औद्योगिक क्षेत्र स्थापना ओझलमा

कञ्चनपुर : वन मन्त्रालयले जग्गाका लागि स्वीकृति नदिँदा कञ्चनपुरको दैजी बछेलामा स्थापना गर्न लागिएको औद्योगिक क्षेत्रको कार्य अलपत्र परेको छ ।
तीन वर्षअघि उद्योग मन्त्रालयको उच्चस्तरीय टोलीले सम्भाव्यता अध्ययन गरी औद्योगिक क्षेत्र स्थापनाका लागि बछेलालाई उपयुक्त ठहर गरेको थियो । अनुगमनपछि टोलीले बछेला क्षेत्रलाई औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणाको तयारी गरेको थियो ।
वन मन्त्रालयसँग जग्गाको स्वामित्व औद्योगिक क्षेत्रलाई हस्तान्तरण गर्नका लागि प्रस्ताव पठाए पनि अहिलेसम्म स्वीकृति प्रदान नगर्दा औद्योगिक क्षेत्र स्थापनाको कार्य अगाडि बढ्न नसकेको उद्योग वाणिज्य संघ कञ्चनपुरका उपाध्यक्ष जंगबहादुर मल्लले बताए ।
स्थानीयन व्यवसायीको प्रतिनिधिमण्डलले पटकपटक प्रधानमन्त्री, वन मन्त्री, उद्योग मन्त्रीलगायत भेटेर औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गरिदिन आग्रह गर्दासमेत आश्वासन दिनेबाहेक अन्य कार्य अगाडि बढ्न नसकेको मल्लले बताए ।
उद्योग व्यवसायीको आग्रहमा पटकपटक उद्योग मन्त्रालयले वन मन्त्रालयलाई जग्गा हस्तान्तरणका लागि पत्राचार गरे पनि कार्य अगाडि बढ्न नसकेको उद्योग वाणिज्य संघ कञ्चनपुरका पूर्वअध्यक्ष हेमविक्रम थापा बताउँछन् । यहाँका उद्योग व्यवसायीले ०३९ सालदेखि सरकारसँग औद्योगिक क्षेत्र स्थापनाका लागि माग गर्दै आएका छन् । (सौस)

प्रतिक्रिया