“टिकट नपाएर लुट हेर्न पाइनँ”

नेपाली चलचित्रलाई माया गर्नेमध्येमै पर्छु । बढीजसोचाहिँ बलिउड चलचित्र हेर्छु । हलिउड र नेपाली चलचित्र पनि ठीकै हेर्छु । कतिपय नेपाली चलचित्र हेर्ने चाहना हुँदाहुँदै पनि रिलिज डेट थाहा नपाउँदा छुट्ने गरेका छन् । कतिपयचाहिँ फुर्सद अभावले पनि हेर्न पाइरहेकी हुन्न ।
जन्म भारतमै भएकाले हिन्दी चलचित्र बढी हेर्ने बानी परेछ । हेरेको पहिलो नेपाली चलचित्रचाहिँ बलिदान हो । एकदमै राम्रो लाग्यो । यसका गीतसंगीत राम्रा र सान्दर्भिक छन् । पहिलोचोटि हेरेको चलचित्र भएकाले होला, त्यसको छाप अझै मनमा ताजै छ ।
गत वर्षको दसैँमा मेरो एउटा साथी छ हेरेँ । राम्रो लाग्यो । चर्चा भएका नेपाली चलचित्र हेर्ने चाहना हुन्छ । पछिल्लो समयको चर्चित चलचित्र लुट भने हेर्न पाइनँ । सिभिल मलमा दुईचोटिसम्म पुग्दा पनि टिकट पाइनँ । हुन त अहिले सिडीमा पनि आएको होला तर मलाई सिडीमा हेर्नै मन लाग्दैन । माओवादी आन्दोलनका विषयमा बनेका लालसलाम लगायत अरू केही चलचित्र पनि हेरेकी छु । दासढुंगा र मुनामदन पनि मन लाग्दालाग्दै हेर्न पाइनँ । कहिले मिटिङ अनि कहिले हाउस गर्दागर्दै छुटिहाल्यो । कलाकारमा नायक भूपेन चन्दको अभिनय एकदम मन पर्छ ।
रियालिस्टिक विषयका चलचित्र बढी राम्रा लाग्छन् । हलिउड, बलिउड वा कलिउड जहाँकै हुन्, सकभर हेरिहाल्छु । शेर्पाहरूको विषयमा बनेको रियालिस्टिक डकुमेन्ट्री जर्नीटु हेरेकी छु ।
मैले दर्शकका रूपमा देखेका नेपाली चलचित्रका कमजोरी भनेको स्क्रिप्ट नै हो । नेपाली स्क्रिप्ट राइटरले मेहनत गर्नुपर्ने देखिन्छ । त्यसो त कलाकारले पनि अभिनयमा आवश्यकताअनुसार रियालिटी झल्काउन सकेका छैनन् । चिच्याउँदैमा वा मुख बिगार्दैमा अभिनय हुन्छ भन्ने भ्रम कलाकारले त्याग्नुपर्छ ।
नेपाली चलचित्र छायांकनका लागि सिक्किम अनि विदेशतिर पनि पुग्ने गरेको सुनेकी छु । नेपाली चलचित्रकर्मीले छायांकनका लागि त्यसरी बाहिर भौंतारिनुपर्छ जस्तो मलाई लाग्दैन । नेपालमै एक से एक सुन्दर अनि मनोरम ठाउँ छन् । केबल तिनीहरूलाई पर्दामा उतार्न जान्नुपर्‍यो ।
अहिले चलेका कलाकारमा राजेश हमाल र आर्यन सिग्देललाई चिन्छु । राजेशको जस्तो पर्फेक्ट अभिनय गर्ने कलाकार कोही छैन । अभिनेता नीर शाह पनि पर्फेक्ट हुनुहुन्छ । नेपाली चलचित्रको गीतसंगीत भने उति गुणस्तरीय बन्न सकेजस्तो लाग्दैन । उध्रेको चोलीजस्ता गीत अब नबनाए पनि हुन्छ । चलचित्रका गीतमा शब्दको गहिराई छैन । अनि संगीत पनि शब्दअनुसार नमिलेको महसुस हुन्छ ।
चलचत्रकर्मीले चलचित्र उद्योग धराशायी भयो भनेको सुनेकी छु । किन र कसरी मैले बुझेकि छैन । चलचित्र हेर्दा र मिडियाबाट थाहा पाउँदा सानो बजेटमा पनि राम्रा चलचित्र निर्माणको सुरुआत भएको छ । तर, यसमा राज्यले जति प्रोत्साहन गर्नुपर्ने त्यो हुन सकेको छैन । यसैको अभावमा पब्लिकले रुचाउने चलचित्रको कमी भएको हुन सक्छ । राम्रो चलचित्र बनाउनेलाई विभिन्न अवार्ड र सहुलियतमार्फत राज्यले प्रोत्साहन गरेको खन्डमा चलचित्रकर्मीहरूको ध्यान गुणस्तर वृद्धितर्फ जानेछ । गुणस्तरीय चलचित्रले उद्योगलाई उँभो लगाउँछन् । नेपाली चलचित्रको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सक्छ ।
प्रस्तुती : कुबेर गिरी

प्रतिक्रिया