शुभकामनामा पनि घोचपेच

 

काठमाडौं, ५ कात्तिक । संविधानसभा स्वत: समाप्त भएको पाँच महिना पुग्न लाग्दासम्म दलले राजनीतिक संकट समाधानमा कुनै सहमति जुटाउन सकेका छैनन् । यसबीचमा प्रमुख दल एक–अर्कालाई आरोप–प्रत्यारोप गर्नमै केन्द्रित हुँदै आएका छन् । राजनीतिक निकासका लागि सहजीकरण गर्नुपर्ने सरकार दलबीच एजेन्डामा प्रस्ट सहमति भएपछि हट्ने बताउँदै आएको छ । शनिबार विजयादशमीको उपलक्ष्यमा रिपोर्टर्स क्लबले गरेको चियापान कार्यक्रममा उनीहरूबीच आफू चोखिने शैली देखियो ।
चियापान कार्यक्रममा शनिबार प्रधानमन्त्रीले आफूहरूले पुन:स्थापना मात्रै नभनेको उल्लेख गर्दै पुन:स्थापनामा सहमति बन्न नसके विधि र प्रक्रियामा सहमति जुटाएर निर्वाचनमा जानुपर्ने बताए । ‘हामी सहमतिका लागि तयार छौँ,’ उनले भने, ‘दलहरू आफ्ना अडानमा कायम भए सहमति जुटाउन गाह्रो हुन्छ । त्यसैले दसैँ–तिहारसम्म सहमति गरे वैशाख–जेठमा चुनाव गर्न सकिन्छ ।’
यता, एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादीकै कारण मुलुकले निकास नपाएको आरोप लगाए । जनताले माओवादीलाई ठूलो दल बनाउनु नै मुलुकका लागि विडम्बना भएको उनको भनाइ थियो । सहमतिमै अघि बढ्न विपक्षीले तत्कालै आन्दोलन सार्वजनिक नगरेको जिकिरसमेत उनले गरे । सरकार स्वत: नहटे दसैँपछि आन्दोलनको आँधी–बेहरी ल्याउने चेतावनी दिँदै अध्यक्ष खनालले भने, ‘सरकार सहमतिको पक्षमा छैन । सत्तामा बुर्कुसी मारेर मात्रै बसिरहेको छ ।’
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले भने संविधान जारी गर्न मात्रै पुन:स्थापना भनेको जिकिर गरे । एमाओवादी अध्यक्ष प्रचण्डले कहिले निर्वाचन र त कहिले संविधानसभा पुन:स्थापना र कहिले राष्ट्रपतिको चुनाव भन्दै निहुँ मात्रै खोजेको अरोप लगाए । उनले भने, ‘माओवादीकै कामै निहुँ खोज्ने हो ।’
भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले संघीयताको विषयमा कुरा नमिल्दा संविधान जारी नभएको भन्दै संघीयता सबैका लागि ‘तातो आलु’ भएको टिप्पणी गरे । संघीयतावादी र एकात्मक शासनका पक्षधरहरू भन्दै विभाजित हुँदा संविधान नआएको उनको भनाइ थियो । संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले दलहरूको अहिलेकै शैलीले तत्काल सहमतिको राजनीति सुरु हुने नदेखिएको बताए । दलहरूलाई मुलुकको अवस्था र समयको गम्भीरता बुझ्न पनि आग्रह गरे ।
यमी–कटवाल व्यंग्य
कार्यक्रममा प्रधानमन्त्रीपत्नी हिसिला यमी र पूर्वप्रधानसेनापति रुक्मांगद कटवालबीच घोचपेचको जुहारीसमेत केहीबेर चल्यो । प्रधानमन्त्रीपत्नी यमीले देशमा धेरै राजनीति गर्न नहुने भन्दै वर्तमान प्रधानसेनापति गौरवशमशेर राणा र पूर्वप्रधानसेनापति कटवालतिर व्यंग्य गरिन् । तर, कटवालले यमीतिर फर्कंदै ‘उहाँहरूले देशमा शान्ति ल्याइहाल्नुभयो नि †’ भनेर व्यंग्य गरे ।
तत्कालै यमीले हामीले त्यत्रो शान्तिप्रक्रिया पूरा गरेर राम्रो उदाहरण पेस गरेको दाबी गरिन् । घोचपेचका क्रममा पूर्वसेनापति कटवालले हामीलाई त पोलिटिक्सको प पनि आउँदैन भनेका थिए । तर, वर्तमान सेनापतिले भने कुनै पनि प्रतिक्रिया दिएनन् । उनी मुसुमुसु हाँसेर विषयलाई विषयान्तर गर्न लागेका देखिन्थे । वर्तमान प्रधानसेनापतिबाट पनि केही प्रतिक्रिया यमीले खोजे पनि उनी मात्रै मुस्कुराइरहे ।

प्रतिक्रिया