दलहरुका बीच शुक्रबारसम्म सहमति गर्छौं

काठमाडौं, १४ कात्तिक । प्रमुख दलका शीर्ष नेताहरुले पर्सी शुक्रबारसम्म राजनीतिक सहमति गरेर मुलुकलाई निकास दिने दाबी गरेका छन् ।
दसैंका अवसरमा एमालेले आज पार्टी कार्यालय बल्खुमा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनहीले शुक्रबार छलफल गरेर एउटा निष्कर्षमा पुग्ने बताए । उनीहरुले आजै मात्रै पनि प्रमुख दलहरुका बीच परामर्श भएको भन्दै निकास आउनेमा आशावादी रहेको बताए ।
सञ्चारकर्मीसँग कुरागर्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले दलहरुका बीच पर्सीसम्म एउटा सहमति हुने बताए । ‘दलहरुको बैठक पर्सी बस्ने भरखर सल्लाह भएको छ,’ उनले भने, ‘शुक्रबार सम्म निर्वाचन वा पुनःस्थापना जेमा गए पनि निर्णय एउटा गर्छौं ।’
प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकलाई निकास दिन दलहरुका बीच हुने सहमतिमा आफू बाधक नबन्ने बताए । ‘दलहरुले गरेको सहमतिमा म बाधक बन्दैन,’ उनले भने, ‘दलहरु बीच हुने सहमति कार्यान्वयन गर्न म तयार छु ।’
कांग्रेस सभापति सुशील कोइरालालाई सुशील सहमतिका लागि वर्तमान सरकारले मार्ग प्रसस्त गर्नु पर्ने बताए । ‘पहिला सरकारले मार्ग प्रसस्त गर्नु पर्छ,’ उनले भने, ‘अबको विकल्प भनेको नयाँ निर्वाचनमा जाने हो ।’
सहमति र सहकार्यबाटै मुलुकले निकास आउने बताउँदै उनले सोही अनुरुप दलहरु अगाडि बढ्नु पर्ने बताए ।
एमाले अध्यक्ष झलनाथ खनालले दलहरुका बीच निर्वाचनमा जाने सहमति भईसकेकाले त्यसको प्रक्रियाका बारेमा छलफल आवश्यक रहेको बताए । ‘दलहरुका बीच निर्वाचनको विकल्प छैन,’ उनले भने, ‘अब निर्वाचनको प्रक्रिाय र प्रद्धतिका बारेमा मात्रै छलफल गर्नु पर्छ ।’
चियापान समारोहमा एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक एवम् आमन्त्रित पाहुनाको उल्लेख्य सहभागिता रहेको थियो । अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका केन्द्रीय नेताले आगन्तुकको स्वागत गरेका थिए ।
यसैबीच, नेपाली कांग्रेसको चियापान समारोहमा अनुपस्थित भएका प्रधानमन्त्री भट्टराई एमालेको चियापान समारोहमा भने सहभागी भए ।
‘सानो चित्ता बनाएर राजनीति हुँदैन,’ सोही मान्यताका आधारमा प्रधानमन्त्री भट्टराई चियापानमा सरिक भएको उनका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए ।
‘प्रधानमन्त्री उपत्यका बाहिर भएका कारण कांग्रेसको चियापानमा अनुपस्थित हुनु भएको हो,’ पाण्डेले भन्ने, ‘कांग्रेसले पनि चियापानमा बोलाएको थियो ।’ कांग्रेसको चियापानमा मन्त्रीहरु गए पनि प्रधानमन्त्री भट्टराई भने गएनन् ।
एमालेले प्रधानमन्त्री भट्टराईलाई एमाओवादीका उपाध्यक्षको हैसियतमा बोलाएको स्रोतको भनाई छ । एमालेले प्रधानमन्त्री र मन्त्रीहरु राजनीतिक निकासका लागि बाधक रहेको भन्दै बहिष्कार गर्दै आएको छ ।
एमालेले दशैं, तिहार, छठ, इदलगायतका पर्वका अवसरमा शुभकामना आदान प्रदान गर्न कोजाग्रत पूर्णिमाको दोस्रो दिन चियापना कार्यक्रम गर्दै आएको छ । तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको पालादेखि चल्दै आएको परम्परालाई एमालेले निरन्तरतता दिदै आएको हो ।

प्रतिक्रिया