‘संवैधानिक संकटप्रति ध्यान दिन आग्रह’

काठमाडौं, ३ कात्तिक । मुलुकमा आउँदै गरेको संवैधानिक संकटप्रति राष्ट्रपति डा.रामवरण यादवले चिन्ता जनाउँदै दलहरुलाई सहमतिका लागि पुनः आग्रह गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज विहान जम्मा भएका विघटित संविधानसभाका दलका शीर्ष नेताहरुसँगको भेटघाटका क्रममा डा.यादवले मुलुकको राजनीतिक गतिरोध अन्त्यका लागि छिटो पहल थाल्न सुझाव दिएका हुन् । उनले राजनीतिक निकासका लागि यस अघि दलहरुले गरेका प्रतिबद्धता समेत स्मरण गराए ।
भेट पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरुका बीच सहमतिका लागि प्रयास भईरहेको बताए । उनले छिट्टै राजनीतिक निकास आउने पनि विश्वस्त रहन आग्रह गरे । उनले भने, ‘चाडपर्व सक्किए लगत्तै हामी पुनः राजनीतिक परामर्श गरेर मुलुकलाई निकास दिन्छौं ।’
कांग्रेस सभापति सुशील कोइरालाले तोकिएको समयमा पनि सहमति गर्न नसकेकोमा राष्ट्रपति चिन्तित रहेको बताए । ‘दलहरुले पटक–पटक सहमति गर्ने भने पनि कुनै प्रगति गर्न सकेनन्,’ राष्ट्रपतिलाई उदृत गर्दै उनले भने, ‘तपाईहरु नै भन्नुस अब म के गरु ?’
एमाले अध्यक्ष झलनाथ खनालले अध्यादेशबाट शासन गर्न लागेको, एक तिहाइ बजेट सकिदैं गरेको, संवैधानिक संकट आउन लागेको जस्ता समस्याप्रति दलहरुको ध्यानाकर्षण गराएको जानकारी दिए ।
दलहरुसँगको भेटघाटका क्रममा राष्ट्रपति डा.यादवले लिखित मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा डा.यादवले प्रमुख दलका शीर्ष नेताहरुसँग असन्तुष्टि जनाएका थिए । यस अघि दलहरुलाई राष्ट्रपति डा.यादवले पटक–पटक सहमति गर्न आग्रह गरे पनि दलहरुले निकास दिन नसके पछि आज पुनः दलहरुसँग उनले परामर्श गरेका हुन् ।

प्रतिक्रिया