कांग्रेस चुनावको पक्षमा

काठमाडौं, १६ कात्तिक । राजनीतिक निकासका लागि संविधानसभा पुन:स्थापना वा चुनाव भन्ने बहस चलिरहेका बेला कांग्रेस चुनावको पक्षमा उभिएको छ । पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पुन:स्थापनाको पक्षमा भए पनि बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले चुनावमै जाने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले अहिलेसम्मको परिस्थितिले संविधानसभा पुन:स्थापनाबाट नयाँ संविधान नबन्ने देखिएकाले चुनावमा जाने निर्णय गरिएको बताए । ‘नयाँ चुनावमा जान पार्टीमा आमसहमति बनेको छ,’ प्रवक्ता बडुले भने, ‘आगामी वैशाखसम्ममा चुनाव गर्नुपर्छ भन्नेमा पार्टीभित्र दुईमत छैन ।’
बैठकले तत्काल सहमतिको सरकार बनाएपछि मात्रै चुनावी प्रक्रियामा प्रवेश गर्नुपर्ने भन्दै वैशाखभित्रै नयाँ चुनाव गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । कांग्रेसले २४० सदस्यीय प्रत्यक्षसँगै सानो संख्या रहने गरी समानुपातिकबाट संविधानसभा चुनाव एकैपटक गर्ने प्रस्ताव पनि गरेको छ ।
‘हालको चुनाव क्षेत्रबाट प्रत्यक्ष निर्वाचित २४० र समानुपातिकबाट सानो संख्यामा संविधानसभाको चुनाव गर्ने,’ कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘संविधानसभाले एक वर्षभित्र संविधान निर्माण गर्ने र संसद्का रूपमा पनि कार्य गर्ने । संविधान जारी भएपछि बााकी चार वर्ष संसद्का रूपमा कार्य गर्नेछ ।’
गत भदौमा पुन:स्थापना र नयाँ चुनाव दुवैको विकल्प खुला राखे पनि बुधबारको बैठकबाट संविधानसभा/संसद् चुनाव एकैपटक गर्नुपर्ने प्रस्ताव कांग्रेसले ल्याएको हो । कांग्रेसले संविधानसभाले एक वर्षभित्र काम गर्ने र चार वर्ष संसद् रहने गरी नयाँ चुनाव गर्नुपर्ने जनाएको छ ।
महामन्त्री कृष्णप्रसाद सिटौलाले आफूहरू संविधानसभाबाटै संविधान बनाउनुपर्छ भन्नेमा दृढ रहेको बताए । उनले भने, ‘राजनीतिक सहमतिमै संविधानसभा/संसद्को चुनाव गर्नुपर्छ ।’ बुधबारको बैठकमा सिटौलाले गत भदौको प्रस्तावलाई परिमार्जन गर्दै चुनावमा जाने प्रस्ताव पेस गरेका थिए । डा. बाबुराम भट्टराई नेतृत्वको सरकार हटाएर कांग्रेस नेतृत्वमा सहमतीय सरकार बन्नुपर्ने निर्णयसमेत बैठकले गरेको छ ।
अहिलेको सरकारलाई बजेट ल्याउने अधिकार नभएको उल्लेख गर्दै बजेट र नयाँ चुनावको मिति घोषणा सहमतिको सरकारले मात्रै गर्नुपर्ने बडुले बताए । राजनीतिक, कानुनी तथा नैतिक दृष्टिले वर्तमान सरकारले वैधानिकता गुमाइसकेको निष्कर्ष निकाल्दै बैठकले थप राजनीतिक विमति नबढाउन पनि वर्तमान सरकार हटाउनुपर्ने जनाएको छ ।
बैठकमा देउवा, पौडेललगायत नेताले चुनावका लागि पनि पुन:स्थापना आवश्यक भएको धारणा राखेका थिए । ‘एमाओवादीले संविधानसभा पुन:स्थापना र चुनावको दुईवटा विकल्प ल्याएको छ, यी दुवै विकल्पमा ऊ इमानदार नदेखिए पनि राजनीतिक सहमतिलाई साँघुरो बनाउनुभन्दा विकल्प खुला राख्नुपथ्र्यो,’ केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले भने ।
संविधानसभा विघटनदेखि नै पुन:स्थापनाको पक्षमा रहेका देउवाले बुधबारको बैठकमा पनि चुनावमा जान संविधानसभा पुन:स्थापना गर्नुपर्ने अडान दोहोर्‍याएका थिए । देउवा, पौडेलसहित पुन:स्थापनाको पक्षमा रहेका नेताले चुनावमा विरोध नजनाए पनि पुन:स्थापनाको विकल्पलाई खुला राख्दा राजनीतिक सहमति कायम गर्न सहज हुने बताएका थिए । सभापति सुशील कोइरालाले भने पुन:स्थापनको कानुनी आधार मात्र होइन, जनचाहना पनि नभएको भन्दै चुनावमा जानुपर्ने निर्णय सुनाएका थिए ।

प्रतिक्रिया