नयाँ विकल्प भए ल्याउनुस् : प्रधानमन्त्री

गुल्मी, १४ कात्तिक । गतिरोध अन्त्यका लागि अघि सारेका प्रस्ताव स्वीकार नगर्ने राजनीतिक दललाई विकल्प ल्याउन प्रधानमन्त्री बाबुराम भट्टराईले चुनौती दिएका छन् । राजनीतिक र वैधानिक संकट समाधानका लागि आफूहरूले छोटो अवधिका लागि संविधानसभाको पुन:स्थापना र नयाँ निर्वाचन दुवै विकल्प खुला राखेको र त्यसमा सहमति नगर्ने दललाई अन्य विकल्प ल्याउन उनले चुनौतीका दिएका हुन् ।

‘दुवै विकल्प खुला राखेका छौँ,’ अर्घाखाँचीको अर्घामा जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले भने, ‘कुनै नयाँ विकल्प भए ल्याउनुहोस्, छलफल गर्न तयार छौँ ।’
प्रधानमन्त्री भट्टराईले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरी नयाँ निर्वाचन गराउनुको विकल्प नभएको दाबी गरे  । ‘अन्तरिम सविधानअनुसार वैधानिक ढंगले अर्को सरकार बनाउने बाटो छैन’, उनले भने, ‘अन्तरिम संविधानअनुसार गठन भएको सरकारले राजीनामा दिएपछि अर्को सरकार गठन गर्ने वैधानिक प्रावधान नै छैन ।’ प्रधानमन्त्रीको राजीनामापछि मात्र सहमतिमा जान सकिने प्रतिपक्षीको भनाइतर्फ इंगित गर्दै प्रधानमन्त्री भट्टराईले प्याकेजमा सहमति गरी आफ्नै नेतृत्वमा राष्ट्रिय सरकारको गठन गरेर मात्र नयाँ निर्वाचनमा जान सकिने स्पष्ट पारे ।
कात्तिक महिनाभित्र नै राजनीतिक संकटको निकास निस्कनेमा आशावादी हुँदै प्रधानमन्त्री भट्टराईले भने, ‘दलहरूबीच घनिभूत छलफल भइरहेको छ, तिहारअघि नै निकास निस्कनेमा विश्वस्त छु ।’
राजनीतिक गतिरोध अन्त्यका लागि सबै दल उत्तिकै जिम्मेवार भएको बताउँदै प्रधानमन्त्री भट्टराईले राजनीतिक तरलताको अवस्थामा दलहरू मिलेर जानुको विकल्प नभएको बताए । ‘अहिले हामी एउटै डुंगामा यात्रा गरिरहेका छौँ, डुंगामा प्वाल परेमा सबै डुब्छौँ,’ भट्टराईले भने ।
उनले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय समुन्नतिका लागि आधार तयार पारेको दाबी गरे । ‘देशमा भ्रष्टाचार रोक्न र सुशासन कायम गर्नका लागि २०१ बुँदे कार्ययोजना ल्याएका छौँ, गरिबीको पहिचान गरी परिचयपत्र दिने कार्यको थालनी भएको छ, स्वदेशी र विदेशी पूँजी लगानीलाई सहज बनाउन लगानी बोर्डको गठन गरी राष्ट्रिय महत्त्वका परियोजना कार्यान्वयनको क्रममा छन्,’  उनले बेलिबिस्तार लगाए, ‘प्रतिव्यक्ति आय वृद्धि गरी तीन हजार डलरमा पुर्‍याउने लक्ष्य रहेको छ ।’
कार्यक्रममा एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य एवं शान्ति तथा पुन:निर्माण एवं भौतिक योजनामन्त्री टोपबहादुर रायमाझीले एमाले र कांग्रेसले सरकारबाहेक अन्य केही नदेखेको आरोप लगाए ।

प्रतिक्रिया