शीर्ष बैठक विनाकुनै निष्कर्ष स्थगित

काठमाडौं, १६ कात्तिक । राजनीतिक गतिरोध अन्त्यको प्रयासमा सहमति खोज्न बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक विनाकुनै निष्कर्ष सक्किएको छ ।
राजधानीमा आज बसेको एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक शुक्रबार सम्मका लागि स्थगित भएको हो । बैठकमा नयाँ निर्वाचन, राष्ट्रिय सहमतिको सरकार, संविधान संशोधनलगायतमा छलफल भएको थियो । समग्र विषयमा छलफल भए पनि नेताहरु आ–आफ्नै अडानमा रहे पछि सहमति हुन नसकेको हो ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरु बीच भएको छलफल सकारात्म रहेको बताए । ‘नयाँ निर्वाचन, राष्ट्रिय सहमतिको सरकार, संविधान संशोधनलगायतमा सकारात्मक छलफल भएको छ,’ उनले भने, ‘भोली पुनः बैठक बसेर ठोस निर्णय गर्छौं ।’
कांग्रेस सभापति सुशील कोइरालाले नयाँ निर्वाचनलगायतमा कुराकानी भएको बताउँदै ठोस सहमति हुन नसकेको बताए । उनले नयाँ निर्वाचनको विकल्न नरहेको पनि दोहराए ।
एमाले अध्यक्ष झलनाथ खनालले सहमतिको लागि विभिन्न विषयमा छलफल गरे पनि तत्काल निकास आउनेमा आफू आशावादी नरहेको बताए । उनले भने, ‘छलफल जारी छ धेरै आशावादी हुँने ठाउँ छैन ।’
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुको सहभागिता रहेको थियो ।
दलका नेताहरुले तिहार अघि नै सहमति निकाल्ने सार्वजनिक अभिव्यक्ति दिदै आएका छन् । शुक्रबार राष्ट्रपतिले पनि प्रमुख दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै छन् ।

प्रतिक्रिया