हरियो रंग लगाएको खसीबोका स्वस्थ

काठमाडौं, ५ कात्तिक । बडादसैँ सुरु भएसँगै हजारौँ मानिस दिनहँु काठमाडौं उपत्यकाबाट बाहिरिरहेका छन् । सँगसँगै मासुका लागि हजारौँ खसीबोका, राँगा तथा कुखुरा उपत्यका भित्रिरहेका छन् ।
सरकारी र निजी क्षेत्रले ठूलो संख्यामा राजधानीमा खसीबोका भित्र्याइरहेका छन् । सरकारी स्वामित्वको नेपाल खाद्य संस्थान र निजी क्षेत्रका बिक्रेताले दिनहँु हजारौँ खसीबोका काठमाडौं ल्याइरहेका छन् । नेपाल चौपाया खरिद–बिक्री सेवा संघका निवर्तमान अध्यक्ष दीपक थापाका अनुसार काठमाडौंमा प्रतिदिन १२/१५ गाडी खसीबोका भित्रिरहेका छन् । ‘फूलपातीदेखि नवमीसम्म सबैभन्दा धेरै खसीबोका बिक्री हुन्छन्,’ उनले भने, ‘त्यसकारण राजधानी भित्रिने खसीबोकाको संख्या दिनहँु बढिरहेको छ ।’ उनका अनुसार दसैँमा निजी क्षेत्रले करिब ५० हजार खसीबोका भित्र्याउने अनुमान गरिएको छ ।
खाद्य संस्थानसँगै निजी क्षेत्रका व्यवसायीले धमाधम खसीबोका बिक्री गरिरहेका छन् । संस्थानले मंगलबारदेखि खसीबोका बिक्री सुरु गरिसकेको छ । संस्थानका अध्यक्ष आनन्दबहादुर चन्दका अनुसार यसपालि करिब ३ हजार खसीबोका बेच्ने लक्ष्य राखिएको छ । ‘अहिलेसम्म ६ सयभन्दा बढी खसीबोका बिक्री भइसकेका छन्,’ उनले भने, ‘फूलपातीसम्ममा बिक्री गरिने सबै खसी उपत्यका भित्रिसक्नेछन् ।’ उनका अनुसार संस्थानले नेपालगन्ज, वीरगन्ज, कपिलवस्तु, लहानलगायत ठाउँबाट खसीबोका भित्र्याइएको छ । वीरगन्जबाट खसीबोका उपलब्ध हुन नसकेकाले ३ हजार खसीबोका बिक्री गर्ने संस्थानको लक्ष्य पूरा नहुने देखिएको छ ।
संस्थानले यस वर्ष २५ किलोसम्मको खसीको भाउ प्रतिकिलो ३ सय ४ रुपियाँ तोकेको छ । यसैगरी, २५ किलोमाथिको खसीको मूल्य प्रतिकिलो ३ सय १४ रुपियाँ तोकिएको छ । संस्थानले मंगलबारदेखि राजधानीको थापाथलीस्थित कार्यालय हाताबाट खसीबोका बिक्री सुरु गरेको चन्दले जानकारी दिए । मंगलबार निजी क्षेत्रका व्यवसायीले भने स्थानीय खसी प्रतिकिलो ३ सय २० रुपियाँ र भारतीय खसी प्रतिकिलो ३ सय ४० देखि ३ सय ४५ रुपियाँमा बिक्री गरेका छन् । दसैँका बेला खसीबोकाको मूल्य घटबढ भइरहने निजी क्षेत्रका व्यापारी बताउँछन् ।
दसैँका लागि राजधानीमा ५० हजारभन्दा बढी खसीबोका उपत्यका भित्रिने काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार दसैँमा खसीबोकासँगै भेडाच्यांग्राको पनि माग हुन्छ । तर, यसपटक भेडाच्यांग्रा भने खासै नभित्रिएको उनले बताए । ‘यसपटक बजारमा भेडाच्यांग्रा त्यति देखिएनन्…,’ उनले भने, ‘गोठमै भेडाच्यांग्रा महँगो परेकाले बजारमा कम देखिएका हुन् ।’ उनका अनुसार महानगरपालिकाले शुक्रबारसम्म सात हजार खसीबोकाको स्वास्थ्य परीक्षण गरिसकेको छ ।
खसीबोकाको हुलमा बाख्रा पनि
राजधानीमा दैनिक भित्रिएका खसीबोकाको हुलमा केही व्यापारीले बाख्रासमेत मिसाएका छन् । काटेर बेचिने खसीको मासुमा बाख्राको मासुसमेत मिसाएर बिक्री गर्न बाख्रा भित्र्याइएको महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले बताए ।
राजधानी भित्र्याइएका खसी–बोकाको स्वास्थ्य परीक्षण गर्न खटिएको महानगरपालिकाको टोलीले खसीको मासुसँगै मिसाएर बिक्री गर्ने उद्देश्यले राजधानीमा बाख्रा भित्र्याएको भेटाएको हो । सापकोटाका अनुसार राजधानी भित्रिने खसीबोकामध्ये करिब २० प्रतिशत बाख्रा छन् । ‘राजधानीमा खसीबोका बिक्रीका लागि पाँचवटा स्टेसन तोकिएका छन्, ती सबैमा दिनहँु करिब डेढ सयको हाराहारीमा बाख्रा भेटिएका छन्,’ उनले भने, ‘ती बाख्रा दसँैको मुखमा भित्र्याउनुको उद्देश्य खसीको मासुमा मिसावट गर्नु नै हो ।’
महानगरपालिकाले स्वास्थ्यस्थिति ठीक भएका खसीबोका, च्यांग्रा, भेडालगायतको टाउको वा सिङमा हरियो रंग लगाएको छ । हरियो रंग लगाएको पशु मात्र खरिद गर्न महानगरपालिकाले अनुरोध गरेको छ । महानगरपालिका टोलीले शुक्रबारसम्म सात हजारभन्दा बढी खसीबोकाको स्वास्थ्य परीक्षण गरिसकेको छ । महानगरपालिकाका अनुसार स्वास्थ्य परीक्षणका क्रममा केही खसीबोका अस्वस्थ पाइएको छ । रोगी खसीको सिङमा रातो रंग लगाइएको छ । खसीबोकाको स्वास्थ्य परीक्षण जारी रहेको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया