“खोइ सहमति ? म के गरौँ ?”

काठमाडौं, ४ कात्तिक । पटक–पटक निकासका लागि सहमति गर्ने वाचा गरी समय माग्दै आएका राजनीतिक दलका नेतालाई शुक्रबार राष्ट्रपति डा. रामवरण यादवले सहमतिमा निकास निकाल्न फेरि दबाब दिएका छन् । नयाँ चुनाव र सहमतीय सरकार गठनबारे असोज मसान्तभित्रै सहमति गरी निकास दिने वचन दिएका दलका नेतालाई शुक्रबार छलफलका लागि शीतलनिवास बोलाएर राष्ट्रपति यादवले लिखित मन्तव्य नै दिएर सोधे, ‘खै सहमति ?
दलहरूले समय–सीमाभित्र पनि कुनै सहमति नगरेपछि राष्ट्रपति यादवले विघटित संविधानसभामा प्रतिनिधित्व गरेका सबै दललाई शुक्रबार छलफलका लागि बोलाएका हुन् । राष्ट्रपति यादवले दलका नेतालाई चाडपर्वका मुखमा पनि बोलाएर दबाब दिनु आफ्नो रहर नभई बाध्यता भएको बताए ।
‘चाडवाडको मुखमा समेत दु:ख दिएको भने अन्यथा मान्नुहुने छैन भन्ने विश्वासका साथ यहाँहरू सबैलाई पुन: स्वागत गर्छु,’ राष्ट्रपति यादवले लिखित मन्तव्यमा दलका नेतालाई भनेका छन्, ‘तपाईंहरूलाई बारम्बार यहाँ बोलाएर पट्यारलाग्दो किसिमले राजनीतिक निकास र सहमतिका निम्ति आग्रह र अनुनय गर्नु मेरो रहर नभई नैतिक दायित्व र बाध्यता हो ।’ उनले संविधान नै नबनाई संविधानसभा विघटन भएको ५ महिना पुगेको र तोकिएको संविधानसभाको भविष्य पनि अनिश्चित भएको अवस्थामा जनताले कसरी संविधान पाउने हुन् भन्ने समस्या देखिएको र त्यस प्रश्नको जवाफ दिन दलका नेताहरूलाई आग्रह गरिएको प्रस्ट पारे ।
‘आजभन्दा ५४ महिना पहिले भएको संविधानसभाको निर्वाचनमार्फत नेपाली जनताले आफ्नै प्रतिनिधिद्वारा निर्मित संविधान प्राप्त गर्ने आकांक्षा प्रकट गरेका थिए । तर, संविधान नै नबनाई त्यो संविधानसभा भंग भएको पनि आज पाँच महिना भइसकेको छ,’ राष्ट्रपति यादवले भनेका छन्, ‘मुलुक र जनताले नयाँ स्थायी संविधान अब कसरी कहिले र कुन माध्यमबाट पाउने हुन् ? आगामी मंसिर ७ गतेको निम्ति प्रस्ताव गरिएको निर्वाचनको भविष्यसमेत अनिश्चित भएको अवस्थामा यो प्रश्न अरू जटिल र गम्भीर हुन पुगेको छ ।’
दलहरूले असोज मसान्तभित्र सहमति गरिसक्ने वचन पूरा नगरेकाले आफू फेरि दलका नेतालाई घच्घच्याउन बाध्य भएको र सहमति निर्माणमा आफूले केही भूमिका निर्वाह गर्नुपर्ने भए भन्न नेताहरूलाई आग्रह गरेका थिए । ‘यहीँबाट केही प्रमुख दलले छलफलको क्रम सुरु गरेर निर्वाचनको स्वरूप र प्रक्रियाबारे सैद्धान्तिक सहमति गरेको जानकारी सार्वजनिक भएकै हो । त्यस्तै, चुनावको मिति, सभासद्को संख्या र सहमतिका सरकारबारे असोज मसान्तभित्र सहमति कायम गरिसक्ने वचन पनि जनताले तपाईंहरूबाट नै पाएका हुन्,’ राष्ट्रपति यादवले दलका नेतालाई लिखित सम्बोधन गर्दै भने, ‘यति हुँदाहुँदै पनि, मुलुकले आज सामना गर्नुपरेका राजनीतिक अन्योल, संवैधानिक गतिरोध र बजेटलगायत समस्या थप जटिल बन्न नपाउन् भन्ने उद्देश्यले म तपाईंहरूलाई यसरी पुन: घच्घच्याउन बाध्य भएको छु ।’ उनले सहमतिका आधारमा मुलुकलाई संविधान निर्माणको गन्तव्यमा पुर्‍याउनुपर्ने भएकाले त्यसतर्फ अग्रसर हुने तत्परता दर्शाउन आग्रह गरेका छन् ।
राष्ट्रपति यादवले राजनीतिक सहमति नगरी संसद्विहीन अवस्थामा अध्यादेशको अस्वाभाविक प्रयोगले लोकतान्त्रिक प्रयोग र प्रतिबद्धता कमजोर हुन पुगेको गुनासो गरे । ‘दैनिक शासन–प्रशासन सञ्चालनका क्रममा आइपर्ने बाधा–अड्चन संविधानको भावनाअनुरूप अध्यादेशको माध्यमबाट फुकाउन नसकिने होइन,’ राष्ट्रपतिले भनेका छन्, ‘तर, जननिर्वाचित संसद् नभएको अवस्थामा अध्यादेशको अस्वाभाविक प्रयोगले हाम्रो लोकतान्त्रिक पहिचान र प्रतिबद्धतालाई कमजोर पार्न दिनु हुँदैन । यसैकारण अध्यादेशको किफायती र विवेकपूर्ण उपयोगका निम्ति राजनीतिक शक्तिबीच न्यूनतम सहमति कायम होस् भन्ने मेरो आग्रह हो ।’
विघटित संविधानसभामा प्रतिनिधित्व गरेका सबै दलका नेतालाई डाकेर राष्ट्रपति यादवले सहमतिमा निकासमा पुग्न फेरि दबाब दिएका हुन् । राजनीतिक निकासप्रति राष्ट्रपति यादवले दिएको चासो र चिन्ता जायज भएको र दलहरूबीच सहमतिको विकल्प नभएको दोहोर्‍याउँदै नेताहरू बाहिरिएका थिए । ‘संकटपूर्ण राजनीतिक अवस्थाको निकास मेलमिलापबाटै समाधान गर्नुस् भन्ने राष्ट्रपतिको आग्रह छ,’ एमाले अध्यक्ष झलनाथ खनालले भने, ‘सहमतिका लागि झकझक्याउने मेरो नैतिक दायित्व हो भन्नुभएको छ, सहमतिबाटै निकासमा पुग्ने कोसिस गर्छाैं ।’
यसअघि १४ असोजमा दलका नेताहरूले राष्ट्रपति यादवसमक्ष नयाँ चुनाव र सरकारका विषयमा असोज मसान्तभित्र सहमति गर्ने भनेर समय–सीमा तोकेका थिए । तर, सत्तारूढ एमाओवादीले त्यसपछि पनि संविधानसभा पुन:स्थापना गरी विवादित विषय थाती राखेर संविधान जारी गर्ने प्रस्ताव अघि सारेको छ । दलहरूले वाचा गरेअनुरूप असोज मसान्तभित्र पनि सहमति नभएपछि राष्ट्रपति यादवले शुक्रबार उनीहरूलाई छलफलमा बोलाएका हुन् । राष्ट्रपतिले छिटो सहमतिमा पुग्न फेरि आग्रह गरेपछि दसैँलगत्तै दलहरूबीच छलफल गरी सहमतिमा पुग्ने भन्दै नेताहरू बाहिरिएका छन् । ‘राष्ट्रपतिले सहमतिबाटै निकासमा पुग्नुपर्छ तपाईंहरू सहमतिमा पुग्नुस् भन्नुभएको छ,’ राष्ट्रपति भवनबाट निस्केका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संवाददाताहरूसँग भने, ‘दसैँलगायत चाड पर्वपछि हामी सहमतिका लागि संवाद अघि बढाउँछौँ ।’

प्रतिक्रिया