सबै जना खुसी भएपछि हाम्रो सम्बन्धले थप प्रगाढ रूप लियो ।
उनी कहिलेकाहीँ काठमाडांै आउँदा घुमाउन लैजान्छु । काठमाडांैका प्राय: सबै ठाउँ घुमिसक्यौं । साथीहरुसहित दुई वर्षअघि हामी नमोबुद्ध गएका थियौं । कहिल्यै नगएको ठाउँ जान पाउँदा निकै खुसी मानिन् । हाम्रो सम्बन्धबारे प्राय: सबै साथी परिचित थिए । नचिनेका मानिसहरु हामीलाई प्रेमीप्रेमिकाभन्दा पनि म्यारिड कपलका रूपमा लिन्थे । यसकारण पनि होला कि हाम्रो आपसी बिहेवियर उरन्ठेउलो उमेरको जस्तो नभएर म्याचुअर्ड किसिमको हुन्थ्यो ।
रसुवाको सांगीतिक कार्यक्रममा उनलाई पनि लगेको थिएँ । गाडीको लामो यात्रामा थकाइका कारण उनी मेरो कुममा ढल्किएर निदाइन्, मलाई आत्मीयताको अनुभूतिसँगै छुट्टै किसिमको आनन्द लागिरहेको थियो । रोज मोक्तान, योगिता मोक्तान अविनाश घिसिङलगायत कलाकार पनि सँगै जानुभएको थियो । थाहा पाएपछि दाइहरुले हाम्रो जोडीलाई बधाई दिनुभयो । बढीजसो उनी मन्दिर जान रुचाउँछिन् । साँगाको शिवमूर्ति, बूढानीलकण्ठको निकुन्ज, दक्षिणकालीलगायत स्थानमा पुगेका छांै । देवताका अगाडि पुग्दा ‘हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाइदिनुस्’ भनेर कामना गर्छिन् रे उनी ।
पोखरा पुगेका बेलाचाहिँ उनी मलाई घुमाउँछिन् । प्राय: सबै स्थान घुमाइसकिन् । पहिलोचोटि धम्पुस गएका थियौं, निकै रमाइलो भएको थियो । नजिकै देखिने मनोरम हिमालहरूले हाम्रो जोडीलाई स्वागत गरिरहेझैं लाग्दै थियो । बाग्लुङ कालिकाजस्ता स्थान पनि सँगै गयौं । म पनि सम्भव भएसम्मका आफ्ना सांगीतिक कार्यक्रममा उनलाई लैजान्छु । मेरो पर्फर्मेन्स हेरेर उनी सोच्छिन् रे–‘साँच्चीकै यही हो त मेरो भविष्यको जीवनसाथी †’
मुखले नभनीकनै हाम्रो आत्माले एकअर्कालाई स्वीकारिसकेको थियो । तैपनि मैले भनिटोपलेको थिएँ– म तिमीलाई साँच्चिकै माया गर्छु ।’ उनी कम बोल्ने लजालु स्वभावकी छिन्, त्यसैले ‘ओके’ मात्रै भनेकी थिइन् । मायाप्रीति अति प्रगाढ भए पनि शारीरिक सम्बन्धबारे भने हामी निकै सजग छौं । त्यसो त हामीलाई थाहा छ, चुम्बन जस्तै साधारण हो सेक्स पनि । तर किनकिन यी सबै व्यवहारलाई विवाहपछिको अधिकारका रूपमा साँचेर राखेका छौं । आत्माले नै त्यसै गर्नुपर्छ भन्छ ।
हामीबीच कहिलेकाहीँ ठाकठुक पनि पर्छ । म टाइममा घर नफर्केको निहुँमा उनी रिसाइरहेकी हुन्छिन् । कहिलेकाहीँ काममा व्यस्त हुँदा उनको फोन काटी पनि दिन्छु । तर उनलाई मेरो व्यस्तता थाहा छ । त्यसैले सुरुमा रिसाए पनि कन्भिन्स भइहाल्छिन् । बेफ्वाँकमा रिसाएकोमा हामी आफैंलाई हाँसो उठ्छ अनि भन्छांै– ‘ह्या.. हामी किन झगडा गरेको होला हगि †’
यो चोखो सम्बन्धलाई विवाहमा परिणत गर्न अब लामो समय लगाउँदनौं हामी । बढीमा एक–दुई वर्ष । म परिवारको कान्छो छोरो, २७ वर्षमा हिँड्दै छु । फेरि ममाथिका दुइटै दाजुको बिहे भएको छैन । पालो पनि त मिलाउनुपर्‍यो नि । अहिलेसम्मको हाम्रो सम्बन्धलाई समीक्षा गर्नुपर्दा एकदमै सकारात्मक छ जस्तो लाग्छ । हामीबीच गहिरो आत्मीय सम्झौता कायम भएको छ, जसबाट न उनी फुत्किएर जान सक्छिन् न म ।
सानो उमेरमा छँदा मेरो पनि लभ पर्ला भन्ने मलाई लागेकै थिएन । अहिले आएर लाग्छ– जब मान्छे प्रेममा पर्छ अनि पो फुर्ने रहेछन् थरीथरीका गीतहरु । अहिलेसम्म मैले थुप्रै गीत उनकै लागि गाएजस्तो लाग्छ । पछिल्लोचोटि चलचित्र भिसा गर्लका लागि गाएको यो के भयो बोलको गीत पनि मैले त उनैप्रति समर्पित गरेको छु । दिनेश अधिकारीले लेख्नुभएको एउटा गीत गुनागुनाइरहन्छु :
‘तिमीलाई म यस्तो माया गरूँ
नघट्दै यो मायामा आफैँ मरूँ
खुसीका उज्याला सबै रङ छँदै
जति छन् जीवनका दिलासा समेट्दै
तिमीसँगै आफ्नो म छाया बनूँ
जता तिमी जान्छ्यौ म त्यतै सरूँ ।’
यो गीतका प्राय: सबै हरफमा मेरा लागि उनै झल्किन्छिन् । मेरो लोकप्रियता बढ्दै गएसँगै उनी मलाई सावधान गराइरहिन्छन्– ‘मन चेन्ज होला है फेरि † जमाना त खराब पो छ त †’ म उनलाई विश्वास दिलाउँछु– ‘चेन्ज हुने भए उहिल्यै भइसक्थें ।’ त्यसो त हामी दुवैलाई थाहा छ– एकअर्कासँग छुट्टिएर बस्नै सक्दैनौं । उनलाई भन्न चाहन्छु– गीता † अब हामी छिट्टै विवाहबन्धनमा बाँधिएर सँगै जिउन सुरु गर्नेछौं, आफ्नो स्वास्थ्यको राम्रो ख्याल राख्नु है †’
प्रस्तुति : विशाल राई

प्रतिक्रिया