भेटललाई इन्डियन ग्राँ पी

नयाँदिल्ली : भारतको ग्रेटर नोएडा क्षेत्रमा निर्मित बुद्ध इन्टरनेसनल सर्किटमा आइतबार सम्पन्न दोस्रो इन्डियन ग्राँ पी फार्मुला वान रेस रेडबुल रेनाल्ट ड्राइभर सेबास्टियन भेटल लगातार दोस्रोपटक विजेता बनेका छन् । अभ्यास सत्रमा पनि पहिलो स्थानमै रहेका जर्मनीका २५ वर्षीय भेटलले फेरारी ड्राइभर फर्नान्डो अलोन्सोलाई केवल १० सेकेन्डको अन्तरले दोस्रो स्थानमा धकेलेका हुन् । भेटल गत वर्ष पहिलोपटक आयोजित इन्डियन ग्राँ पी उपाधिका डिफेन्डिङ च्याम्पियन पनि हुन् ।
दक्षिण कोरिया, जापान, सिंगापुर र बहराइनमा समेत फार्मुला वान रेसमा सफलताको झन्डा गाडिसकेका भेटलले फेरि एकपटक आफ्नो क्षमता प्रमाणित गरी देखाए । क्वालिफाइङ राउन्डमा दोस्रो स्थानमा रहेका रेडबुलकै मार्क वेभर तेस्रो स्थानमा रहे भने म्याक्लारिनका लुइस ह्यामिल्टन र जेन्सन बटन क्रमश: चौथो र पाँचौँ स्थानमा रहन सफल भए । भेटलले यो रेस १ घन्टा ३१ मिनेट १०.७४४ सेकेन्डमा पूरा गरे । दोस्रो स्थानमा रहन सफल अलोन्सोले १ घन्टा ३१ मिनेट २०.१८१ सेकेन्ड समय लिए र उनी केवल १० सेकेन्डले गर्दा उपाधिबाट वञ्चित भए । (एजेन्सी)

प्रतिक्रिया