सिमेन्ट उद्योगका मजदुरले तलव पाएनन्

हेटौंडा, ३ कात्तिक । तलव, भत्तालाई लिएर मजदुरले आन्दोलन शुरु गरे पछि मकवानपुर जिल्लास्थित शिवम् सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ ।
दसैंमा समेत उद्योगले आफ्ना मजदुर कर्मचारीलाई तोकिए बमोजिम तलव, भत्ता उपलव्ध नगराए पछि मजदुरले सिमेन्टको उत्पादन ठप्प पारेका हुन् ।
उद्योग व्यवस्थापनले तोकिए भन्दा आधा तलब भत्ता दिएपछि नेपाल कारखाना श्रमिक संघको अगुवाईमा आन्दोलन भएको हो । उद्योगले ४२ दिनको बिदा भत्ता दिदै आएकोमा एक्कासि साढे २५ दिनको मात्रै रकम दिए पछि आपत्ती जनाउँदै उत्पादन बन्द गरेको मजदुरले जनाएका छन् ।
मजदुरले एक बर्ष बढिको सञ्चय कोषको रकमबारे जानकारी दिनुपर्ने, तोकिए बमोजिमको पेश्की पाउनुपर्नेलगायतका माग पनि अघि सारेका छन् ।
यता, उद्योग व्यवस्थापनले मजदुर स्थाई गरेपछि केही कम दसै खर्च वितरण गरेको जनाएको छ । गत बर्षको दसैं खर्चमा तलवको ६० प्रतिशत रकम दिइएको थियो । अघिल्लो वर्ष भन्दा यस पटक थेरै रकम उपलब्ध गराएको व्यवस्थापनले स्वीकार गरेको छ ।
मजदुरले ठेकेदार मार्फत गराईएको कामको पनि रकम पाउनु पर्ने भन्दै धर्ना दिएका छन् । उद्योगमा स्थाई दुई सय ६० र करारमा दुई सय ५० समेत पाँच सय बढि कामदार छन् ।

प्रतिक्रिया