सफल पोखरा कप फुटबल आजदेखि

पोखरा, १४ कात्तिक । मोफसलमा सर्वाधिक पुरस्कार राशि भएको सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो संस्करण मंगलबारदेखि पोखरामा सुरु हुँदै छ । पोखरा रंगशालामा २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी तीनसहित १२ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले उद्घाटन गर्ने कार्यक्रम छ ।
उद्घाटन खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । विभागीय टिम एपिएफ क्लबको कप्तानी पूर्वराष्ट्रिय खेलाडी कुमार थापाले गर्दैछन् भने राष्ट्रिय टिमका कप्तान सागर थापाको कप्तानीमा फ्रेन्ड्स क्लब मैदानमा उत्रदै छ । यसअगाडि राजधानीमा सम्पन्न एनसेल कपमा सेमिफाइनलसम्म पुगेको एपिएफ तीनजना पूर्वराष्ट्रिय खेलाडी गणेश लावती, समितराज भण्डारी र कुमार थापाका साथमा मैदानमा उत्रदै छ । मंगलबारको खेल जसरी पनि जित्ने एपिएफका टिम कोच जनकसिंह थारू बताउँछन् । दसैँको बेला भए पनि खेलका लागि राम्रो तयारीमा रहेको उनले जनकारी दिए । एनसेल कपमा ३–२ गोल अन्तरले पराजित भएको फ्रेन्ड्स क्लबलाई आाफूहरूले कम आँकलन नगरेको भए पनि जित निश्चित रहेको उनको दाबी छ ।
यता फ्रेन्ड्स क्लब एनसेल कपमा एपिएफसँग भएको हारको बदला लिने दाउमा रहेको छ । राष्ट्रिय खेलाडीहरू सागर थापा, निराजन खड्का, जगजित श्रेष्ठ र दीपक भुसालका साथमा मैदानमा उत्रिने फ्रेन्ड्सले मंगलबारको खेलमा सहजै बदला लिने टिम व्यवस्थापक सुशील केसी बताउँछन् । उनले दसैँमा कम समय मात्र खेलाडीलाई बिदा दिएर खेलमा अभ्यास गराएको र जित्ने तयारीका साथ मैदानमा उत्रन लागेको जानकारी दिए । एनसेल कपमा आफ्ना खेलाडीले राम्रो प्रदर्शन गरेको भए पनि पराजय भोग्नु परेको बताएका उनले मंगलबार सहज जित हात पार्ने दाबी गरे ।
सफल पोखरा कपको पहिलो संस्करणमा सहभागिता नजनाएका यी दुवै टिमबीचको प्रतिस्पर्धा रोचक हुने पोखरेली दर्शकले अपेक्षा गरेका छन् । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब मनाङ्ग मस्र्याङ्गदी, यती हिमालयन शेर्पा, आरसिटी, एनआरटी, फ्रेन्डस् क्लब, मच्छिन््रद्र क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल प्रहरी, आयोजक पोखरा–११ का साथै भारतको कलकत्ता पोर्ट ट्रस्ट क्लब, भुटानको ड्रुप पोल फुटबल क्लब र बंगलादेशको यु–२३ राष्ट्रिय टिमको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी हुने कतिपय टिम पोखरा आइसकेका छन् । एनसेल कप विजेतासमेत रहेको मनाङ, एपिएफ, फ्रेन्ड्स्, एनआरटी र आरसिटी पूर्वअभ्यासका लागि केही दिन अघिदेखि नै पोखरामा आइसकेको एन्फा कास्कीका अध्यक्ष गुरुङले जानकारी दिए ।
सफल पोखरा कपको उपाधी विजेताले नगद तीन लाख पाँच हजार र उपविजेताले नगद एक लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछ । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजक एन्फा कास्कीले जनाएको छ । एन्फा कास्कीले यस वर्षदेखि जिल्लाको उत्कृष्ट वर्ष खेलाडी र खेलकुद विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने एकजना पत्रकारलाई समेत सम्मान गर्ने भएको छ । कास्की जिल्ला फुटबल संघद्धारा स्थापित अक्षयकोषमार्फत उत्कृष्ठ वर्ष खेलाडीलाई नगद २५ हजार रुपियाँ र खेलकुद पत्रकारलाई १५ हजार नगद पुरस्कारसहित सम्मान गरिने संघका अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार अक्षयकोषमा अहिलेसम्म सात लाख जम्मा भइसकेको छ ।
प्रतियोगिता अवलोकनका लागि प्रि–क्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका लागि छुट्टा–छुट्टै टिकटको व्यवस्था गरिएको छ । प्रि–क्वाटरफाइनल खेल अवलोकनका लागि ६० रुपियाँ, क्वाटरफाइनलका लागि ८० र सेमिफाइनल र फाइनलका लागि एक सय रुपियाँ दर्शकले खर्चिनुपर्ने छ । एन्फा कास्कीले खेल मैदानकै लागि ३ लाख रुपियाँ खर्च भएको जनाएको छ । मैदानमा दुबो रोपेर हरियाली बनाइएको छ । दर्शक चापलाई ध्यानमा राखेर थप हजार दर्शक अटाउने वैकल्पिक प्याराफिटको निर्माण गरिएको छ ।
पोखरा रंगशालामा अन्तर्राष्ट्रिय स्तरको चेन्जिङ रुम
पोखरा : पोखरा रंगशालामा अन्तर्राष्ट्रिय स्तरको चेन्जिङरुम निर्माण गरिएको छ । करिब ३० लाखको लागतमा निर्माण गरिएको चेन्जिङरुमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले सोमबार उद्घाटन गरे । उद्घाटनपश्चात् चेन्जिङरुमको निरीक्षण गर्दै लामाले पोखरालाई अन्तर्राष्ट्रिय रूपमै ‘खेलकुदको हब’को रूपमा विकास गर्ने सोचाइका साथ राष्ट्रिय खेलकुद परिषद् र सरकारसमेत लागिपरेको बताए ।
उनले अब आउने पूर्ण बजेटमा रकमको व्यवस्था गरेरै पोखरा रंगशालामा अन्तर्राष्ट्रियस्तरको कवर्डहल निर्माण कार्यलाई अगाडि बढाइने जानकारी दिए । कास्की जिल्ला खेलकुद विकास समितिको पहलमा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको चेन्जिङरुम निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्बाट १० लाख रुपियाँ र अर्थमन्त्रालयमार्फत जिल्ला विकास समितिबाट १० लाख रुपियाँ गरी प्राप्त भएको २० लाख रुपियाँ लागतमा निर्माणकार्य सम्पन्न भएको हो । अन्य प्रविधि जडानका लागि थप १० लाख रुपियाँ समेत खर्च गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया