पूर्ण बजेटमा अवरोध नगर्न आग्रह

काठमाडौं, १३ कत्तिक । एक तृतियांश बजेट सकिन लागेको भन्दै सत्तारुढ दलहरुले मुलुक चलाउन आवश्यक पर्ने पूर्ण बजेटमा अवरोध नगर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ दलहरुको बैठकले पूर्ण बजेटका लागि तयारी गर्ने सहमति गरेको हो । बैठकले पूर्ण बजेटका लागि दलहरुसँग परामर्श गरेर सहमतिमा पूर्ण बजेट ल्याउने तयारी गर्ने निर्णय गरेका हुन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मुलुकका लागि आवश्यक पर्ने पूर्ण बजेट ल्याउन कसैले अबरोध गर्न नहुने बताए । उनले भने, ‘मुलुकलाई ठप्प पार्ने गरेर पूर्ण बजेटमा कसैले पनि राजनीति गर्नु हुँदैन ।’
पूर्ण बजेट ल्याउन तयारी गर्न सरकारलाई सत्तारुढ दलहरुले सुझाव दिएको अध्यक्ष ठाकुरले उल्लेख गरे ।
बजेटका विषयमा विपक्षी दलहरुले विरोध गरिरहेका बेला सरकारले पूर्ण बजेटको तयारी गरेको हो ।
यसैबीच, बैठकमा संविधानसभा पुनःस्थापनामा मधेसी मोर्चाले असहमति जनाएको छ । एमाओवादीले पुनःस्थापनाका लागि गरेको प्रस्तावलाई मधेसी मोर्चाले अस्वीकार गर्दै नयाँ निर्वाचनमा जानुपर्ने धारणा अघि सारेको फोरम गणतान्त्रिकका अध्यक्ष समेत रहेका सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।
एमाओवादीले संविधानसभा पुनःस्थापना गर्नुपर्ने तथा त्यसमा सहमति हुन नसके नयाँ निर्वाचनका लागि वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिनुपर्ने प्रस्ताव गर्दै आएको छ ।

प्रतिक्रिया