बेरुतमा आक्रमण

बेरुत : बेरुतमा शुक्रबार कार बम विस्फोट हुँदा लेबनानमा दमासकसविरुद्ध अभियान सञ्चालन गर्ने उच्च सुरक्षा अधिकारी जनरल विसाम अल–हसनका साथै आठ व्यक्तिको मृत्यु भएको छ । विस्फोटपछि विपक्षीले सरकारको राजीनामा माग गरेका छन् । इसाई धर्मावलम्बी समूहको अधिक बसोवास रहेको स्थान अस्राफिहमा विस्फोट भएको थियो । विस्फोटमा परी ८६ व्यक्ति घाइते भएको सूचनामन्त्री बालिद दाउकले जानकारी दिए ।
लेबनानका दुई राजनीतिक नेताले आक्रमणमा सिरियाली राष्ट्रपति बसर अल असद जिम्मेवार रहेको आरोप लगाएका छन् । आक्रमणको अन्तर्राष्ट्रिय समुदायले भत्र्सना गरेको छ । अमेरिका, युरोपेली महासंघ, राष्ट्रसंघ, फ्रान्स आदिले विस्फोटको भत्र्सना गरेका छन् ।
सिरियाका सूचनामन्त्री ओमरान अल–जोहबीले समेत घटनाको भत्र्सना गर्दै आक्रमण आतंकवादी कार्य भएको बताएका छन् । राष्ट्रसंघका महासचिव बान की मुनले विज्ञप्ति जारी गरी लेबनानका सबै पक्षलाई आतंककारी घटना भड्काउने कार्यमा नलाग्न आग्रह गरेका छन् । युरोपेली महासंघका विदेश नीति प्रमुख क्याथरिन एस्टनले आक्रमणका दोषीलाई पक्राउ गरी न्यायलयसमक्ष उपस्थित गराउनुपर्ने बताएका छन् । (एएफपी)

प्रतिक्रिया