जिन्दगीको यो मोडसम्म आइपुग्दा यो २०६९ को दसैँले मलाई खुब रुवायो । त्यसो त थुपै दसैँमा एक्लै रोएको छु । कहिले अरबको मरुभूमिमा, कहिले जापानमा, कहिले अमेरिकामा । तर, यसपालीको रुवाइ साँच्चै जिन्दगीको रुवाइ थियो । एउटा अस्तित्वहीन सुकुम्बासी भएर । खासै जाने बस्ने ठाँउ कतै थिएन । आमा जिउँदो छउन्जेल त्यो मूल घर न्यानो मायाको घर थियो । आमाको मृत्युले त्यो पनि सुनसान बनाएको छ । तै पनि, त्यो भन्दा नजिक मेरो जाने ठाँउ कतै छैन । जाने सोच त बल्ल–बल्ल बनाएँ । त्यहाँ सम्म पुग्ने बाटो खर्च पनि छैन । कात्तिक ८ गते टीका ६ गते भइसक्यो । हिड्दै सोचेँ । अब कसलाई भनाँै ? भोलि बिहान ७ गते हिँडिएन भने दाजुको हातको टीका लगाउन पनि पुगिँदैन । सोच मग्न भएर बाटोमा हिँडिरहेँ ।
यत्तिकैमा दिल्लीका एक शर्माजीले भनेको याद आयो । उसलाई एक दिन तीनसय रुपियाँको धेरै खाँचो परेछ । अन्योल र अस्थिर अवस्थामा बस बिसौनीमा उभिरहँदा हावाहुरी चलेछ । त्यस्तैमा सयको नोट हावाले फिलफिल उडाएर ल्याएछ, त्यो टिप्दा अरू दुईवटा पनि हावाले त्यसरी नै उडाएर ल्याएछ । त्यसरी उसको त्यो दिन जिन्दगी प्राप्त भएछ र त्यसपछि उसले मानेका देवीको पूजा प्रत्येक बिहान गर्ने गरेको रहेछ । त्यो देखेर म हास्थेँ । उसले हिन्दीमा भनेको थियो । ‘मोक्तान तुम एक दिन पश्तावोगे तुम्हारा जैसाही एक आदमी था वह बोल्ता था गड इज नो हव्येर लेकिन मर्नेके कुछ दिन पहले वही आदमी बोल्ने लगा गड इज हेयर’ । आफू सुतिरहेको कोठा भित्रै भगवान् छ भन्थे रे † मैले पनि उसले जस्तै पैसा भेट्छु भनेर सडकको वल्लो छेउ र पल्लो छेउ हजारको नोट हेरी हिडेँ । सडक किनाराको चिया पसलमा बसेर एक कप चिया खाए । समय दिनको ३:५० भइसक्यो । अब के गर्ने भन्ने मनमा हुटहुटी चलिरहेको छ । उपायहीन, बिकल्पहीन, कस्तो यो जिन्दगी । आँखाभरि आँसु छछल्कियो । दस रुपियाँ चियाको पैसा तिरँे अनि उठेर रुँदै हिडेँ । महेन्द्रचोक पुगे पछि अब कता जाने अलमलमै उभिएँ । अनायास मित्र भूपेन्द्र खनाललाई फोन गरेँ र भनँे खनाल सर दसैँमा कतै जाने बाटो खर्च पनि भएन । मित्रले सोध्नु भयो । ‘तपार्इं कहाँ हुनुहुन्छ ?’ महेन्द्रचोक मैले भनेँ । म त्यहीँ आउँछु भन्नुभयो । नजिकै हुनुहँुदोरहेछ । ५/७ मिनेटमै आउनुभयो र मलाई चार हजार दिनुभयो । मलाई भक्कानो छुट्ला जस्तै भयो । मैले रोएको आवाजमा भने खनाल सर तपार्इंको यो गुण कसरी तिर्न सक्छु होला । केही छैन उहाँले भन्नु भयो । मेरो बेहोसी आज मेरा लागि पर्दा भो । नारायण गोपालको गीत गुनगुनाए रुमालले आँसु र सिँगान पुछ्दै बजार तिर लागे अनि एउटा सेन्सर ब्लेट किनेँ । अनि पुस्तक पसलबाट (सपनाको समाधि उपन्यास किने भोलि बिहान बाटोमा पढ्न । होटलमा खाना खाएर कोठामा पुगँे ।
एकमनले भन्यो काठमाडौंमा फोन गर्न । अर्को मनले पर्दैन किन को छ र भन्यो । नातिनी प्रशंसा,नाती प्रसिद्ध ।केही दिन अघि प्रसिद्धसँग कुरा हुँदाहुँदै फोन काटिएको सम्झे । बिहान पाँच बजे काँकडभिट्टाको लागि हिडेँ ५:४५ मा बस छुट्यो । काँकडभिट्टा पुग्दासम्म मेरो आँखा सपनाको समाधिमा केन्द्रित रह्यो । मेरा छताछुल्ल बिचार शृंखलाहरू अन्योल, अस्पष्टता सबै यो किताबले केन्द्रित गर्यो । जो धेरै राम्रो भयो नत्र म झन् झन् विक्षिप्त बन्थेँ । काँकडभिट्टादेखि सिलगुडी हुँदै दार्जिलिङ महेन्द्र जीपमा हुइँकिएँ । त्यस भेगको परिवर्तन हेर्न पनि मेरो इच्छा थियो । तर, सडकहरू खाल्डा परेका, धुलो उडाइ र सडक पेटीमा थुप्रिएको फोहोरको डङ्गुरले नेपाली बस्तीको दुरावस्थाको परिचय दिन्थ्यो । दार्जिलिङसँग मेरो भावनात्मक सम्बन्ध छ । इलामको अर्थेटारमा २००४ सालमा जन्मिएर ५/६ वर्षको उमेर हुँदा दार्जिलिङको चामुङ चियाबगानमा बसाई सरेका थियौँ । त्यो जन्मेको थात छोड्नु पर्दा त्यो उमेरमै म खुब रोएको थिएँ । अहिले लाग्छ सायद त्यो माटोको माया थियो । यसपाली म दसैँ मान्न एक्लै हिँडेको थिएँ । त्यहाँ दाजु भाउजू र मावलीका परिवारहरू छन् । त्यस ठाँउमा मलाइ सास फेर्न कति आनन्द लाग्छ । त्यो ठाँउमा धूलो धुँवा केही छैन । हरियाली व्याप्त छ । चियाबगानको पाकडन्डी र धूपीका रुखहरू मिलेर उभिएको छ । त्यही उभिएर काठमाडौं त्यतै पर्छ भनी पहँेलो घामको क्षितिजतिर हेरेँ । ‘म्ह्ेमे तपाई कहाँ हुनुहुन्छ ?’ प्रशंसा र प्रसिद्धको मधुरो आवाज मनभित्र हो कि कान भित्र गुन्जियो । म रोएँ निकै बेर सम्म भक्कानिएर रोएँ । मज्जाले रोएँ । लाग्यो अब तिनीहरूसँग मेरो भेट सहज होला र ? म बुटवल जाने बेलामा ‘म्ह्ेमे तपाईंले औषधि लानु भयो ?’ प्रशंसाको आवाज मुटुमै ठोकिन पुग्यो । निस्फिक्री आँसु बग्यो ।
टीकाको भोलिपल्ट ९ गते बिहीबार अक्टुबर २५ तारीखको दिन बिहानै दार्जिलिङ हिडँे । भाइ प्रकाश र सुभाषसँगै बेलुकी बसेर दसैँ मनाउने सल्लाह थियो । त्यसै दिन बेलुकी सुभाष भाइ चेन्नईबाट बागडोगरा भएर दार्जिलिंङ घर कागजोरा आइपुग्नेवाला थियो । सुभाष भाइ बेलुकी ६:३० बजेतिर घर आइपुग्यो । बुहारी रिमाले फोन गरेर मेरालागि सबै बन्दोबस्त गरेकी रहिछिन् । भाइ प्रकाश पनि फोनमा अलि–अलि रिसायो । मेरालागि भनेर उ सिक्किम पर्यटकहरू लिएर जाने कार्यक्रम पनि रद्ध गरेर बसेछ । मैले अन्तमा होटलमै बस्ने निर्णय गरेँ । शरीर पनि ज्वरो आए भैँm भएको थियो दिनभरी सपनाको समाधि पढी बसँे । यो दसैँमा यो किताब राम्रो कोसेली पाएछु । यस उपन्यासले पनि मलाइ पढ्दापढ्दै धेरै चोटी रुवायो । यतिको बौद्धिक उपन्यास मैले पढेको थिइनँ ।
सपनाको समाधी भुटानको शरणार्थी सम्बन्धी अध्ययन र खोज गरी लेखिएको भुटानी शरणार्थी बारे एउटा ऐतिहासिक दस्ताबेज पनि हो । यो उपन्यास । बौद्धिक फ्रेन्च आमा हेलेनले भुटानी शरणार्थीको एउटा बौद्धिक छोरा भेट्नु अध्ययनशील मेगमँंग अध्ययनकै सिलसिलामा भेटहुनु र विचार भावनाहरू साटासाट गर्ने क्रममा प्रेम फस्टाउनु तर आर्थिक अभावको कारण ‘ऊ’ अर्थात उपन्यासका मुख्य पात्र विश्वविद्यालय छाडेर मेगमलाई थाहै नदिई हिड्नु र अछुत केटी प्रतिक्षासँग भावनात्मक प्रेमको यति राम्रो संयोजन यो उपन्यासमा छ । अन्तमा उपन्यास पढेर सकेँ यथार्थ होकि काल्पनिक छुट्याउनै नसिकिने यथार्थ पढ्दा म कोठा भित्र बस्न सकिनँ । बाहिर आएर काठमाडौं तिर हेर्दै फेरि रोएँ । मानौ मैले जिन्दगीमा अब यति धेरै रुनु पर्दैन ।
प्रतिक्रिया