टिभी च्यानलको मर्म र आवश्यकता

नेपालमा टिभी च्यानल धेरै भए । टेलिभिजन लाइसेन्स लिने प्रक्रियाबारे जिज्ञासा राखिरहँदा सूचना तथा सञ्चार मन्त्रालयका एक विद्वान कर्मचारीको कठोर सुझाव थियो । छेवैमा रहेका एक प्राविधिकले थपे, टिभीले त एफएम भन्दा सस्तोमा विज्ञापन बजाउन थाले । भएकै टिभी त बाँच्न नसक्ने भैसके किन नयाँ टिभी ?
नेपाल पत्रकार महासंघको अगुवाइमा भएको तलब नपाएका पत्रकारको अन्तक्र्रियामा उठ्यो गम्भीर सवाल । टेलिभिजनमा गैरव्यवसायिक मालिक भित्रिए । बजार नबुझी पैसाको तुजुकमा टिभी खोल्ने अस्वस्थ होडबाजीले गर्दा अब टिभीको भविष्य छैन । एक दर्शकले बन्द भएको नेशनल टिभीको प्रसंगमा सहानुभूति दर्शाउँदै प्रतिक्रिया दिए । हो, समकालीन नेपाली टेलिभिजन बजारमा यस्ता अनेक खालका सवालहरू उठ्न थालेका छन् जस्तै, राजा वीरेन्द्रको निर्देशनमा नीर शाहको नेतृत्वमा ०४२ मा खुलेको सरकार नियन्त्रित नेपाल टेलिभिजनले करिव साँढे ३ दशकको उमेर पार गरेको छ अनि एक दर्जन बढी निजी टिभी च्यानलले दर्शकसँग सामिप्यता बढाएका छन् ।
निश्चय नै सरकारको आँखाबाट, दर्शकको दृष्टिबाट हेर्दा यस्ता सवालहरूमा विमति राख्ने ठाउँ रहन्न । तथापि, नेपालमा टिभी च्यानल धेरै भए अनि अब बजार खुम्चियो भन्ने विश्लेषण आपैँmमा वस्तुपरक यथार्थ होइन । नेपाल जस्तो उदाउँदो राष्ट्रमा १२–१४ वटा राष्ट्रिय स्तरका टिभी धेरै होइनन् । किन कि करिब तीन करोड जनसंख्यामा ५० प्रतिशत भन्दा कम दर्शकले मात्रै टिभीको उपभोग गर्न पाएका छन् । यस अर्थमा टिभी धेरै भए भन्ने तर्क हास्यास्पद छ । नेपालमा कम्तीमा ७५ वटै जिल्ला र चार हजार बढी गाविस अनि सबै सदरमुकाम नगरक्षेत्रका जनतालाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्ने दर्जनौँ टिभी च्यानलको खाँचो छ । फरक यति हो, नेपालमा पछिल्लो वर्षमा जति टिभी खुले, तिनले एकले अर्काको नक्कल गर्ने प्रवृत्ति मात्रै देखाएका कारण टिभी सबै उस्तै–उस्तै हुँदै गएका छन् । टिभीका प्रस्तुतिहरूमा मौलिक भिन्नता नभएकै कारण यस्तो भएको हो ।
जहाँसम्म टिभी मालिकको कुरा छ, ती सबै पूर्ण व्यवसायिक छन् भन्न सकिन्न र सबै दूधले नुहाएका चोखा छन भन्न पनि सकिँदैन । औसत सबै मालिकबारे कम्तीमा पठित समाज विज्ञ छ । यस अर्थमा मालिकहरू कम व्यवसायिक र श्रमजीवि पत्रकार अलिक बढी व्यवसायिक देखिएको चाहिँ धेरैले नपचाउने यथार्थ बन्दै गएको छ । तर, यो क्रम र प्रवृत्तिमा पूर्णविराम निर्विकल्प छ । नेपाल टेलिभिजनलाई अपवाद मान्ने हो भने नेपाली टेलिभिजन बजारको प्राय: सबै जनशक्ति स्व.जमिम शाहको च्यानल नेपालद्वारा उत्पादित भएका हुन् । निजी क्षेत्रबाट पहिलो स्याटलाइट टिभी उनले नखोलिदिएका भए अहिलेका टिभीले अधिकांश जनशक्ति कहाँ पाउँथे ? भन्न खोजिएको के हो भने, श्रमजीवि पत्रकारका लागि सञ्चारगृह, टिभी स्टेशनहरू कम्तीमा देश र जनतामारा मालिक बाहेकका हुनु मात्रै पनि बेफाइदाको कुरा नहुँदो रहेछ यो प्रमाणित सत्य हो ।
असल व्यापारी सञ्चारमा लगानी गर्दैनन् । राज्यको सञ्चारमा लगानी भनेको गोरखापत्र, रासस, रेडियो नेपाल वा नेपाल टिभी बाहेकमा भएको छैन । अनि, जो मालिकले लगानी गर्छन् निजी तवरमा के तिनको लगानीले आजसम्म राष्ट्रघात गरेको छ त ? तिनको लगानीले सञ्चार उद्योग धरासायी भएको छ त ? श्रमजीवि पत्रकारकाले परिचय पत्र लुकाउनु पर्ने अवस्था आएको छ र ? पक्कै पनि यस्ता सवालहरू उपर सञ्चारमा लगानी बढोस भनि कामना गर्नेहरूले सोच्नुपर्ने हो कि ?
पछिल्लो समय नाटकीय ढंगमा बन्द गराइएको नेशनल टेलिभिजनका करिव डेढ सय कर्मचारी मध्ये अधिकांश आपैँm बेरोजगार छन् । आफ्नो काममा सक्षम श्रमजीवि पत्रकारहरूलाई समेत तत्काल काम दिन सक्ने क्षमतामा धेरै टिभी स्टेशनहरू देखिएका छैनन् । टिभीहरू पूर्ण व्यवसायिक नभएकाले यस्तो स्थिति सिर्जना भएको हो । एउटा टिभी बन्द हुँदा कम्तीमा सय जनाको रोजीरोटी खोसिन्छ । त्यसको सामाजिक असर र सञ्चार उद्योगको घाटा निश्चय नै अपूरणीय हुन्छ । तर, यसतर्फ कसको ध्यान जान्छ त ?
उठाउन खोजिएको सवाल यति मात्रै हो कि करिव तीन दर्जन टिभीले लाइसेन्स लिएर पनि प्रशारण बिना नै लेटरप्याड र कम्पनी अनि मन्त्रालयका फाइलमा सीमित हुनु परेको छ । बन्द नभएका भए पनि केही अपवाद बाहेक अधिकांश टिभी च्यानलले कम्तीमा ३ महिनादेखि ६ महिना, वर्षदिनसम्म श्रमजीवि पत्रकारको तलब दिएका छैनन् ।
यस विषम परिस्थितिमा कम भन्दा कम खराब मालिकहरू जन्माउँदै टिभीको संस्था गुणस्तर र विषयगत हिसाबले थपिनु कम्तीमा राष्ट्र र जनताका लागि अहितकर नहोला कि ? सबभन्दा खतरनाक पक्ष त के पनि देखिँदैछ भने टेलिभिजनका सम्पादकीय डेस्कहरू कमजोर हुन थालेका छन् । भनौ मालिक नै सम्पादक छन् । यसले विज्ञापन नै समाचार प्रशारणको निर्णायक तत्व हुने प्रवृत्ति दिनानुदिन मौलाउँदो छ । विज्ञापन आउने शर्तमा जस्ता पनि प्रसंग समाचार बन्ने प्रवृत्तिले र छिटो, फरक वा तथाकथित विशिष्ट विश्वसनीय देखाउने लोभले समाचार डेस्कहरू उडन्ते र हाँस्यास्पद बन्दै गएका छन् । मालिकका रुचि अनुसारको समाचार बज्नु मालिक नियन्त्रित टिभी संस्कार हो, जसले स्वतन्त्र, उत्तरदायी पत्रकारितामा ठेस पुर्‍याउँछ । अधिकांश निजी टिभीहरू मालिकको तुजुकी होडमा खुलेका छन् । अब, घरखेत बन्दकी राखेर टिभी खोल्ने साहुजीहरूले बरु विषयगत र व्यापारिक रूपमा एकीकृत रूपले स्टेसनहरू चलाउनेतिर कसरत गर्दा पो राम्र हुन्थ्यो कि ? नामले उद्योगको दर्जा पाए पनि यो क्षेत्र उद्योग भइनसकेको परिप्रेक्ष्यमा टुक्रे लगानी र बडा लगानीका मालिकबीच एकीकृत प्रयास भए सबैको भलो नहोला र ?

प्रतिक्रिया